स्वास्थ्य

युट्युबे डाक्टरको भरपर्दा अनुहारै ‘बत्तर’

सृजना खड्का |
पुस १७, २०७७ शुक्रवार ८:१२ बजे

काठमाडौँ : हातहातमा मोबाइल छ, स्वास्थ्य सुझावका लागि युट्युबे छन् । यसका लागि कुनै विज्ञता चाहिँदैन । युट्युबमा एउटा च्यानल खोले पुग्छ । त्यस्तै एउटा युट्युब च्यानलको दर्शक थिइन्, अमिसा गौतम (२३)। मैतिदेबीकी अमिसालाई अनुहार गोरो र चम्किलो बनाउने हुटहुटी थियो। जसका लागि उनले युट्युब च्यानलको सहारा लिइन् ।

युट्युबमा उनले ‘होम मेड स्किन कयेर टिप्स’ भनेर सर्च गर्थिन् । त्यहाँ अनुहार चम्काउने विभिन्‍न उपायहरू राखिएका हुन्थे । उनी भिडियोका यस्ता हेडलाइन लेखिएको देख्थिन् :


‘दुई दिनमै अनुहारलाई यसरी बनाउनुहोस् चम्किलो’
‘घरमै बसेर यसरी चम्काउनुहोस् छाला’
‘सुन्दर बन्‍न अपनाउनुहोस् यी घरलु उपाय’

‘जस्तोसुकै डढेको छालालाई तीन मिनेटमै गोरो बनाउने घरेलु उपाय’ भनेर राखेको देखेपछि अमिसा झनै उत्साहित बन्थिन् । जहाँ बेसनदेखि बेसारसम्मका अनुहार चम्काउने उपायहरू प्रयोग गरेरै देखाइएको थियो । कस्मेटिक्समा पैसा खर्च गर्नुभन्दा घरलु उपाय अपनाउनै ठिक लाग्यो उनलाई । त्यसैले युट्युबका भिडियोहरूले जे भने उनले खुरुखरु त्यही मानिन् । मुसुरोको दालको पाउडर पेस्ट बनाएर लगाइन् । भिडियोमा भनेअनुसार काक्रो, गोलभेडा, मह, दहि, कागती, बेसन, बेसार, दुध, अण्डा, ध्युकुमारी आदि अनुहारमा दल्न केही बाँकी राखिनन् । तर, अनुहारको छाला सुन्दर हुनुको सट्टा उल्टै बिग्रियो ।

केही समययता अमिसा अनुहारको समस्या लिएर छालारोग विशेषज्ञकहाँ धाइरहेकी छिन् । ‘युट्युब भिडियोको पछि लागेर अनुहारमा झन् समस्या आयो,’ गौतमले भनिन्,‘बुझ्दै नबुझी अनेकथरी दल्दा छदाखादाको अनुहारै कुरुप भयो ।’
छाला रोग विशेषज्ञ डा.धर्मेन्द्र कर्णकहाँ युट्युब, टिकटक र इन्स्टाग्रामका भिडियो हेरेर त्यही अनुसार घरायसी सामग्री दलेर छालामा समस्या लिएर आउनेहरू धेरै छन् । ‘त्यस्ता व्यक्ति दिनमै चार-पाँच जना आउँछन्,’ उनी भन्‍छन्, ‘पहिला भिडियोको भरमा जे पनि दल्छन् । पछि एलर्जी भएर पुरै अनुहार बिगारेर आउँछन् ।’

केही दिनअघिको घटना डा. कर्णलाई ताजै छ । एउटी महिला अनुहारमा गहिरो घाउ लिएर आइन् । कारण थियो उनको अनुहारमा भएको कोठी । ‘कसैले उनलाई लसुनले अनुहारको कोठी हट्छ भनेर ताल लगाइदिएछ,’ उनी भन्‍छन्, ‘लसुनको पोटी अनुहारमा रगड्दा रगड्दा अनुहारमा घाउ भएको रहेछ ।’

कोठी हटाउन लसुनको पोटी दल्दा अनुहारैभरी घाउ

डा.कर्णका अनुसार घाउ हुनेबित्तिकै उनी उपचारमा आइनन् । पहिला आफैँ डाक्टर बनिन् । साथीभाइ र आफन्तले भनेअनुसार अन्य घरेलु उपाय अपनाइन् । त्यसले पनि काम नगरेपछि उनी मेडिकल गइन् । एलर्जीमा लगाउने मल्हम किनेर लगाइन् । समस्या झनै बल्झिएपछि मात्रै उनी उपचारको लागि कर्णकहाँ आइन् ।‘हामी पहिला आफैँ भएभरको ‘एक्सपेरिमेन्ट’ गछौँ अनि अन्तिममा मात्र डाक्टरकहाँ जान्‍छौँ,’ डा. कर्ण भन्‍छन् ।

छाला रोग विशेषज्ञ डा.अनुपमा कार्कीकहाँ पनि त्यस्ता समस्या लिएर मानिसहरू आउने गरेका छन् । सानो कोठी हटाउन लगाएको लसुनले कोठीभन्दा ठूलो दाग लिएर आउने गरेको उनी बताउँछिन् । ‘लसुन लगाएर अनुहार बिगारेर मकहाँ पनि आउँछन्,’ उनी भन्‍छिन्, ‘प्राकृतिक चिजले छालामा केही हुँदैन भन्‍ने भ्रम छ । तर, लसुनमा एन्टिअक्सिडेन्ट हुन्‍छ । त्यसलाई अनुहारमा लगाउँदा छाला झनै ड्यामेज हुन्‍छ । त्यसैले बुझेर मात्र लगाउनुपर्छ ।’

जसले जे गर्‍यो त्यही कपि गर्ने बानीले नराम्रो असर पुर्‍याउने डा.कर्ण बताउँछन् । ‘हाम्रोमा अरुले जे गर्‍यो त्यही कपि गर्ने बानी छ,’ उनी भन्‍छन्, ‘युट्युबरलाई तपाईंको छाला कुन गुणस्तरको हो थाहा हुँदैन । उनीहरूले भनेको कुरा पत्याउनु मुर्खता हो । किनभने, उनीहरूले सिकाउने उपायको कुनै वैज्ञानिक तथ्य हुँदैन ।’

डा. कर्णकहाँ उनले नामै नसुनेका घरायसी सामग्रीहरू लगाएर छालामा समस्या लिएर आउनेहरू छन् । ‘नामै नसुनेका सामग्रीहरू लगाएर आउँछन्,’ उनी भन्‍छन्, ‘शरीरको भित्री अंगमा केही भएको छ भने हामी डाक्टरकहाँ जान्‍छौँ । तर, छालामा केही समस्या आयो भने युट्युबका भिडियोतिर लाग्छौँ । जुन एकदमै गलत हो ।’

छाला रोग विशेषज्ञ डा.अनुपमा कार्कीले कसैको छालामा घरायसी सामग्रीको प्रयोगले राम्रो गरेपछि धेरैको छालामा भने सुट नहुने बताउँछिन् । ‘ति सामग्रीहरूमा कसैले मात्रा मिलाउँदैनन्, कसैले लगाएको मिल्दैन,’ उनी भन्‍छिन्, ‘व्यक्तिअनुसार मानिसको छालाको प्रकार पनि फरक-फरक हुन्‍छ । कसैको छाला चिल्लो हुन्‍छ कसैको सुख्खा ।’

सबैको छालाको प्रकार समान किसिमको नहुने हुनाले यस्ता घरेलु उपायहरूबाट बच्न उनी सुझाउँछिन् । ‘यस्तो विषयमा अरुको पछाडि लाग्‍नुहुँदैन,’ उनी भन्‍छिन् । अरुको कपी गर्दा छालाको समस्या घट्नुको सट्टा थप बढ्ने डा. कर्ण बताउँछन् । ‘अहिलेको जमानामा हरेक सूचना इन्टरनेटर र सोसल मिडियामा पाइन्‍छ,’ उनी भन्‍छन्, ‘आफैँ सर्च गरेर जे पनि भेट्न सकिन्‍छ । तर, त्यहाँ दिएका उपायहरू कुन ठिक कुन बेठिक छुट्याउने जिम्मा हाम्रो हो ।’


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x