यस्तो छ बाजुराको 'भाइरल' जिल्ला अस्पतालको वास्तविकता
'विशेषज्ञ चिकित्सक नहुँदा गम्भीर प्रकृतिका बिरामी बाहिर जान्छन्'
तस्बिरः सुदीप अधिकारीको फेसबुकबाट
काठमाडौँ- सुनसरी जिल्ला रामधुनी नगरका नेपाली कांग्रेसको सभापति सुदीप अधिकारीले उक्त तस्विर राखी फेसबुकमा एउटा स्टाटस लेखे,' प्रविधिको विकासले स्वास्थ्य क्षेत्रमा खै कति प्रतिशत पो उपलब्धि भयो भन्नु हुँदै थियो हाम्रो गृहमन्त्री ।'
चोक-चोकमा कंक्रिटको आफ्नै फरक खाले विभिन्न अर्थ राख्ने मुर्ति,स्मार्ट सिटी धारणा बनिरहेको उनले लेखेका छन् । उनले प्रश्न गर्दै लेखेका छन्,'भ्यू टावरहरूको देशमा बाजुरामा टिनको छाप्रामा जिल्ला अस्पतालकको अप्रेशन कक्ष यस्तै उपलब्धीको सपना थियो/ हो त हाम्रो ?'
यतिखेर सामाजिक सञ्जालमा केहीदिन यता बाजुरा जिल्ला अस्पतालको फोटो भाइरल भइरहेको छ । विभिन्न व्यक्तिहरूले उक्त तस्विर राखी टिप्पणी गरिरहेका छन् ।
तस्वीरमा 'शल्यक्रिया कक्ष' लेखिएको बोर्ड छ । बोर्डको तलपट्टिको भागमा कुखुरा देखिएको छ । त्यहाँ दुई वटा कोठा देखाइएको छ । जसलाई जस्ताले घेरिएको छ । फोटोको बाहिरी भागलाई मात्र हेर्दा अस्पतालको अवस्था दयनिय देखिन्छ वास्तविकता के रहेछ भनेर ईकागजले बुझ्ने प्रयास गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णनन्द जोशीसँग यसबारेम बुझ्दा उनले भने,' हाम्रो जिल्ला अस्पतालको फोटो भाइरल भएको सुनेको छु । अस्पताललाई जस्ताले घेरिएको फोटो भाइरल भएको छ । अस्पतालमा बुझ्नका लागि जाने तयारीमा छौ ।'
जिल्ला प्रशासन कार्यालयबाट आधा किलाेमिटरको दूरीमा अस्पताल रहेको उनले जानकारी दिए । 'समयले भ्याएमा म आफै जान्छु। नभ्याएमा प्रतिनिधि पठाएर बुझ्नेछौ,' उनले भने ।
फोटोमा देखिएको कोठामा बिरामीको शल्यक्रिया नहुने अस्पताल प्रमुख डा. प्रकाश जोशी बताउँछन् । उनले भने,' एउटा कोठामा बिरामीको आफन्तहरू बस्छन् । अर्को कोठामा अक्सिजनको सिलिण्डर राखिएको छ ।'
शल्यक्रिया कक्ष पक्की भवनमा रहेको जोशीले जानकारी दिए । उनकाअनुसार अस्पतालमा भर्खरै आएका एकजना डक्टरले सामाजिक सञ्जालमा राखेका थिए ।
बिरामीका आफन्तलाई राख्ने ठाउँमा पानी परेको समयमा भिजाएकाले जस्ता राखेर बनाएको उनको भनाइ छ । जस्तासहितको कोठा अस्पतालमा पाँच वर्ष अगाडि बनाइएको थियो ।
हाल अस्पताल परिसरमा ५० बेडसहितको अस्पताल भवन बन्दैछ । अहिले भने अस्पतालमा १५ बेड रहेको जोशीले जानकारी दिए । 'भौगोलिक अवस्था र ठाउँअनुसार यस अस्पतालको भौतिक संरचनाले धानिरहेको छ,' उनले भने ।
दैनिक ७०- ८० जना बिरामी स्वास्थ्य परीक्षण गर्न आउने जोशीले जानकारी दिए । अस्पतालमा सामान्यदेखि, इमर्जेन्सी बिरामी, रुघाखोकी र गर्भवती महिलाको उपचार हुने गरेको उनको भनाइ छ ।
'गम्भीर प्रकृतिका बिरामीलाई उपचार गर्ने अवस्था छैन,' डा. जोशीले थपे,' गम्भीर रोगका बिरामी आएमा यहाँ उपचार हुन सक्दैन । विशेषज्ञ चिकित्सक छैनन् । अस्पतलमा सबै गरेर ८२ जना कर्मचारी छन् ।
अस्पतालको आफ्नै एम्बुलेन्स र शववाहन छ । बिरामीले न्यूनतम शूल्क तिरेर दुवै सवारीसाधनको प्रयोग गरिरहेको उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया