जाडोमा किन हिटर वा आगाे ताप्दा झ्याल-ढोका बन्द गर्नु हुँदैन ?
शरीरमा मोनोअक्साइडको मात्रा बढेमा मृत्यु पनि हुन्छ
फाइल तस्बिर
काठमाडौँ- उपत्यका लगायत देशैभरमा केही दिनयता चिसो बढ्दै गएको छ । चिसोबाट सुरक्षित रहन र शरीरलाई न्यानो बनाउन मानिसहरूले विभिन्न उपाय अपनाउने गरेका छन् ।
बजारमा पाइने हिटर,आगो ताप्ने देखि पानी तताउने ग्यास गिजरको प्रयोग गर्ने गरेका छन् । चिसोबाट शरीर तताउन हिटरको प्रयोग गर्न नजान्दा मानिसले अनाहकमा ज्यान गुमाउने गरेका छन् ।
कतिपय अवस्थामा बाथरुममा नुहाएको बेला ज्यान गएको छ । सावधानी अपनाउँदा यस्ता अप्रिय घटना घट्ने गरेको प्रशस्तै उदाहरणहरू भेटिने गरिएको छ ।
हावा ओहोरदोहर हुने ठाउँ वा कोठामा आगो ताप्ने, हिटर बाल्ने वा गिजरको प्रयोग गर्ने गर्नुपर्छ । कोइलाजन्य स्रोतबाट सकेसम्म आगो ताप्नु हुँदैन । आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै राख्नु हुँदैन । आगो तापिसकेपछि कोइलालाई पूर्ण रुपमा निभाउने गर्नुपर्छ ।
हिटर बाल्दा समय-समयमा प्रयोग गरिरहेको हिटरलाई बन्द गर्नुपर्छ । सुत्नुअघि हिटर नबिर्सिकन हिटर अनिवार्य बन्द गर्नुपर्छ । गिजरलाई बाथरुमको बाहिरी स्थानमा जडान गर्नुपर्छ । गिजर खोलेर बाथरुममा लामो समयसम्म बस्नु हुँदैन ।
हिटरले विभिन्न खालका रासायनिक तत्त्वहरूले हाम्रो स्वास्थ्यलाई थप असर गर्ने गर्छ । धेरै समयसम्म हिटर ताप्ने गर्दा यसले शरीरलाई गर्मी पैदा गर्नुका साथै छाला सुक्खा बनाउँछ ।
हिटरको हावाले छालामा समेत असर गर्छ । यसले छाला फुट्ने चाउरीपन देखा पर्ने गर्छ । हिटरले चिसोबाट बचाउन सहयोग गरे पनि तर, लामो समयसम्म कोठामा हिटर बालेर ताप्दा यसको प्रकाशले आखाँलाई असर पुर्याउँछ, यसले आखाँको ज्योति कमजोर बनाउनुका साथै आँखा समेत सुख्खा बनाउँछ ।
सकेसम्म नजिकै बसेर हिटर ताप्नु हुँदैन । १० सेन्टिमिटर टाढा राखेर हिटर ताप्ने गर्नुपर्छ ।
हिटरबाट निस्कने कार्बन मोनोअक्साइड स्वास्थ्यका लागि घातक हुन्छ । झ्याल-ढोका बन्द गरेर हिटर बाल्दा हावामा कार्बन मोनोअक्साइडको मात्रा बढी हुन्छ र शरीरमा अक्सिजनको कमी हुन जान्छ ।
अक्सिजनको सट्टामा कार्बन मोनोअक्साइड मस्तिष्कमा पुग्ने गर्दछ, जसले गर्दा मस्तिष्कले बिस्तारै काम गर्न छोड्छ ।
मस्तिष्कमा अक्सिजनको कमी हुँदा बेहोस हुँने, आफ्नो वरिपरि के भइरहेको छ भन्ने बारेमा थाहा हुँदैन । चेतना हराउँदै जाने र बिस्तारै शरीरका सबै अंगले काम गर्न छोड्छ । शरीरमा मोनोअक्साइड मात्रा बढेमा मृत्यु पनि हुने गर्दछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया