वुहानबाट विद्यार्थी ल्याउँदा डराएका खरिपाटीबासी दैलोमै कोभिड आइपुग्दा के गर्दैछन् ?
काठमाडौं : चीनमा कोभिड-१९ को महामारी फैलिएपछि वुहानबाट गत फागुन ४ गते एक सय ७५ जना नेपालीलाई भक्तपुर, खरिपाटी ल्याइयो । विद्युत प्राधिकरणको तालिम केन्द्रमा उनीहरुका लागि क्वारेन्टाइनको व्यवस्था गरिएको थियो । त्यस दिन त्यहाँको वातावरण भिन्न थियो । वरपरका पसल बन्द थिए । केही स्थानीयहरु ढोकामा ताल्चा लगाउँदै कोही माइती कोही ससुराली जाने तरखरमा थिए ।
स्थानीय कल्पना रिमाल आफ्ना १४ महिने छोरी र १० वर्षे छोरा च्यापेर माइती जाने तरखरमा थिइन् । फुँयाल किराना पसलकी साहुनी लक्ष्मी खत्री ‘१४ दिनसम्म चिनेजानेबाहेक अरुलाई पसलमा पाइला टेक्न दिन्नँ’ भन्दै अड्डी बसेर बसेकी थिइन् ।
माइती जाने तयारीमा रहेकी कल्पनाले ढोकामा ताल्चा लगाउँदै भनेकी थिइन्, ‘यिनीहरुलाई जबसम्म यहाँबाट हटाउँदैनन् तबसम्म आउँदिनँ । आफ्नो नभए पनि यी लालाबालाको त ज्यानको सुरक्षा गर्नुपर्यो नि ।’
अरु बेला बिहान आँखा मिच्दै पसल खोल्ने लक्ष्मीले त्यस दिन बिहान १० बजिसक्दा पनि पसल खोल्ने तरखर गरेकी थिइनन् । स्थानीय भागरती चन्द (७०) ले त्यसदिन भनेकी थिइन् - ‘यो रोग त हावाबाट पनि सर्छ रे । अबको १४ दिन झ्याल ढोका थुनेर बस्ने हो ।’
वरिपरि झुम्मिरहेका नातिनातिनालाई अंगालो हाल्दै उनले यो पनि भनेकी थिइन् - ‘आफू डाँडामाथिको घाम भएपनि यी कलिला लालाबालालाई बचाउनुपर्यो नि ।’ स्थानीयहरु प्राधिकरणको तालिम केन्द्र आसपास पाइला टेक्ने पक्षमा थिएनन् । प्राधिकरणको गेट बाहिर पाइला टेक्दा मात्रै पनि कोरोना सर्ला जस्तो गरिरहेको उनीहरुको हाउभाउले देखाउँथ्यो । घरभित्रै बस्दा पनि खरिपाटीबासी मास्क लगाएर बसेका थिए ।
चीनबाट नेपाली ल्याउने भनेपछि मासु पसले ताल्चा मारेर हिँडेका थिए । कृष्णमायाका अनुसार उनले तीन वर्षमा एक दिन पनि पसल बन्द गरेका थिएनन् । न बिदा भनेका थिए । न चाडबाड न शनिबार नै ।
प्राधिकरणको गेट नजिकै जे-जे पर्छ टर्छ भन्दै चिया पसल खोलेर बसेकी थिइन्, कृष्णमाया थापामगर (७०) । आफ्नो पसलको ठीकविपरित बन्द मासु पसलतिर इशारा गर्दै कृष्णमायाले भनेकी थिइन, ‘यो मासु पसल दशैँको टीकाको दिन पनि बन्द हुँदैनथ्यो । त्यो पसले दशैँमा टीका लगाउन नपाएको भन्दा पसल खोल्न नपाएकोमा थकथक मान्थ्यो ।’
चीनबाट नेपाली ल्याउने भनेपछि मासु पसले ताल्चा मारेर हिँडेका थिए । कृष्णमायाका अनुसार उनले तीन वर्षमा एक दिन पनि पसल बन्द गरेका थिएनन् । न बिदा भनेका थिए । न चाडबाड न शनिबार नै । ‘भाइरसको डरले चीनबाट मान्छे ल्याउनुभन्दाअघि नै सुइँकुच्चा ठोक्यो,’ कृष्णमायाले त्यस बेला भनेकी थिइन् । केही घरमा ताल्चा मारिएका थिए । कोही भने केही समयका लागि बसाइँ सर्ने तयारीमा थिए । ‘कोही माइती गए, कोही ससुराली,’ स्थानीय राजन मगरले भनेका थिए,’ हाम्रो जाने ठाउँ काहिँ छैन कता जानू ।'
के गर्दैछन् अहिले उनीहरु ?
अहिले खरिपाटीले कोरोना बिर्सिसक्यो । त्यसैले त अधिकांसले मास्क लगाउन छाडिसके । जागिरे जागिरमा जान थालिसके । घरभित्र थुनिएका निष्फिक्री भएर बाहिर निस्किन थालिसके । उबेला हावाबाट कोरोना सर्छ भन्दै डराउने खरिपाटीबासीले यसपटक भने कोरोनालाई भव्य रुपले स्वागत गरिरहेको जस्तो देखिन्छ ।
लक्ष्मीको किराना पसलमा अहिले सबैलाई स्वागत छ । ‘कमाइ नभइ रमाइ नहुँदो रहेछ’ भन्दै उनी ग्राहक कुरेर बसिरहेकी छिन् । खरिपाटीमा जुनबेला त्रासपूर्ण वातारवण थियो त्यो बेला नेपालमा एक जना पनि कोभिड संक्रमित पुष्टि भएका थिएनन् । तर, अहिले अवस्था भिन्न छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा कुल संक्रमित एक लाख ३९ हजार एक सय २९ जना पुगिसकेका छन् । जसमध्य ४१ हजार ७ सय ७५ जना सक्रिय संक्रमित रहेका छन् ।
जनस्वास्थ्यविज्ञहरु उपत्यकामा समुदायस्तर मै कोरोना फैलिरहेको बताइरहेका छन् ।
कोरोनाको उपचारमा दिनरात खटिएका स्वास्थ्यकर्मीहरु ‘सर्तकता अपनाउनू’ भनेर भनेको भन्यै छन् । तर, कुनै समय डराएर घरभित्र थुनिएका खरिपाटीबासी अहिले घरबाहिर निस्किन थालेका छन् । विद्युत प्राधिकरण आसपासमा भिडभाड बढ्न थालेको छ । सडकमा दोहोरोलत्ता गाडी गुडिरहेका छन् । कतिपय अवस्थामा बाटो काट्नै हम्मे-हम्मे पर्ने माहोल त्यहाँ देखिन्छ ।
कृष्णमाया थापामगरको पसलमा ग्राहक चिया खान आइरहेका छन् । कोरोनालाई लिएर उनको मनोबल उच्च भएको छ । उनी भन्न थोलेकी छिन् - ‘आ ! कोरोना न सोरोना ।’ कृष्णमायाको पसलमा प्राधिकारण तालिम केन्द्रका कर्मचारीदेखि सुरक्षाकर्मीहरु चिया खान आउँछन् । तर, उनी कहिल्यै मास्क लगाएर बस्दिनन् । ‘मास्क लगाएर काम गर्न साह्रै अप्ठ्यारो हुन्छ,’ उनले भनिन्, ‘एकछिन मात्रै लगाएर बस्यो भने पनि सासै रोकिएला जस्तो हुन्छ ।’
कोरोनाबाट बच्ने उपाय आफूले नपछ्याए पनि अरुको भने कृष्णमायालाई खुब चिन्ता छ । ‘बेला कोरोना नै नलागेको मान्छे ल्याउँदा चाहिँ मानिसहरु के-के न ल्याएको जसरी तर्सिएर भागे,’ उनले भनिन्, ‘अहिले दिनदिनै कोरोना लागेको मान्छे यहाँ ओसार्दा पनि कसैलाई केहि मतलब छैन । सबै खुल्लमखुल्ला हिँडिरहेका छन् ।’
उनीकहाँ चियाको चुस्की लगाउन आएका प्रहरी जवान टेकराज भट्टलाई पनि कोरोना भनेको यस्तै रहेछ भन्ने लाग्न थालिसक्यो । लकडाउनपछि खरिपाटीमा ड्युटी गरिरहेका उनलाई कारोना सानो जागिर ठूलो लाग्न थालिसक्यो । ‘कोरोनासँग किन डराउनु,’ उनले भने, ‘कोरोना भनेको उछिटिएर झ्याप्प आएर समात्ने बाघ होइन । बाघ त हामीसँग डराउँछ । हामी कोरोनासँग किन डराउनु ?'
कृष्णमायाले देखाएको मासु पसल अहिले खुलेको छ । पसलका साहुजी हुन, ओखलढुंगाका अर्जुन थापा । मासु पसलसँगै उनको खाजा पसल पनि छ । उनी र उनकी श्रीमती पारुलाई मःम बनाउन भ्याइ नभ्याइ छ । ‘सधैँ कति डर मानेर बस्ने,’ मःमका डल्ला पार्दै थापाले भने, ‘भागेर मात्रै समस्याको समाधान नहुने रहेछ । परिवारको पेट पनि पाल्नैपर्यो ।’
वुहानबाट नेपाली ल्याएपछि डरले केही समय उनीहरु आफन्तकहाँ गएर बसे । जम्मा भएको पैसा निख्रिदै आएपछि आफ्नै कार्यथलो नफर्कि सुखै पाएनन् । ‘कतिन्जले आफन्तकहाँ बस्ने भनेर फर्कियौँ, ‘उनले भने, ‘कति समय डराउने ? अहिलेसम्म डराएर बसेको भए एक वर्षसम्म डराएरै बस्नुपर्ने रहेछ ।’ बिहान काम गरेर बेलुका खाने मान्छेलाई डराउने छुट छैन भन्छन् उनी ।
‘भागेर जाउँ कुन ठाउँ जाउँ कोरोना नलाग्ने शहर हुँदैन ।’
थापा र उनको जहान अहिले बिना मास्क ग्राहकको सेवा गरिरहेको छ । ‘बाहिरका मान्छे खासै आउँदैनन्,’ उनले भने, ‘स्थानीय मानिसहरु नै आउने भएकाले खासै डर छैन । मास्क लगाउनु पर्दैन ।’त्यहाँ अहिले अधिकांश मानिसहरु मास्क लगाउँदैनन् । कोरोनालाई उनीहरुले सामान्य रुपमा लिन थालिसकेका छन् । थापाले पनि मास्क लगाउँदा श्वास फेर्न गारो हुने बताए । उनकी श्रीमती पारुलाई पनि मास्क लगाउन उतिसारो मन लाग्दैन ।
आजकाल जसलाई भेटेपछि फुँयाल किराना पसलकी लक्ष्मी भन्न थालेकी छिन्- ‘भागेर जाउँ कुन ठाउँ जाउँ कोरोना नलाग्ने शहर हुँदैन ।’ उनको दैनिकी फेरिएको छ । बिहान सबेरैदेखि पसलमा ग्राहक कुरेर बसिरहेकी हुन्छिन् उनी । ‘कोरोना नलाग्ने शहर छैन,’ उनले भनिन्, ‘भागेर/लुकेर नलाग्ने भए पो भाग्नु/लुक्नु । बरु जहाँ छौँ त्यही बसेर कोरोनाको सामना गर्ने हो ।
स्थानीय बिमला फुँयाल (६३) का तीन छोरा छन् । लकडाउनका बेला घरभित्रै बसेपछि अहिले भने उनीहरु काममा जान थालेका छन् । छोराहरुलाई जागिरमा नजानू भनेर उनी भन्न सक्दिनन् । ‘सधैँ घरभित्र थुनेर राखेर पनि के गर्नु,’ उनले भनिन्, ‘प्राइभेट जागिर, काम गरे पैसा आउँछ नगरे आउँदैन । हामीलाई पाल्नै पर्यो । जहान छोराछोरीलाई पढाउनै पर्यो ।’
उबेला बाजेबराजुले महामारी लाग्यो भनेको सुनेकी थिइन् बिमलाले । तर, यति लामोसमयसम्म आफैले भोग्नुपर्ला भन्ने लागेको थिएन उनलाई । ‘कस्तो जमाना आयो कस्ता-कस्ता रोग निस्के, निस्के,’ उनले भनिन्, ‘छोराहरु अफिस गएर आउँदा पनि रोग लिएर आउँछन् कि भन्ने डर लाग्छ । डरैडरमा दिन बिताउनु परेको छ ।’
लक्ष्मीका श्रीमान् पनि बिहान काम गर्न जान्छन् बेलुका आउँछन् । उनलाई पनि श्रीमान्ले कोरोना बोकेर आउने हो कि भन्ने चिन्ता छ । चिन्तासँगै उनमा एउटा कोरोना लागिहालेमा पचाउने आत्मबल पनि थपिएको छ । ‘कोरोना लागिहाल्यो भने पनि अब त पचाइन्छ,’ उनले भनिन्, ‘सधैँ कति डराएर बस्नु । अब त कोरोनाले हामीलाई होइन हामीले कोरोनालाई कमजोर बनाइदिसक्यौँ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया