स्वास्थ्य

‘ओमिक्रोन’ फैलन नदिन सुदूरपश्चिमका नाकामा कडाइ

इकागज |
मंसिर १६, २०७८ बिहीबार १४:५० बजे

बैतडी - कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को खतरा बढेकाले सुदूरपश्चिम प्रदेशमा उच्च सतर्कता अपनाइएको छ ।  भारतसँग सीमा जोडिएको नाकामा कडाइ गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । भारतमा ओमिक्रोनको संक्रमण फैलिए सबैभन्दा बढी जोखिममा सुदूरपश्चिम पर्ने भएकाले सीमा नाकामा कडाइका साथ स्वास्थ्य जाँच गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए । 

सुदूरपश्चिमका भारतसँग सीमा जोडिएका मुख्य नाका गड्डाचौकी, त्रिनगर, झुलाघाट, पुलघाटलगायत नाकामा उच्च सतर्कता अपनाइएको हो । यी नाकाबाट आवागमन बढी हुने गरेको छ । ‘निर्वाध आवागमन भइरहेकाले उक्त भेरियन्ट नेपालमा पनि फैलिन समय लाग्दैन,’ उनले भने, ‘ओमिक्रोन फैलन नदिन सीमानाकामा काेभिड परीक्षण गर्ने र नाकामै खोप लगाउने व्यवस्था गरिएको छ ।संघीय स्वास्थ्य मन्त्रालयको कस्तो निर्देशन आउँछ त्यसपछि थप तयारी गर्छौं ।’


सुदूरपश्चिममा पूर्णरुपमा खोप लगाउने कार्यसमेत सम्पन्न नभएका कारण झनै संक्रमण फैलिने खतरा बढेको बताइन्छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पनि पूरा गर्न बेवास्ता भइरहेका बेला ओमिक्रोनको संक्रमण फैलिए नियन्त्रण गर्न थप समस्या हुुने भएको छ ।

‘हामीले प्रदेशभरिका १८ वर्षमाथिका सबै नागरिकलाई मंसिरभित्र पूर्ण खोप लगाइसक्छौं, सोहीअनुसार सुदूरपश्चिमलाई पूर्ण खोपयुक्त प्रदेश घोषणा गर्छौं, उनले भने ।

सरकारकातर्फबाट खोप आपूर्तिमा कमी नभएकाले सबैलाई पूर्ण खोप लगाउनसमेत आग्रह गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले सबैलाई मास्क अनिवार्य लगाउन, सामाजिक दूरी कायम गर्न र साबुन वा स्यानिटाइजरको अनिवार्य प्रयोग गर्न नागरिकलाई आग्रहसमेत गरेको छ ।

राजनीतिक दल तथा सरकारका उच्च ओहोदामा बसेका व्यक्तिबाटै स्वास्थ्य मापदण्डका नियमको उल्लंघन हुँदा सर्वसाधारण नागरिकलाई नियम पालना गराउन समस्या हुने गरेकाले सबैले मापदण्ड पालना गर्नुपर्नेमा जोड दिइएको छ  ।  ओमिक्रोन फैलिहाले पनि सघन उपचार कक्ष, भेन्टिलेटर, अक्सिजन प्लान्टलगायत आवश्यक उपकरण जडान भएकाले पहिलाको जस्तो समस्या नहुने स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  

सुदूरपश्चिम प्रदेशमा हालसम्म ४८ हजार ३९ जनामा काेभिड पुष्टि हुँदा ६ सय ९ जनाको मृत्यु भएको थियो । विश्वस्वास्थ्य संगठनले कोभिड-१९ नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेसँगै नेपाललाई उच्च सतर्कता अपनाउन सुझाव दिएको थियो ।


Author

थप समाचार
x