प्रदेश-२ मा ३० प्रतिशतले लगाए कोभिडविरुद्धको पूर्ण खोप
जनकपुरधाम - नेपाल सरकारले अगामी पुससम्म ६६ प्रतिशत र चैत मसान्तसम्म नेपालमा कोरोनाविरुद्धको पूर्ण खोप लगाइसक्ने लक्ष्य राखेको छ। तर, अहिलेसम्म प्रदेश-२ मा ३० प्रतिशतले मात्र पूर्ण खोप लगाएका छन् ।
प्रदेश-२ स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार २० मंसिर सम्ममा ८ वटै जिल्लामा अहिलेसम्म ३० दशमलव ४३ प्रतिशत नागरिकले पूर्ण खोप लगाएका छन् ।
प्रदेश-२ स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार अहिलेसम्म सप्तरीमा ३० दशमलव ३१, सिरहामा २९ दशमलव ५७, धनुषामा ३२, महोत्तरीमा २७ दशमलव ७४ प्रतिशत नागरिकले मात्रै कोभिड-१९ विरुद्धको पूर्ण खोप लिएका छन् । त्यसैगरि सर्लाहीमा सबैंभन्दा बढी ३४ दशमलव ५४, रौटहटमा २९ दशमलव ४१, बारामा ३० दशमलव ६४ र पर्सामा २७ दशमलव ७५ प्रतिशत नागरिकले मात्रै पूर्ण खोप लिएको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
प्रदेश-२ का स्वास्थ्य निर्देशक विजय झाले जिल्लाहरुमा कोरोनाविरुद्धको खोप अहिले पर्याप्त मात्रामा रहे पनि सर्वसाधारणले लगाउन नचाहेको बताए । 'कोरोना कहर हामीसामु अझैं बाँकी रहेको छ । नयाँ नयाँ भेरियन्ट आइरहेका छन्,' उनले भने, ‘तर, पनि ग्रामिण क्षेत्रमा कतिपय व्यक्ति खोप लगाउन डराइ रहेका छन् ।’
‘खोप हाम्रो स्वास्थ्यका लागि अति आवश्यक हो । तर, पनि कतिपय व्यक्ति यसको सकारात्मक पक्षलाई नजरअन्दाज गरेर लापरबाही गरिरहेका छन्,' निर्देशक झाले भने,‘ अहिले खोप लगाउन हामीले वडा-वडामा टोली परिचालन गरेका छौं।' उनले जिल्लाका स्वास्थ्य कार्यालयमा पनि खोप लगाउने काम भइरहेको भएपनि अपेक्षा अनुसार मानिसहरुले खोप नलागएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया