स्वास्थ्य

चिसो मौसममा गर्भवतीले के-के कुरामा ध्यान दिने ?

इकागज |
कात्तिक ३०, २०७८ मंगलबार ७:४७ बजे

चिसो बिस्तारै बढ्दैछ । यो मौसममा गर्भवतीले आफ्नो शरीरको ख्याल राख्नुपर्छ । गर्भावस्थामा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । जसले गर्दा चिसोले गर्भवतीलाई चाँडै समातिहाल्छ । रुघाखोकी पनि चाँडै लागिहाल्छ । यसबाट बच्‍न चिसोमा गर्भवतीले न्यानो कपडा लगाउने र तातो खानेकुरा खाने गर्नुपर्छ ।

गर्भावस्थामा धेरैलाई खाना रुच्दैन । धेरैलाई बान्ता हुने, कमजोरी महसुस हुने हुन्छ । यस्तो बेलामा ‘भिटामिन-सी’ युक्त खानेकुराहरू जस्तैः कागती पानी, सुन्तला आदिमा जोड दिनुपर्छ । धेरै जना चिसो मौसममा जाडो भयो भन्दै बारम्बार चिया र कफी पिउँछन् । जुन एकदमै गलत हो । गर्भवतीले धेरै चिया-कफी पिउनु हुँदैन । धेरै चिया-कफी पिउनाले ग्यास्ट्रिक गराउँछ । चियाको सट्टा तातो दाल वा सुपहरू बनाएर खान सकिन्छ ।


त्यस्तै गर्भावस्थामा शरीरलाई बढी पानीको आवश्यकता हुन्छ । शरीरमा पानीको अभाव हुँदा पिसाबमा संक्रमण हुनेदेखि बच्चा र आमालाई समेत असर गर्छ । यस्तो अवस्थामा प्रशस्त पानी पिउनुपर्छ । जाडो भयो भन्दैमा पानी पिउन छाड्नु हुँदैन । जाडोमा गर्भवतीले मनतातो पानी बारम्बार पिइरहनुपर्छ ।

चिसोमा गर्भवतीले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने खालका भोजन गर्नुपर्छ । यस्तो अवस्थामा प्रोटिन, आइरन र क्याल्सियमयुक्त खानेकुरामा बढी जोड दिनुपर्छ । अन्डा, माछा, मासु, दूध, हरियो सागपात, गेडागुडी जस्ता खानेकुरा खानुपर्छ ।

जाडोमा खाना बिग्रिदैन भनेर बासी खाना खाने गरिन्छ । तर, गर्भवती महिलाले जाडो होस् वा गर्मी बासी खानेकुरा खानु हुँदैन । यसले गर्भवती महिला र गर्भमा रहेको शिशु दुवैलाई असर गर्छ । त्यस्तै जाडोमा चिसो हावाबाट बच्‍न मोजादेखि टोपीसम्म लगाउन छुटाउनु हुँदैन । जाडोमा बाहिर निस्किँदा तातो लुगा लगाएर मात्र निस्किनुपर्छ । जाडो भयो भन्दैमा धेरै टाइट लुगा लगाउनु हुँदैन । साथै शारीरिक व्यायाममा पनि उत्तिकै ध्यान दिनुपर्छ । चिसो हल्का व्यायाम गर्न सकिन्छ । बिहान-बेलुका हिँडडुल गर्न सकिन्छ । यसले शरीरलाई सक्रिय र न्यानो राख्‍न मद्दत पुर्‍याउँछ । रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।


Author

थप समाचार
x