स्वास्थ्य

उपेन्द्र देवकोटा न्युरो अस्पतालले टाउकोमा लागेका रोगहरू चिरफार नगरी उपचार गर्ने

इकागज |
पुस ५, २०७८ सोमबार ११:१३ बजे

काठमाडौँ- बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइड साइन्सेजले दुई वर्षमा तीन सय बढी बिरामीको इन्डोभास्कुलर पद्धतिबाट उपचार गरेको छ ।

आइतबार अस्पतालका संस्थापक डा. उपेन्द्र देवकोटाको जन्मजयन्तीको अवसर पारेर अस्पतालले स्थापनाकालदेखि नै उच्च प्रविधिमा जोड दिएको उल्लेख गर्दै २ वर्षदेखि बायो प्लेन क्याथल्याबको प्रयोग गरेर इन्डोभास्कुलर सेवा दिइरहेको उल्लेख गरेको छ ।


इन्डोभास्कुल त्यस्तो उपचार पद्धतिको जसको सहायताले पक्षघात तथा रक्तनलीको फुकुण्डो (एन्युरिज्म) जस्ता रोगहरुको टाउको नखोलीकनै उपचार गरिन्छ । ‘एन्युरिज्मजस्तो जटिल समस्यामा पहिला टाउको खोलेर क्लिपिङ गरिन्थ्यो भने अहिले क्वाइलिङ अर्थात टाउको नखोलिकनै गरिने इन्डोभास्कुल विकल्प हामीले हाम्रा बिरामी र उनीहरूका परिवारमाझ राख्‍न पाएका छौं,’ अस्पतालले उल्लेख गरेको छ ।

यस्तै, अस्पतालले पाँच शैय्याको एक्युट स्ट्रोक युनिट व्यवस्थापन गरी पक्षघातको पूर्ण सेवा प्रदान गरिरहेको छ । एक सय शैय्याको न्यूरो अस्पतालमा वार्षिक ३० हजारभन्दा बढी बिरामीले सेवा लिने गरेका छन् ।

कोभिड-१९ को महामारीका कारण उपचारमा कमी आएकाले गत वर्ष २० हजारमा झरेको थियो । तर, पछिल्लो समय देशभर संक्रमण कम भएपछि ८ महिनामा १९ हजार बिरामीले सेवा लिएका छन् । अस्पतालमा अहिले विशेषज्ञ चिकित्सकसहित तीन सय बढी कर्मचारी कार्यरत रहेका छन् ।
 


Author

थप समाचार
x