स्वास्थ्य

‘से नो टु फ्रोजन फुड’

सुनीता साखकर्मी |
पुस १५, २०७७ बुधबार ७:५२ बजे

काठमाडौं : लवाइ होस् या खवाइ । अहिलेका युवापुस्तालाई सबै कुरा ‘रेडिमेड’ नै मन पर्न थालेको छ । पकाउन झन्झट नहुने र फरक स्वाद पनि पाइने भएपछि युवापुस्ता झनै फास्टफुडतर्फ आकर्षित भएका छन् ।

त्यसैको परिणाम हो, अहिले नेपाली बजारमा ‘फ्रोजन फुड’को पनि लोकप्रियता बढ्दै गइरहेको देखिन्‍छ । फ्रोजन फुड अर्थात् फ्रिजरमा भण्डार गरिएको वा फ्रिजिङ प्रक्रियाद्वारा संरक्षित खाना । जसलाई नपकाउन्जेलसम्म फ्रिजमा चिस्याएर राखिन्‍छ ।


यःमरि पूर्णिमाका दिनलाई लक्षित गरी बजारमा ‘फ्रोजन यःमरि’ पनि आएको छ । यो मात्रै नभई डिपार्टमेन्टल स्टोरहरुमा फ्रोजन मःमः, फ्रोजन पिज्जा, फ्रोजन पास्ता लगायत फ्रोजन तरकारीदेखि माछामासु पनि फ्रोजन नै पाउन थालिएको छ ।

अहिले जमाना यति फास्ट छ कि एक कलमा नै भने-भने अनुसारका खाना घरमा आइपुग्छ । एक त व्यस्त दैनिकी, अर्को पकाउने कला नभएकाले पनि मानिसहरु बजारमा बनेका वा लामो समयसम्म फ्रिज गरिएका खानेकुरा खान थालेको पोषणविद् डा. अरुणा उप्रेती बताउँछिन् । उनका अनुसार तर यस्ता फास्टफुड वा लामो समय फ्रिज गरिएका खानेकुराले स्वास्थ्यमा असर गर्छ । 

यस्ता खानाले अहिले नै कुनै असर नगरेपनि दीर्घकालमा ठूलो स्वास्थ्य समस्या निम्त्याउने उनको ठहर छ । त्यसैले उनी अरुलाई पनि सके घरमा फ्रेस पकाएर खान सुझाव दिन्‍छिन् । उनी भन्‍छिन्, ‘घरमा पकाउन नसके, बजारमा पनि फ्रेस नै पकाएको खानेकुरा खोजेर खानुहोस् । फ्रीज गरिएको खाना र फास्टफुडबाट टाढा बस्‍न सल्लाह दिन्‍छु ।’

अचेल प्राय मानिसको घरमै फ्रिज राख्‍ने चलन छ । घरमै पनि मानिसहरु माछामासु लगायत खानेकुरालाई लामो समयसम्म टिकाउन फ्रिजमा राखिरहन्‍छन् । अहिले खानेकुरा फ्रिज गर्नु सामान्य नै भइसकेको छ । तर घरमै पनि खानेकुराहरु लामो समय फ्रिजमा राख्‍न नहुने डा. अरुणा बताउँछिन् । उनका अनुसार हप्तौँसम्म माछामासु वा खानेकुरालाई फ्रिजमा राख्दा त्यसको पोषण घट्छ र त्यसले स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउँछ ।

अझै बजारमा पाइने फ्रोजन खानेकुरामा त लामो समय टिकाउन प्रयोग गरिने ‘प्रिजरभेटिभ’हरुले स्वास्थ्यमा झनै नकारात्मक असर पुर्‍याउँछ । 'बजारमा पाइने यःमरि, मःम लगायतमा प्रयोग गरिने पिठो, मासुहरु कस्तो प्रयोग गरिन्‍छन्, कस्ता प्रिजरभेटिभ प्रयोग गरिन्‍छन्, त्यो हामीलाई थाहा हुन्‍न,’ उनी भन्‍छिन्, ‘मलाई पनि थुप्रै परिकार आफै पकाउन आउँदैन । तर म बाहिरको फास्टफुड वा फ्रोजन खानेकुरा खान्‍नँ । फ्रेस पकाइएका खाना नै खोजेर खान्‍छु ।’

नेपालमा मात्रै नभई विश्वका थुप्रै मुलुकमा फ्रोजन फुडको बजार बढ्दै गइरहेको छ । तर पोषणविद्हरु लगायत प्रख्यात सेफहरु फ्रोजन फुडको विरोधमा छन् । अमेरिकका क्लारेन्स बर्डसेयेले फ्रिजको इन्भेन्सन गरेपछि खानेकुरा फ्रिज गर्न सहयोग मिलेको हो । केही समय फ्रिज गर्न मिल्ने तर खानेकुरालाई लामो समय फ्रिज वा रेफ्रिजिरेटरमा खानाहरु नराख्‍न विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले पनि सुझाव दिएको छ ।

त्यस्तै विश्वप्रख्यात व्रिटिस सेफ गोर्डन राम्जेले पनि पटक-पटक आफ्नो टेलिभिजन शो वा युट्युब च्यानल मार्फत् फ्रोजन फुडको विरोध गर्ने गरेका छन् । सन् १९६६ मा जन्मिएका गोर्डनले आफ्नो जीवनकालमा १६ वटा मिशेलान स्टार पाए, जसमध्ये ७ वटा अझै पनि उनकै पोल्टामा छ ।

मिशेलान स्टार विश्वका शीर्ष सेफहरुको उत्कृष्ट भोजनको चिनो मानिन्‍छ । यो स्टार प्राप्त गर्न सजिलो छैन । प्रत्येक विशेष शहरमा सर्वश्रेष्ठ रेस्टुरेन्टहरुलाई सम्मान गरिन्‍छ । यही स्टार प्राप्त गरेका गोर्डनले सन् २००४ मा ‘च्यानल फोर’बाट प्रशारित ‘राम्जेज किचन नाइटमेयर्स’ कार्यक्रम चलाएका थिए । सो कार्यक्रममा उनी घाटामा गएका रेस्टुरेन्टहरु डुलेका छन् । जसमा उनले उक्त रेस्टुरेन्टलाई पुनः सफल बनाउन प्रयास गर्छन् ।

उसले उक्त कार्यक्रममा ति रेस्टुरेन्ट घाटामा जानुको प्रमुख समस्या पत्ता लगाए । जसमा प्रमुख समस्या थियो, ‘फ्रेस’ खानेकुरा सर्भ नगर्नु वा फ्रिज गरिएका खानेकुरा पस्किनु थियो । फ्रोजन फुडले मानिसको स्वास्थ्यमा असर गर्नुका साथै स्वाद पनि विगार्ने भएकाले यस्ता खानेकुराको प्रयोग नगर्न सुझाव दिएका थिए ।

विश्वका प्रख्यात सेफ र पोषणविद्हरुले प्रयोग नगर्न आग्रह गरेको फ्रोजन फुड अहिले नेपाली बजारमा फस्टाउँदै गएको छ । के तपाईंलाई थाहा छ, फ्रोजन फुडले स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्छ । फ्रोजन फुड खानाले मुटुसम्बन्धी रोग, मधुमेह लगायत मानिसको कोषहरुमा समेत असर गर्छ । फ्रोजन फुडले गर्न सक्ने क्षति यसप्रकार छन् ।

मधुमेहको समस्या 
फ्रोजन फुडलाई लामो समय फ्रेस बनाइराख्‍नको लागि त्यसमा स्टार्च प्रयोग गरिन्‍छ । यो स्टार्चले खानामा स्वाद पनि थपिदिन्‍छ । स्टार्च एक किसिमको ग्लुकोज हो । यदि तपाईंले स्टार्चयुक्त खानेकुरा खानु भएको छ भने तपाईंको शरीरले यो पचाउनु अघि उक्त ग्लुकोज चिनीमा परिणत हुन्‍छ । ग्लुकोज नै नखानु पनि हानीकारक हो भने अधिक ग्लुकोज खानाले पनि शरीरमा असर गर्छ । शरीरमा धेरै चिनीको मात्रा बढ्यो भने त्यसले मधुमेह हुने खतरा पनि निम्त्याउँछ । यदि तपाईंलाई मधुमेह भयो भने, त्यो पुस्तान्तरण हुन सक्छ ।

मुटुरोगको समस्या 
फ्रोजन खानेकुराले मुटुमा समस्या निम्त्याउन सक्छ । फ्रोजन फुडमा ट्रान्स फ्याट अत्याधिक मात्रामा हुने भएकाले यसले मुटु रोग हुने सम्भावना बढि हुन्‍छ । ट्रान्स फ्याटले खराब कोलेस्ट्रोल बढाउने र राम्रो कोलेस्ट्रोल घटाउने भएकाले पनि भएकाले मुटु रोगको खतरा बढाउँछ ।

रक्तचाप बढाउँछ 
फ्रोजन फुडमा फरक फरक किसिमको प्रिजरभेटिभ प्रयोग गरेको हुन्‍छ । जसले लामो समय खानेकुरा टिकाउँछ । साथै सामान्य भन्दा अधिक नुन वा चिनीको  प्रयोग भएको हुन सक्ने भएकाले त्यसले पनि कोलेस्ट्रोलको मात्रा बढाउनुका साथै रक्तचाप समेत बढाउँछ ।

क्यान्सर हुन सक्छ 
फ्रोजन फुड खानाले क्यान्सर हुन सक्ने सम्भावना पनि बृद्धि गरिदिन्‍छ । फ्रोजन मासु वा फुड खानामा राखिएका प्रिजरभेटिभले प्यान्क्रियाजको क्यान्सर हुन सक्छ । अध्ययनहरुका अनुसार फ्रोजन ससेज वा अन्य खानाले क्यान्सर हुन सक्ने सम्भावना ६५ प्रतिशतले वृद्धि गरिदिन्‍छ ।

अन्य खतराहरु 
खाना लामो समय सम्म टिकाउनको लागि खानामा प्रयोग गरिने मोनोसोडियम ग्लुटामेटले टाउको, छाती दुख्‍ने, थकान हुने, धड्कन अनियमित हुने जस्ता समस्या निम्त्याउँछ । 

खाना संरक्षण गर्ने परम्परागत तरिका 
जाडो मौसम सुरु भएसँगै नेवार समुदायमा यःमरि खाने चलन छ । नेपाल भाषामा यःमरिको अर्थ हो- मन पर्ने रोटी । मंसिर शुक्लपूर्णिमाको दिन नेवार समुदायमा यःमरि पकाएर खाने चलन छ ।

यो दिन पकाएको यःमरिलाई चारदिनसम्म विशेष तरिकाले सुरक्षित राख्‍ने चलन पनि छ । र घरमा छोरीबेटी वा पाहुना डाकी सो यःमरि खुवाउने चलन पनि रहेको संस्कृतिविद् ओम धौभडेलले बताए । उनी भन्‍छन्, ‘परम्परागत रुपमा यःमरि पकाएर माटोको भाँडाभित्र सुरक्षित राखिन्‍छ । भाँडाभित्र घिरौलाको जाली लगायत राखी यःमरि राख्दा लामो समय सुरक्षित हुन्‍छ ।’

यसरी राखिएका यःमरिलाई आगोमा वा मकलमा पोलेर खाने चलन छ । यसरी खाँदा कुनै असर नगर्ने पनि संस्कृतिविद् ओम बताउँछन् ।  अहिले यःमरि लगायत परम्परागत खानेकुराका साथै आधुनिक खानेकुराहरु पकाउने सिप पुस्तान्तरण नहुँदा फास्टफुड र फ्रोजन फुडमा आकर्षण बढ्दै गएको उनको तर्क छ । उनी भन्‍छन्, ‘प्राकृतिक रुपमा खाना संरक्षण गर्नु भन्दा कृतिम रुपमा खाना संरक्षण गर्नु खराब हुन्‍छ । मानिसहरुले हाम्रा पुर्खाले प्राकृतिक रुपमा खाना संरक्षण गर्ने तरिका आफ्ना सन्तानलाई नसिकाएर यस्तो समस्या आएको हो ।’

नेवारलगायतका विभिन्‍न समुदायमा जाडोमा चाकु, तीलको लड्डु, तरुल, मासका परिकार खाने प्रचलन छ । सांस्कृतिक रूपमा चल्दै आएका खानेकुरा वैज्ञानिक रूपमा पनि फाइदाजनक भएको पोषणविद् डा. अरुणाले बताइन् ।

‘नेवारहरूले यःमरिमा राखेर खाने चाकुमा आइरन र तीलमा क्याल्सियम हुन्‍छ,’ उनले भनिन्, ‘यसले जाडोको बेला शरीरलाई फाइदा गर्छ ।’ सांस्कृतिक रूपमा चल्दै आएका खानेकुरा वैज्ञानिक रूपमा पनि फाइदाजनक रहेको उनले बताइन् ।
 


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x