कोरोना संक्रमण घटेपछि स्वास्थ्यकर्मी भन्छन्ः
'डरलाग्दो समय र कालो रात पार गर्यौँ'
काठमाडौँ- गत वर्षको चैत अन्तिम सातादेखि नेपालमा कोभिड-१९ को दोस्रो लहर देखिन थालेको थियो । लगत्तै त्यसको केही सातामा मुलुकमा दैनिक संक्रमित र मृत्युदरको संख्या ह्वात्तै बढ्यो । दोस्रो चरणमा २ सयभन्दा बढी संक्रमितको मृत्यु पनि भएको थियो ।
संक्रमित बढेसँगै देशभरै निषेधाज्ञा जारी भयो । पहिलो चरणको कोभिडमा भन्दा दोस्रो चरणमा देखिएका संक्रमितलाई अक्सिजनको जरुरी भयो । कोभिड उपचार केन्द्रमा अक्सिजन र बेडको अभावसमेत भयो । विभिन्न मुलुकले नेपाललाई अक्सिजनको सिलिण्डरलगायत अन्य स्वास्थ्य सामग्रीसमेत सहयोग गरे ।
गएको दुई वर्षले नेपाल र नेपालीले अनिश्चिततालाई सम्हाल्दै आएका छन् । स्वास्थ्यकर्मीको सहाराले एकपटक मुलुकलाई महामारीको खाडलबाट उकासेको छ । फ्रन्टलाइनरका रुपमा कार्यरत स्वास्थ्यकर्मीदेखि अन्य हजारौँ सर्वसाधारणको मृत्यु भइसकेको छ ।
केही महिनादेखि यता कोभिड संक्रमितको संख्या र मृत्युदर पनि घट्दोक्रममा छ । अस्पतालमा भर्ना हुने संक्रमितको संख्या पनि कम भएको छ । कतिपय अस्पतालले कोभिड उपचारमा खटिएका नर्सलाई बिरामीको चाप हुने वार्डमा पठाउन थालेका छन् ।
अहिले पनि मुलुकमा दैनिक तीन सयको हाराहारीमा संक्रमित थपिने गरेका छन् । संख्या घटे पनि कोभिडको जोखिम रहेकाले नियन्त्रणमा आइसकेको छैन । उच्च जोखिम रहँदा अस्पतालमा कार्यरत कतिपय स्वास्थ्यकर्मीहरूले सेवा छोड्ने जस्ता समाचार बाहिरिएका थिए । निराश र त्रसित बनेका जस्ता कुराहरू सार्वजनिक भएका थिए ।
संक्रमित र मृत्युदरको संख्या घट्न थालेपछि कोभिड वार्डमा संक्रमितको संख्यामा कमी आएको छ । अस्पतालमा संक्रमितको संख्या घट्न थालेपछि कोभिड उपचार खटिएका विभिन्न अस्पतालका नर्सलाई इकागजले कुराकानी गरेको छ । संक्रमितको चाप बढ्दा र अहिले कम हुँदा अस्तपतालमा अवस्था कस्तो छ र कसरी काम गर्नु भइरहेको छ भनी प्रश्न गरेका थियौ ।
विजय प्राप्त गर्न जनस्वास्थ्यको मापदण्ड पालना गरौँ
बाँकेको भेरी अस्पतालकी नर्स प्रिति खड्का सुरुवातदेखि कार्यरत छिन् । पछिल्लो समय मुलुकमा संक्रमित घटेसँगै अस्पतालमा भर्ना हुने संक्रमितको संख्यामा पनि कमी आउन थालेको उनी बताउँछिन् ।
कोभिडको पहिलो र दोस्रो लहरमा त्रासले लपेटिएका स्वास्थ्यकर्मीहरूले यतिखेर आरामको श्वास लिन पाएका छन् । खोप विकास भएसँगै संक्रमितको संख्या घटेपछि खड्का आत्मविश्वासी सुनिन्छिन् । भन्छिन्,' कोभिडमाथि हामीले विजय गरेको छौँ । पूर्ण रुपमा परास्त गर्न अझै धेरै बाँकी छ ।'
अस्पतालमा संक्रमितको संख्या कम हुन थालेपछि बिरामीको चाप भएका ठाउँमा नर्सलाई स्थानान्तरण गर्न थालिएको छ । संक्रमितको संख्याअनुसार नर्सको व्यवस्थापन गर्ने तयारी भइरहेको छ । संक्रमितलाई अक्सिजन दिएर राखे पनि अवस्था गम्भीर छैन ।
भर्ना भएका संक्रमितलाई उपचारको कमी हुन नदिएको खड्काले बताइन् । विगतमा अन्य अस्पतालको तुलनामा भेरी अस्पतालमा भर्ना हुने संक्रमितको संख्या रहेको उनको भनाइ छ ।
'दोस्रो चरणमा देखिएको कोभिडको समय कठिन थियो, 'उनी भन्छिन्,' वैशाख र जेठको समयलाई सम्झदा कहाली लाग्छ । गर्मीमा पिपी लगाउँदा गाह्रो हुन्थ्यो । अहिले भने पिपी लगाउँदा पहिले जस्तो कठिन छैन ।'
खड्का अस्पतालमा रहेको कोभिड वार्डको ढोका सधैँको लागि बन्द होस भन्ने चाहन्छिन् । जबसम्म कोभिड वार्ड सञ्चालन हुन्छ तबसम्म काम गरिरहने उनले सुनाइन् । कोभिडविरुद्धको खोप लगाकाहरू गम्भीर नभएको उनले बताइन् । संक्रमणको जोखिम रहेकाले सबैले जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने उनको भनाइ छ ।
दबाबमुक्त भएर काम गरिरहेका छौँ
बलम्बुस्थित एपीएफ अस्पतालकी नर्सिङ इन्चार्ज जानुका न्यौपाने कोभिड वार्डमा खटिएकी छिन् । दोस्रो चरणको सुरुवातीमा भन्दा अहिले अस्पतालमा संक्रमितको भर्नादर एकदमै न्यून रहेको उनी सुनाउँछिन्।
'धेरै संक्रमित हुँदा अलिक तनाव भएको थियो, 'उनले भनिन्, 'अहिले भने पहिले जस्तो चिन्ता लिएर र तनावमा काम गर्नुपर्ने अवस्था छैन ।' कामको बोझ केही मात्रामा कमी भएको न्यौपानेले बताइन् ।
कोभिडको विभिन्न भेरियन्ट देखा पर्न थालेकाले त्यसको पूर्वतयारीसहित काम गरिहेको उनले जानकारी दिइन् । ओमिक्रोन देखिएपछि त्यसका लागि थप सतर्कताससहित काम गरिरहेको उनले बताइन् ।
उनी पहिलो चरणको त्रासले सन्तानसँग सम्पर्कमा आउन नसके पनि अहिले भने नियमित रुपमा घरबाट काम आउने-जाने गरेकी छिन् । पहिले जस्तो दबाबमा काम गर्न नपरेकोमा उनी खुशी सुनिन्छिन् ।
संक्रमण फैलन नदिनका लागि मानिसले आफ्नो दैनिकी व्यवहार परिवर्तन गर्नलाई न्यौपाने सुझाउँछिन् । सामाजिक दूरी कायम गरी जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने उनको भनाइ छ । मास्क र स्यानीटाइजरको अधिकतम मात्रा प्रयोग गर्नुपर्ने उनले धारणा राखिन् ।
कोभिडले नेपालीको जीवन अनिश्चित बनेको थियो
त्रिवी शिक्षण अस्पतालका कोभिड उपचार केन्द्रका संयोजक डा. सन्तकुमार दास दोस्रो चरणको कोभिडको समयलाई अहिलेको समयसँग तुलना गर्न नसकिने बताउँछन् । उनी डरलाग्दो समय र कालो रातको संकेत मान्छन् कोभिडको दोस्रो चरणलाई ।
'संक्रमणदर घट्दा जनजीवन सहजतिर प्रवेश गर्न थालेको मान्न सकिन्छ,' उनी भन्छन्,' कोभिडै कारण केही समय नेपालीको जीवन अनिश्चितता जस्तै बनेको थियो । अक्सिजन र बेडको अभावले अस्पताल नै शवगृह भन्ला भन्ने त्रास थियो ।'
चार महिना यता अस्पतालमा कोभिड संक्रमितको भर्ना हुने दर कम भइरहेको डा. दासले बताए । कोभिडको दोस्रो चरणको अन्तिम समयमा मुलुक प्रवेश गरेको उनको भनाइ छ ।
अस्पतालमा दैनिक ४-५ जना संक्रमित भर्ना हुने गरेको दासले जानकारी दिए । संक्रमणलाई नियन्त्रण गर्न सर्वसाधारणले जनस्वास्थ्यको मापदण्ड पालना गर्न उनले सुझाए ।
धेरै अस्पतालले बेड र अक्सिजनको व्यवस्थापन गरिसकेका छन् । बेड तथा उपचार व्यवस्थाको समेत क्षमता अभिवृद्धि गरेका छन् । प्राकृतिक रुपमा धेरै मानिसहरू संक्रमणमुक्त भएर रोग प्रतिरोधात्मक क्षमता वृद्धि हासिल प्राप्त गरेका छन् ।' मुख्य कुरा अभियानले तीव्रता पाउनु नै कोभिड नियन्त्रणोन्मुख भएको हो,' दासले सुनाए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया