स्वास्थ्य

के हो हनिमुन सिस्‍टाइटिस ?

प्रा.डा. सुमनराज ताम्राकार |
पुस ८, २०७७ बुधबार ११:८ बजे

अब २०७८ को वैशाख नलागी खासै विवाहका लगन छैनन् रे । तर पनि सदाझैं गएको मंसिरसम्मका लगनमा धेरै विवाह भए । अर्थात् यो सिजनमा बिहा गर्नेहरू अहिले हनिमुनमा लिप्त छन् । चाँडै नै विवाह गर्ने थुप्रै जोडी पनि हनिमुन (मधुमास) मा सक्रिय छन् । कोरोना संक्रमणका कारण अलि असजिलो भए पनि आफ्नो थातथलोबाट बाहिर कतै हनिमुन मनाउन जानेहरूको संख्यामा बढोत्तरी छ । हनिमुन भन्‍नेबित्तिकै खालि यौनसँग सम्बध्द कुरा मात्र सोचिन्छ, जुन गलत हो । प्रेम विवाह गरेकाले भन्दा मागी विवाह गरेकाहरूले हनिमुनको अवधिमा एक आपसमा बुझ्‍ने मौका मिल्छ ।

विवाहपश्चात् एवं हनिमुनको बेला पटक पटकको यौन सम्पर्कका कारण पिसाब नलीको संक्रमण हुनसक्‍छ । यसका साथै यौन कार्यपश्चात् हल्का रक्तश्राव हुनसक्‍छ । पटक पटक यौन कार्यकै कारण योनि वा योनिद्वारमा कुनै किसिमको चोट लागेमा, योनिमार्ग वा योनिद्वारमा गोनोरिया, क्लामाइडिया र ढुसीको संक्रमण भएमा, यौन सम्पर्कका क्रममा घर्षणले छाला पाच्छिमा योनि, योनिद्वार एवं  पिसाब गर्ने क्रममा हल्का रगत देखापर्नुका साथै पीडा हुने हुनसक्‍छ ।


मानव संरचनाको दृष्टिले महिला र पुरुषमा कतिपय भिन्‍नताका कारण हनिमुन अवधिमा पिसाब नलीको संक्रमण पनि महिलाहरूमा अलि बढी हुने गरेको पाइन्छ । पिसाब नली भन्‍नाले मिर्गौलाबाट पिसाब थैलीसम्म जोडिएको नली वा पिसाब थैलीबाट योनिद्वार माथिको प्वालसम्म बुझ्‍नुपर्छ ।

विशेषगरी महिलाहरूमा बढ्ता हनिमुन सिस्टाइटिस हुनुका कारण यस प्रकार छ : 
पुरुषहरूको दाँजोमा महिलाहरूको बाह्य पिसाब नली छोटो हुन्‍छ । पुरुषहरूको २० सेन्टिमिटर (सेमि) लामो हुने बाह्य पिसाब नली महिलाहरूको पिसाब नलीको लम्बाइ केवल ४ सेमि मात्र हुन्‍छ । महिलाहरूको पिसाब आउने प्वाल संरचनागत रुपमा मलद्वारको नजिक भएका कारण पनि महिलाहरूमा पिसाब नलीको संक्रमण तारन्तार भइराख्छ ।

यसको अलावा स्त्री जननेन्द्रिय अर्थात् योनिमार्गको सतही क्षेत्र निकै फराक छ । उचित सरसफाइको अभावमा यसमा हुने योनिरस तुरुन्तै संक्रामक हुनसक्‍छ । साथै महिनाचक्र अनुसार योनिरसको अम्लीयपनामा आउने परिवर्तन त्यहाँ कीटाणुहरूको वृध्दिलाई प्रभावित पारिरहेको हुन्‍छ । महिलाहरूको बाह्य पिसाब नली योनिमार्गको भित्तासँगै जोडिएका कारणले योनिमार्गको संक्रमण बाह्य पिसाबनलीतिर छिट्टै फैलिन सक्‍छ । र, यौनसम्पर्कपूर्व पुरुष लिङ्ग राम्ररी सरसफाइ गरिएको छैन भने महिलामा योनिमार्गको संक्रमण अनि पिसाब नलीको संक्रमण हुने सम्भावना बढी हुन्‍छ । त्यसैले पनि अविवाहित किशोरीको दाँजोमा हालै विवाह गरेका किशोरीहरूमा पिसाब नली वा पिसाब थैलीको संक्रमण अलि बढी हुने गरेको पाइन्छ । जसलाई मेडिकल भाषामा हनिमुन सिस्टाइटिस भन्‍ने गरिन्छ ।

जननेन्द्रियको संरचनाको हिसाबले पनि पुरुष लिङ्ग जति सजिलै सफाइ गर्न मिल्छ, महिला योनिमार्गको सरसफाइ गर्न अलि अप्ठ्यारै हुन्‍छ । त्यसमाथि यौनक्रियापूर्व पुरुष मानिसले आफ्नो यौनाङ्ग सफा गरीकन मात्र यौन सम्पर्क राख्ने गरेको हुँदैन । त्यसमाथि हतारमा, उत्तेजनामा वा आकस्मिक रुपमा यौन सम्पर्क राख्ने बेला आफ्नो यौनाङ्ग सफा गर्नुपर्छ भन्‍ने हेक्का नै हुँदैन ।

हनिमुन भन्‍नेबित्तिकै खालि यौनसँग सम्बध्द कुरा मात्र सोचिन्‍छ, जुन गलत हो ।

नेपालको परिप्रेक्ष्यमा महिलामैत्री शौचालयको अभावका कारण महिलामा पिसाब नलीको संक्रमण हुनाको अर्को कारक तत्व हो । पिसाब थैलीको क्षमता ५ सय मिलिलिटरको भए पनि ३५० मिलिलिटर पिसाब जम्मा भएदेखि नै पिसाब गर्न मन लाग्ने हुन्‍छ । महिलाहरूलाई पिसाब च्याप्यो भन्दैमा पुरुषले जसो (कुकुरजसरी) महिलाले जहाँकहीँ पिसाब गर्ने वातावरण पनि हुँदैन । न तुलनात्मक रुपमा त्यस्तो दुष्प्रयास नै गर्दछन् ? पिसाब च्यापेपछि पिसाब रोकिराख्नु पनि पिसाब नली वा थैलीको संक्रमणको एक कारण हो । पिसाब पनि विकार वस्तु भएका कारण ब्याक्टेरियाको वृध्दि हुन सजिलो हुन्‍छ ।

त्यसो त बिना कुनै लक्षण पिसाबमा कीटाणु देखिने समस्या, मुत्र थैली वा बाह्य मुत्र नलीको संक्रमण वा सुजन, मिर्गौलाको संक्रमण वा सुजन एवं मुत्र प्रणालीको पत्थरीको समस्याका कारण थरीथरीका पिसाब नलीको संक्रमण हुने गर्छ । यसका अलावा मधुमेहका बिरामीमा पनि योनिमार्गमा बाक्लो सेतो पानी देखापर्ने र पिसाब नलीको संक्रमण भइरहने हुन्‍छ ।

समग्रमा पिसाब नलीको संक्रमण हुँदा पिसाब छिटो छिटो लाग्ने, थोरै हुने, पोल्ने, रातो देखिने, पिप जस्तो देखिने र पिसाब कल्चर गराएको खण्डमा कीटाणुको संख्या निकै बढेको पाइन्छ  । मिर्गौला, मुत्र थैली वा बाह्य मुत्र नलीको संक्रमण वा सुजन हुँदा माथि उल्लिखित लक्षण चिन्हको अलावा काम छुट्ने, ज्वरो आउने, एकातिर वा दुवैतिर कोखा दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, उल्टी आउने, कम्मरको दुखाइ तिघ्रातिर सर्ने, पिसाबमा पिप वा ब्याक्टेरिया देखापर्ने हुन्‍छ । यो समस्या ल्याउने कीटाणुले उत्पादन गर्ने टक्सिनका कारण रातो रक्तकण टुक्राउने हुनाले रक्तअल्पता गराउन सक्‍छ ।

पिसाब नलीको संक्रमणको आशंका हुनासाथ पिसाबको साधारण जाँचबाट यो रोग खुट्टिन्छ । पिसाबको कल्चर गराएमा कारक कीटाणु पनि निक्र्यौल हुन्‍छ । आवश्यकता हेरी रगतको कल्चर, हेमोग्लोबिनको मात्राका साथै मिर्गौलाको काम गराई अल्ट्रासाउन्डको पनि जरुरत पर्छ । एक्सरे र मिर्गौलाका काम हेर्ने विशेष एक्सरे (आईभीपी) पटक पटक गर्न नमिल्ने भए पनि अल्ट्रासाउन्ड (भिडियो एक्सरे) बाट ६० प्रतिशत पत्थरीको समस्या पत्ता लाग्छ ।

अन्त्यमा, 
पिसाब नलीको संक्रमणको रोकथामका लागि पानी धेरै पिउने र नुन कम खाने गर्नुपर्छ । नियमित तवरमा पिसाबको साधारण जाँच एवं मिर्गौलाको सामान्यता थाहा पाउन रगतमा क्रियटिनिनको मात्रा जाँच गराइराख्नु राम्रो हुन्‍छ । पिसाब नलीको संक्रमण हुनासाथै पूर्ण उपचार सम्भव छ । तर तारन्तारको पिसाब नलीको संक्रमणका कारण मिर्गौला नै बिग्रिन गएमा रगतको विकार हटाउन डायलाइसिस वा मिर्गौला प्रत्यारोपणसम्म गराउनुपर्ने हुन्‍छ । यसकै जटिलता स्वरुप उच्च रक्तचाप विकसित हुने तथा रक्तअल्पता देखापर्ने हुनसक्‍छ भने गर्भवती महिलाहरू गर्भ तुहिने, व्यथा अगावै साल छुट्टिने, रक्त विषाक्तता देखिने, मुटुले फेल खाने, महिना नपुग्दै व्यथा लाग्ने, गर्भमै शिशुको मृत्यु हुने हुनसक्‍छ ।


Author

प्रा.डा. सुमनराज ताम्राकार

प्रा.डा. ताम्राकार काठमाडौं विश्‍वविद्यालय, शिक्षण अस्पताल (धुलिखेल) मा कार्यरत छन् ।


थप समाचार
x