स्वास्थ्य

नेपालीबाटै धानिएका स्‍पा

अतिन आचार्य |
कात्तिक ३०, २०७८ मंगलबार ८:९ बजे

काठमाडौँ-  कोभिड महामारीका कारण सि‌ंगो पर्यटन क्षेत्रले अवराेह व्यहाेरिरहेकाे अवस्थामा स्पा सेन्टरहरूले पनि यस्तै नियति व्यहाेर्नुपर्‍यो । तर अहिले स्पाहरू नेपाली ग्राहकहरूबाटै धानिएका छन् । राजधानीमा चिसाे सुरु भएसँगै स्पा जानेहरू बढेका हुन् ।

आजभोलि भने नेपाली ग्राहकहरू यसमा आकर्षित हुन् थालेका छन् । काठमाडौँको ठमेल, लाजिम्पाट र दरबारमार्गलगायत स्थानमा केही वर्षअघि विदेशीहरू मात्र स्पा गर्ने देखिन्थे । नेपालमा पनि सुरुवातीको समयमा बाह्य पर्यटक मात्र स्पा जान्थे भने स्पाले पनि बाह्य पर्यटकलाइ मात्र ग्राहक ठान्थे । अहिले भने बिस्तारै नेपाली ग्राहकहरूको समेत यसमा आकर्षण बढ्न थालेको छ भने काेभिडपछि बाह्य पर्यटककाे आवागमन कम भएसँगै स्पाहरूले पनि नेपाली ग्राहकलाइ आकर्षित गर्न विभिन्न याेजना सार्वजनिक गरेका छन् ।


हिजोआज ठमेलमा बाह्य पर्यटक भन्दा पनि आन्तरिक पर्यटकको संख्या बढन् थालेका छन् । त्यहाँ रात्रिकालीन जीवनदेखि होटल, रेष्‍टुरेण्ट र स्पा सेन्टरहरूसमेत उपलब्ध छन् । केन्द्रीय राजधानीका  कतिपय स्थानमा 'स्पा' सेन्टरहरू दुई दशकदेखि सञ्‍चालनमा आएका छन् ।

नेपालमा स्पा व्यवसाय सुरु भएको करिब दुई दशक भइसकेको छ । सन् २००० मा पहिलाेपटक ठमेलमा रियला थेरापी एन्ड ब्युटी प्वाइन्ट स्पा थेरापी सञ्‍चालनमा आएको थियो । अहिले जस्तो चोक-चोकमा स्पा सेन्टर खुलेका थिएनन् । यसप्रति धेरै मानिसले गलत धारणासमेत बनाएका थिए । अहिले भने व्यवसायिक रुपमा सञ्‍चालन गरी यसलाई आम्दानीको स्रोत बनाउन थालेका छन् । 

अन्य व्यवसाय जस्तै आकर्षण मानिने व्यापार मुख्य-मुख्य चोककमा स्पा (शरीर मसाज ) सेन्टर छन् । कोभिड-१९ को महामारीले थलिएको सबै व्यापार व्यवसाय जस्तै 'स्पा' लाई पनि असर गरेको छ । अहिले भने बिस्तारै स्थानीय ग्राहकले व्यवसायलाई धानिरहेको व्यवसायीहरू बताउँछन् । विशेषगरी पर्यटकहरू ट्रेकिङ जानुभन्दा अघि र आएपछि शरीरलाई मसाज गर्न जाने गर्थे । तर, स्पाकाे महत्व बुझेसँगै पछिल्लो समय विदेशी पर्यटकहरू जस्तै नेपालीहरूसमेत स्पा गर्न आउन चलन बढेकाे स्पा सञ्चालकहरू बताउँछन्।

विशेषगरी गृहिणी, ट्रेकिङमा जानेहरू, बैंकका कर्मचारी तथा अन्य विभिन्‍न संघ संस्थाका कर्मचारी शरीर मसाजका लागि जाने गरेका हुन् । विदेशी पर्यटकको आगमन नभए पनि स्थानीय ग्राहकको भरमा स्पा सञ्‍चालक व्यवसायीहरूले बताउन थालेका छन् । नेपालीहरू स्वास्थ्य सचेतनाको दृष्‍टिकोणले स्पातर्फ आकर्षित भएका हुन् ।स्पा गर्न जाने महिला र पुरुषको संख्या बराबर छन् । तुलनात्मक रुपमा पुरुषको बढी संख्या बढी हुने गरेको छ । ३५ वर्षमाथिका ग्राहकहरू आउने गरेका छन् ।

कार्यालयमा कामको ओभरलोड भएको  भन्दै कर्मचारीहरू शरीर थेरापी गर्न आउने गरेको ट्रयांकुलिटी स्पा सेन्टरका म्यानेजर राजीव थैजु बताउँछन् । उनकाअनुसार कोभिड  महामारीले व्यवसायमा असर गरे पनि निषेधाज्ञा खुलेपछि थोरै संख्यामा ग्राहक आउने गरेका छन् ।

अहिलेको व्यवसाय नेपाली ग्राहकले धानिरहेको थैजुले बताए ।  कोभिड अघि एउटा समूहमा १५ देखि २० जना सेवाग्राही आउने गरेका थिए । 

ग्राहकहरू स्पा सेन्टरमा आयुर्वेदिक मसाज, आयल मजास, थाई मसाज, स्टीम साउना, हट साउना, शिरोधारा, ज्याकुजी थेरापी, कपिङ थेरापी, फोर हेन्ड थेरापी, बडी स्क्रब र हेड एण्ड सुल्डर थेरापी गर्न जाने गरेका छन् । 

लामो यात्रामा निस्कने मानिसहरू मसाज गर्न आउने गरेको थैजुले सुनाए । लामो यात्राबाट फर्केपश्चात पनि मानिसहरू स्पा सेन्टरमा आउने गरेको उनको भनाइ छ । विदेशी र नेपाली ग्राहकलाई सेवा फरक-फरक रहेको छ । विदेशीलाई भन्दा पनि नेपालीलाई सस्तो मूल्यमा स्पा सेन्टरमा सेवा दिने गरेको उनको भनाइ छ ।

दैनिक ३० देखि ३५ जना सेवाग्राहीहरू स्टीम बाथका लागि आउने गरेका प्याराडाइज स्पाका सञ्चालक दीपक श्रेष्ठले बताए । स्पा गर्न भनेर ५-७ जना आउने गरेको उनले जानकारी दिए ।

'अहिले आएका ग्राहकले स्टाफलाई तलब दिन मात्र पुगेको छ,' उनले भने,' बढी स्टीम साउना गर्न आइरहेका छन् ।' केही वर्षदेखि यता नेपाली ग्राहकहरू स्पा सेन्टरमा आउने बढेका छन् ।

नेपालीमा स्वास्थ्य चेतना बढ्यो

कोभिड महामारीमा स्वास्थ्य प्रोटोकल अपनाएर ग्राहकलाई सेवा प्रवाह गरिरहेको स्पा एशोसिएसन नेपालका केन्द्रीय सदस्य कैलाश सिंह थारु बताउँछन् । विदेशी ग्राहकहरूलाई लक्षित गरी स्पा सेन्टर खुले पनि अहिले भने स्थानीय ग्राहकले धानिरहेका छन् । 

कोभिड महामारीले विदेशी ग्राहकको संख्या शून्य छ । नेपालीहरूमा स्वास्थ्य चेतना बढेकाले नेपाली ग्राहकको संख्या बढन् थालेको थारुको भनाइ छ । स्पा सेन्टरमा अवाञ्छित क्रियाकलापलाई निरुत्साहन गर्न एशोसिएसन गम्भीर भएर लागेको उनले सुनाए । देशभर ३ सयदेखि ४ सयसम्म स्पा सेन्टर छन् । विभिन्न स्थानका स्पामा गरी करिब १५ हजार दक्ष जनशक्तिले काम गरिरहेको थारुले जानकारी दिए ।  थारुले स्पालाई सरकारले मनोरञ्जनका दृष्‍टिकोण नहेरी स्वास्थ्य क्षेत्रको रुपमा प्रोत्साहन गर्न माग गरे ।

स्पाका फाइदा

शरीरको नराम्रो कुरालाई निराकरण गरी उर्जा प्रदान गर्छ । शरीरको आवश्यकता अनुसार स्पा थेरापी गर्नेहरू स्वस्थ्य र राम्रो देखिन्छन् । अनुहारमा चमक र उचाइ अनुसारको तौल सन्तुलन कायम गर्न सहयोग गर्छ । काममा आउटपुट बढ्छ । यस्ता मानिसहरूको विचार सदावहार ताजा रहन्छ । जीवनको अधिक समय प्रयोग गर्न सक्छन् । स्पा गरेका मानिसहरू ६० देखि ७० वर्षका मानिसहरू तन्दुरुस्त र स्वस्थ्य देखिन्छन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x