स्वास्थ्य

प्रदेश-२ मा स्वास्थ्य अनुसन्धान परिषद् स्थापना

अनुसन्धान अवस्था फितलो भएकै कारण स्वास्थ्य क्षेत्र कमजोर : मुख्यमन्त्री राउत

सुभाष कर्ण |
मंसिर २६, २०७८ आइतबार १७:३५ बजे

जनकपुरधाम : स्वास्थ्य क्षेत्रमा अनुसन्धान गर्ने निकाय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रादेशिक रुपमा प्रदेश–२ मा आफ्नो इकाई कार्यालय स्थापना गरेको छ । प्रदेशमा यसरी परिषद् कार्यालय खोलिएको यो पहिलो हो ।

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका सपहीस्थित स्वास्थ्य निर्देशनालयको भवनमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदले आफ्नो इकाई कार्यालय स्थापना गरेको हो । स्थापनाका तीस वर्षमा प्रदेशस्तरमा स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन देशमै पहिलो खोलिएको उक्त इकाई कार्यालय प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरेका छन । कार्यक्रममा राउतले स्वास्थ्य क्षेत्रको सुधार तथा रोगको उपचार एवं निदानमा अनुसन्धानको यो इकाई कार्यालयले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।


उनले नेपालको अनुसन्धान पक्ष निक्कै फितलो रहेकै कारण देशको स्वास्थ्य अवस्था कमजोर रहेको गुनासो गरे । मुख्मयन्त्री राउतले अध्ययन अनुसन्धानविना कुनै पनि क्षेत्रको विकास गर्न कठिन हुने भएकाले स्वास्थ्य अनुसन्धान परिषद्को प्रादेशिक कार्यालयले प्रदेश–२ को स्वास्थ्यमा भएका समस्याहरूको विषयमा गहन अनुसन्धान गर्ने विश्वास व्यक्त गरे ।

उनले प्रदेशको स्वास्थ्य क्षेत्र सुधारका लागि यो इकाई कार्यालयले महत्वपूर्ण भूमिका खेल्यो भने प्रादेशिकस्तरमा विकास तथा विस्तारका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा प्रदेश सभा सदस्य रामअशिष यादवले पनि अनुसन्धान अवस्था फितलो भएकै कारण सरकारी स्वास्थ्य संस्थाहरूको अवस्था कमजोर भई निजी स्वास्थ्य संस्था हाबी हुँदै गएको टिप्पणी गरे । उनले भने, ‘जबसम्म निजी अस्पतालहरुको माफियाकरण बन्द हुँदैन, तबसम्म न सरकारी स्वास्थ्य संस्था, न अनुसन्धान क्षेत्रलाई सुदृढ बनाउन सकिन्छ ।’

स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले कतिपय रोगको निदान तथा नियन्त्रण गर्न अनुसन्धान महत्वपूर्ण रहेकाले यो कार्यालयले प्रदेश–२ मा देखिएका विभिन्न नसर्ने रोगको उचित अनुसन्धान गर्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘धेरै यस्ता नसर्ने दीर्घ तथा अल्प रोगहरु छन्, जसको अधिकतम हिस्सा प्रदेश–२ नै ओगटेको छ । यी रोगहरुको हालसम्म अनुसन्धान हुन सकेको छैन । प्रादेशिकस्तरमा गठित यी अनुसन्धान परिषदको कार्यालयले अनुसन्धान प्रक्रिया अघि बढाए निर्देशनालय सक्दो सहयोग गर्नेछ ।’

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. गेहनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह, परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवाली लगायतका व्यक्ताहरुले पनि आ आफ्ना धारणा राखेका थिए ।
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x