स्वास्थ्य

वीर अस्पतालमा ‘नेशनल टेलिकल्सन्टेसन सेन्टर’ सुरु

इकागज |
मंसिर १६, २०७८ बिहीबार १५:१७ बजे

काठमाडौँ - कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)मा  ‘नेशनल टेलिकल्सन्टेसन सेन्टर’ सुरु गरिएको छ । कोभिड-१९ का बिरामीलाई लक्षित गरी बिहीबारदेखि यो सेवा सुरु गरिएको हो । 

यसअघि स्वास्थ्य तथा जनसंख्यामन्त्रालयमा रहेको टेलिकल्सन्टेसन सेन्टर बिहीबार युनिफाइड अस्पतालदेखि सुरु गरिएको हो । विश्वस्वास्थ्य संगठनको प्राविधिक सहयोगमा टेलिकल्सन्टेसन सेन्टर सुरु गरिएको हो । 


कोभिड-१९ का बिरामीलाई फोनबाट नै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले टेलिकल्सन्टेसन सेन्टर सुरु गरिएको अस्पतालमा निमित्त प्रमुख प्रशासकीय अधिकृत डा भूपेन्द्रकुमार बस्नेतले बताए । कोभिड-१९ सम्बन्धी समस्या र जिज्ञासा सुनेर फोनबाटै परामर्श गर्नका लागि टेलिकल्सन्टेसन सेन्टर सुरु गरिएको उनले जानकारी दिए । सेन्टरबाट स्वास्थ्य सेवा लिनका लागि ११३३ मा फोन गर्नुपर्ने हुन्छ । 

सेन्टरमा आएका समस्यालाई चिकित्सकले फोनबाट समाधान गर्नुका साथै बिरामीको मोबाइल नम्बरमा समस्याको उपाय लेखेरसमेत पठाउने छन् । चिकित्सकले बिरामीलाई कस्तो समस्या रहेको छ सोहीअनुसार अस्पताल जान वा घरमै बसेर उपचार गर्न सल्लाह दिन्छन् । टेलिकल्सन्टेसन सेन्टरमा २४ घण्टा सञ्चालन हुनेछ ।

मन्त्रालयमा ०७६ चैत ११ गतेदेखि कोभिड-१९ लाई लक्षित गरी कलसेन्टर सञ्चालन गरिएको थियो । कोभिड-१९ सँग सम्बन्धित दैनिक सात हजार जिज्ञासा आउने गरेको चिकित्सक डा। नवराज जोशीले जानकारी दिए । -रासस


Author

थप समाचार
x