स्वास्थ्य

भारतमा थपिए ६,३५८ कोभिड सङ्क्रमित

इकागज |
पुस १३, २०७८ मंगलबार १४:३२ बजे

रासस/एएनआई - भारतमा थप ६ हजार ३५८ जना कोभिड सङ्क्रमित थपिएका छन् ।  केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार  दिएको जानकारीअनुसार गत २४ घण्टामा थपिएका सङ्क्रमितहरु मध्ये ६५३ जना ओमिक्रोन भेरियन्टका रहेका छन् ।

 भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ७५ हजार ४५६ रहेको छ । अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०.२२ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको यो संख्या सन् २०२०  मार्चपछि सबै भन्दा कम भएको समाचारमा जनाइएको छ ।  


गएको २४ घण्टामा भारतमा  छहजार ४५० जना कोभिडबाट मुक्त भएका छन् । यसैसँगै कोभिड शुरु भएयता हालसम्म तीन करोड ४२ लाख ४३ हजार ९४५ जनालाई कोभिड सङ्क्रमण निको भएका छन् । भारतमा कोभिड भाइरस निको हुने दर ९८।४० प्रतिशत रहेको जनाइएको छ । यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जनाइएको छ ।

सोही अवधिमा थप २९३ जनाको कोभिड सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोभिडको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ८० हजार २९० पुगेको मन्त्रालयले थप जानकारी दिएको छ । भारतमा कोभिड शुरु भएदेखि हालसम्म ६७ करोड ४१ लाख भन्दा बढी व्यक्तिको कोभिड परीक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोभिड भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ४२ करोड ४६ लाख ८१ हजार ७३६ भन्दा बढी डोज खोप लगाइएको जनाइएको छ ।  


Author

थप समाचार
x