अल्कामा बाथरोग सम्बन्धी नौ दिने निःशुल्क स्वास्थ्य शिविर
फाइल फाेटाे
काठमाडौँ - अल्का अस्पतालले बाथरोग सम्बन्धी नौ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
ललितपुरको जावलाखेलस्थित अस्पताल परिसरमा पुस ४ (आईतबार) देखि ८ गतेसम्म पहिलो चरणमा र पुस १२ देखि १५ गतेसम्म दोस्रो चरण गरी ९ दिनसम्म निःशुल्क बाथरोग सम्बन्धि स्वास्थ्य शिविर सञ्चालन भएको हो ।
शिविरमा स्वास्थ्य जाँच मात्र नभइ स्वास्थ्य सेवा नै निःशुल्क गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा निःशुल्क स्वास्थ्य परीक्षणका साथै १७ वटा भन्दा बढी बाथरोग सम्बन्धी ल्याब जाँच पनि निशुल्क गरिने अस्पतालले जनाएको छ ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र पोखरेलले कोभिडका कारण अस्पतालले सञ्चालन गर्दै आएका विभिन्न शिविरहरु रोकिए पनि अब नियमित सञ्चालन हुने जानकारी दिए । उनले आजबाट शुरु भएको बाथरोगसम्बन्धी शिविर भने दुई चरणमा गरी ९ दिन सञ्चालन हुने र यो शिविरबाट ग्रामीण जनसमुदायहरु धेरै लाभान्वित हुने बताए ।
प्रमुख कार्यकारी अधिकृत पाखरेलले भने, ‘यो बाथरोग विषयको शिविर हो, बाथरोगजस्ता विषयहरुमा स्वास्थ्य सेवाको पहुँच कम भएको हुनाले उपचार पाउन नसकेकाहरुलाई लक्षित गरेर शिविर सञ्चालन गरिरहेका छौँ । कोभिडका कारण नियमित शिविर सञ्चालन गर्न सकिरहेका थिएनौँ । अब हामी फेरि विशेष प्रकृतिका रोगहरुको शिविर सञ्चालन गर्ने क्रममा छाँै । हामी अब पनि निःसन्तानसम्बन्धी शिविरको तयारीमा छौँ । यो स्वास्थ्यको पहुँच कम भएका जनसमुदायलाई नै लक्षित गरेर सञ्चालनमा ल्याइएको हो । यो पूर्णतया निःशुल्क शिविर हो । स्वास्थ्यजाँच मात्रै निःशुल्क होइन, स्वास्थ्य सेवा नै निःशुल्क हो ।’
बाथरोग विशेषज्ञ डा.जीवन पौडेलले बाथरोगसम्बन्धी बिरामी भएकाहरुलाई निःशुल्क स्वास्थ्य सेवा दिने हेतुले शिविर सञ्चालन गरिएको बताए । उनले हाडजोर्नी, नशा सुन्निने, दुख्ने, लामो समयदेखि ज्वरो आइरहेका, महिनाबारी गडबडी भएकाहरु, बेला बेलामा गर्भ समेत तुहिने समस्या भएका लगायत बाथरोगसँग सम्बन्धित समस्या भएकाहरुको उपचार गरिने बताए ।
सिबिसी, इसिआर, युरिकएसिड, क्रियटीनाइन, एफबिएस, टिएसएच, एन्टी सिसिपी, सिपीआर आरएएफ फ्याक्टर, एसजीओटी, एसजीपिटी, सिपीकेन्याक, युरिन रुटिन, एक्सरे ज्वाइन एण्ड एनएफसीलगायतका ल्याब जाँच डाक्टरको सिफारिसमा निःशुल्क गरिने अस्पतालले जनाएको छ । अस्पताल प्रशासनले हरेक दिन सय जना बिरामीहरुलाई जाँच गरिने बताएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया