सर्लाहीमा ४६ प्रतिशतले लगाए काेभिडविरुद्ध खोपको पूर्णमात्रा
सर्लाही – काेभिड भाइरसविरुद्धको पूर्णमात्रा खोप लगाउने सर्लाहीमा ४६.२६ प्रतिशत पुगेका छन् । शुक्रबारसम्म जिल्लामा ४६.२६ प्रतिशत अर्थात् २ लाख ४१ हजार जनाले काेभिडविरुद्धको पूर्णखोप लगाएको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको हो । स्वास्थ्य कार्यालयका अनुसार ३० हजार नागरिकले पहिलो मात्रा खोप लगाएका छन् ।
स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डाक्टर नवल किशोर झाले पहिलो मात्रा खोप लगाएकाहरू अहिले धमाधम दोस्रो मात्रा खोप लगाई रहेको बताएका छन् । आइतबारसम्म उनीहरू सबैले पूर्णमात्रा खोप लगाई सक्ने उनको भनाइ छ ।
जिल्लामा १८ वर्षमाथिका खोप लगाउने उमेरका झण्डै ५ लाख २१ हजार नागरिक रहेको स्वास्थ्य कार्यालय सर्लाहीको तथ्यांकमा उल्लेख छ । तथ्यांक अनुसार जिल्लामा अझै २ लाख ५० हजारको हाराहारीमा काेभिड खोप लगाउन बाँकी रहेको डाक्टर झाको भनाइ छ । जिल्लामा उपलब्धताको आधारमा प्राप्त खोप प्राथमिकताको आधारमा लगाउने गरिएको उनले बताए । यस पहिले खोप लगाउने लक्षित समूहका कारण आफूहरूले सोचेको लक्ष्य पुरा नभएको उनले सुनाए । दोस्रो लहर सुरुभएदेखि आजसम्म सर्लाहीमा काेभिड संक्रमणका कारण ८८ जनाले ज्यान गुमाएका छन् ।
यस्तै जिल्लामा हालसम्म काेभिड संक्रमित हुने संख्या २५ सय २० पुगेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ । तर, अहिले जिल्लामा कोही पनि संक्रमित नरहेको स्वास्थ्य कार्यालय प्रमुख डाक्टर झाले जनकारी दिए । काेभिड संक्रमितको उपचारको लागि जिल्लामा ४ सय २१ बेड क्षमताको १४ स्थानमा आइसोलेसन सेन्टर निर्माण गरिएको थियो ।
अब प्राप्त हुने खोप स्वास्थ्य मन्त्रालयको निर्देशन बमोजिम १८ वर्ष माथिका सबैलाई लगाइने स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । आफूहरू खोपको पर्खाइमा रहेको उनले बताए । सुरुमा खोपप्रति नकारात्मक दृष्टिकोणका कारण खोप लगाउन आनाकानी गरेका लाभग्राहीको अहिले खोपप्रति आकर्षित भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा काेभिड संक्रमणको दोस्रो लहरपछि खोपप्रति लाभग्राहीको आकर्षण ह्वातै बढेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया