सेतो चिनीको कालो यथार्थ
काठमाडौं : बच्चा रोयो, के गर्ने ? थुप्रैले चकलेट मुखमा राखेर चुस्न लगाउँछन् । गुलियो चाख्न पाएपछि बच्चाहरू पनि मख्ख । चुप लागिदिन्छन् । तर बच्चालाई चिनीयुक्त चकलेट लगायत केक, आइसक्रिम जस्ता गुलियो चिज खुवाउन नहुने पोषणविद्हरु बताउँछन् । अमेरिकाको कृषि विभाग र स्वास्थ्य र मानव सेवा विभागले त केही दिनअघि बच्चाहरूको लागि बनाएको ‘आहार दिशानिर्देश’ मा ६ महिनासम्म आमाको दुध मात्रै खुवाउन र दुई वर्षसम्म बच्चालाई चिनी राखिएको खानेकुरा नखुवाउन निर्देशन दिएको छ ।
बजारमा पाइने सेता रिफाइन्ड चिनीले मानिसको शरीरमा नकारात्मक असर गर्ने भएकाले सो नियम बनाएको क्यालिफोर्निया विश्वविद्यालयका पोषणविद् बार्बरा स्नीमनले बताए । 'बच्चाहरुलाई यति चाँडै रिफाइन्ड खानेकुरा खुवाउनु हुन्न,’ उनी भन्छन्, ‘बच्चाको सुरुवाती दिनहरुमा खाने प्रत्येक गाँस गणना हुन्छ । हरेक दिन, हरेक छाकमा स्वस्थकर खाने कुराको चयन गर्ने बानी बसाल्नुपर्छ । यसले मानिसलाई स्वस्थ बनाउँछ ।’
चिनीले मानिसको शरीरमा विभिन्न किसिमका रोगहरु देखा पर्न थालेपछि अमेरिकाले चिनीको प्रयोग गर्न दिशानिर्देश गर्दै आएको छ । अमेरिकामा मात्रै नभई विश्वकै लागि पनि यो रिफाइन्ड चिनीले खतरा सिर्जना गरिरहेको नेपालका आर्यम कार्की (डायटिसियन) ले बताए । आर्यम पनि रिफाइन्ड चिनी खान नहुने पक्षमा छन् । उनका अनुसार बच्चाले मात्रै नभई ठूला मानिसले पनि रिफाइन्ड चिनी खान हुँदैन ।
‘बच्चा मात्रै हैन, ठूला पनि गुलियो खानेकुरा भनेपछि सौखले खान्छन् । तर चुरोट जति हाम्रो स्वास्थ्यको लागि हानिकारक हो, त्यति नै नराम्रो यो रिफाइन्ड चिनी पनि हो,’ उनी भन्छन्, ‘चिनीमा कार्बाेहाइडे«ड बढि र पोषण तत्व कम हुन्छ । त्यसैले चिनी दिनुहँ नखाएकै राम्रो हो ।’
विश्वमा चिनीको उपभोग बढ्दो
इन्टरनेशनल सुगर अर्गनाइजेसनका अनुसार विश्वका ११० देशमा चिनी उत्पादन हुन्छ । जसमा ८० प्रतिशतले उखुबाट चिनी बनाउँछन् । गत अक्टोबर/सेप्टेम्बर यो संस्थाले चिनी उत्पादन गर्ने टप दश देशहरुको सूची सार्वजनिक गरेको थियो, जसले विश्वमा उत्पादन हुने ७० प्रतिशत चिनीको उत्पादन ओगट्छ । जसमा भारत पहिलो नम्बरमा छ भने त्यसपछि ब्राजिल, थाइल्याण्ड, चीन, अमेरिका, मेक्सिको, रसिया, पाकिस्तान, फ्रान्स र अष्ट्रेलिया रहेको छ ।’
अर्गनाइजेशनको तथ्यांक अनुसार २००१ देखि २०१८ सम्मको बिचमा चिनीको उत्पादन १२ करोड ३४ लाख मेट्रिक टनबाट बृद्धि भएर १७ करोड २४ लाख मेट्रिक टन पुगेको छ । नेपाल पनि चिनीको प्रयोगमा कम छैन । चिनी उद्योग संघका अध्यक्ष शशीकान्त अग्रवालका अनुसार नेपालमा वर्षेनी २ लाख ७० हजार मेट्रिक टन चिनी उपभोग हुन्छ । जबकी नेपालमा जम्मा दुई लाख मेट्रिक टन चिनी मात्रै उत्पादन हुन्छ । अध्यक्ष शशीकान्तका अनुसार चिनीको उपभोग बढ्दै गएको छ । र थप चिनी अन्य मुलुकबाट किनिएर वा तस्करी भएर नेपाल छिर्छन् ।
चिनीको लत नराम्रो : क्यान्सरदेखि अन्य दीर्घरोगसम्मको खतरा
पोषण विशेषज्ञ तस्निना कार्कीका अनुसार रिफाइन्ड चिनीले एडिक्सन गराउने काम गर्ने हुँदा बच्चाहरुले अरु स्वस्थकर खानेकुराहरुको साटो पनि त्यही खान खोज्ने हुन सक्छ । त्यसले गर्दा अरु पोषिलो खानेकुराहरु को इन्टेकको मात्रामा कमी हुँदा बच्चाहरुमा कुपोषण हुन सक्ने सम्भावना धेरै हुन्छ ।
उनी भन्छिन्, ‘त्यसैले सकेसम्म यस्ता खानेकुराबाट बच्चालाई टाढै राख्नुपर्छ । र पोषिलो खानेकुराहरु घर मा बनाएर खुवाउन सक्यो भने राम्रो हो ।’ आर्यम(डायटिसियन) पनि रिफाइन्ड चिनीले लत लगाइदिने कुरामा सहमत छन् । उनका अनुसार अहिले रिफाइन्ड चिनी हरेक चिजमा राख्न थालिएको छ । बिस्कुट, कोक, लगायत खानेकुराका देखिने गरी नै चिनी हुन्छ । तर अचेल थाहै नपाई विभिन्न परिकारहरुमा चिनी प्रयोग हुन थालेको छ । जसलाई ‘हिडन चिनी’ भनिन्छ ।
उनका अनुसार चिनी वा गुलियोले मानिसलाई खुसी बनाइदिने वा गुलियो खाएपछि मानिस रिलिफ फिल गर्ने भएकाले बजारमा त्यस्तै खानेकुरा बढि बिक्रि हुन्छ । जस्तै दही, इन्स्टेन्ट कर्नफ्लेक्स, ओट्स लगायत खाद्य पदार्थमा प्रशोधन गर्ने क्रममा चिनीको प्रयोग गरिएको हुन्छ । त्यस्तै मासुमा पनि चिनी राख्न थालिएको छ । चिकेन चिल्ली लगायतमा प्रयोग गरिने ससमा गुलियो हुन्छ भनेर मानिस अनविज्ञ हुन्छन् ।
यसरी दिनहुँ चिनी खाँदा चिनीले मानिसलाई लत नै लगाइदिने पनि आर्यमको ठहर छ । उनी भन्छन्, ‘नजाँनिदो किसिमले मानिस चिनीको लतमा परिसकेको हुन्छ । जसले गर्दा आज भन्दा भोलि बढी भोलि भन्दा पर्सी बढी खान थाल्छ । छोड्छु भन्दा पनि छोड्न सकिँदैन । जसले विभिन्न रोग निम्त्याउँछ ।’
उनका अनुसार पहिलेका पुस्तामा रिफाइन्ड चिनीयुक्त खानेकुरा खाने चलन थिएन । मानिसहरुले फलफूल र तरकारीहरुबाटै गुलियो पाउँथे । अहिलेका पुस्ताले धेरै रिफाइन्ड चिनी खान थालेकोले बच्चा र बयस्कमा मोटोपनाको समस्या बढिरहेको छ । साथै मोटोपना क्यान्सरसँग जोडिएको छ । रिफाइन्ड चिनीले मानिसमा दीर्घरोग निम्त्याउन सक्ने पनि विभिन्न अध्ययनले देखाएको आर्यम बताउँछन् ।
उनका अनुसार मधुमेह, युरिक एसिड, मुटुरोग लगायत कलेजोमा बोसो जम्ने जस्ता रोग लाग्ने सम्भावना अत्याधिक हुन्छ । त्यस्तै विभिन्न अध्ययनहरुले चिनीको सम्बन्ध क्यान्सर रोगसँग पनि भएको देखाएको छ । चिनीले क्यान्सरका सेल चाँडै बढाइदिन्छ । जसको कारण स्तन, प्रोस्टेड ग्रन्थी, गर्भाशय, कोलोरेक्टल र प्यान्क्रियाजको क्यान्सर निम्त्याउन सक्छ ।
प्राकृतिक चिनी भर्सेस रिफाइन्ड चिनी
विभिन्न फलफूलमा फ्रुक्टोजको रुपमा प्राकृतिक चिनी पाइन्छ भने दुध र चिज लगायत दुग्ध उत्पादनहरूमा ल्याक्टोजको रुपमा प्राकृतिक चिनी प्राप्त हुन्छ । तर अहिले बजारमा पाइने चिनी उखु र सुगर बीटबाट प्रशोधन गरी बनाइन्छ । जसमा सुक्रोज पाइन्छ । सुक्रोज चाहिँ ग्लुकोज र फ्रुक्टोजको सम्मीश्रणबाट तयार हुन्छ । यस्ता सुक्रोजयुक्त रिफाइन्ड सेता र खैरा चिनीहरु, केक, कुकिज, बिस्कुट, कफिलगायत विभिन्न परिकारमा समेत प्रयोग गरिन्छ । खाद्य उत्पादकहरू केमिकल प्रयोग गरी प्रशोधन गरिएका चिनीहरु खानेकुरामा प्रयोग गर्छन् । स्वाद बढाउन पनि चिनीको प्रयोग गरिन्छ ।
प्राय प्रशोधित चिनीमा पोषण तत्वको कमी हुन्छ भने क्यालोरी बढी हुन्छ । तर फलफूल र दुधमा भिटामिन र खनिज पदार्थ हुन्छ । दुधमा प्रोटिन र फलफूलमा फाइबर हुन्छ । रिफाइन्ड चिनी खाँदा क्यान्सर लाग्ने सम्भावना बढ्छ भने प्राकृतिक चिनीले क्यान्सर रोग लागेका विरामीहरूका लागि धेरै महत्वपूर्ण छ । साथै शरीरमा क्यान्सर लाग्न नदिन वा अन्य रोग लाग्नबाट पनि प्राकृतिक चिनीले महत्वपूर्ण पोषण तत्व प्रदान गर्छ ।
त्यस्तै ब्लुबेरी, ब्ल्याकबेरी, रासबेरी, स्ट्रबेरी र स्याउमा उच्च एन्टिअक्सिडेन्ट हुने भएकाले क्यान्सरको जोखिम घटाउँछ । फलको भित्री भागमा भन्दा पनि बोक्रामा बढी फाइबर पाइन्छ । जसको सेवन गर्दा भोक धेरै नलाग्ने र तौल बढाउँदैन ।
नियम छ, तर पालना भएको छैन
आर्यम (डायटिसियन) का अनुसार युरोपेली राष्ट्रहरुमा चिनीको उपभोग कम गर्नको लागि त्यहाँका सरकारहरुले चिनीजन्य खानेकुरा उत्पादनमा बढि कर लगाइदिएको छ ।
जसको कारण चिनीको भाउ बढेपछि चिनीजन्य खानेकुराको पनि भाउ बढ्यो । जसले क्रमिक रुपमा केही सुधार भएको पनि देखिन्छ । तर नेपालमा चिनीकै लागि भनेर कुनै नियम बनेको त थाहा छैन । नेपालले सन् २००४ मा राष्ट्रिय पोषण नीति र रणनीति सार्वजनिक गरेको छ ।
यसमा कुपोषण लगायत त्यसबेला विद्यमान थुप्रै समस्याहरु निराकरण गरी पोषण सम्बन्धी थुप्रै सल्लाह सुझाव र कार्य योजनाहरु रहेका छन् । सो रणनीतिमा नेपालले पहिलोपटक २००४ मा खाद्य आधारित ‘आहार दिशानिर्देश’ प्रकाशित गरेको थियो । २०१२ मा संशोधित संस्करणको सुरुवात गर्यो । त्यसको ८ नम्बर बुँदामा भनिएको छ- चिनी, मिठाइ र गुलियो पेय पदार्थहरुको उपभोग कम गर्नुहोस् ।
त्यस्तै ‘पूरक खाद्य पदार्थहरुको पोषक तत्व’ अन्तर्गत कम पोषण तत्व युक्त पेय पदार्थ(चिया, कफि र चिनीयुक्त जुस वा सोडा) नखान सुझाव दिएको छ । त्यस्तै यसको सट्टामा भिटामिन ए भएको फलफूल र तरकारी दैनिक रुपमा खान सुझाएको छ । साथै पोषण तत्व पूर्तिका लागि विभिन्न खानेकुरा खानको लागि सुझाव दिएको छ । कुखुरा लगायत विभिन्न माछा मासु अण्डा दैनिक वा सकेसम्म बढि खान सुझाव दिएको छ । तर त्यसको पूर्ण पालना भएको छैन ।
त्यस्तै विश्व स्वास्थ्य संगठन र फुड एन्ड एग्रिकल्चरल अर्गनाइजेशनले संयुक्त रुपमा १९९८ मा सार्वजनिक गरेको रिपोर्टमा १४ बुँदे ‘जीवन शैली सम्बन्धित रोगहरूको लागि आहार दिशानिर्देशहरू’ समेटिएका छन् । जसको ९ नम्बरको बुँदामा ‘चिनीयुक्त पेय पदार्थ र खाद्य पदार्थमा कटौती गर्न’ भनिएको छ ।
नेपालमा चिनी नियन्त्रण गर्न दिशानिर्देश बनेको छ तर पालना भएको छैन । ‘असर गर्ने भएपछि आफैले पनि चिनी कम खान थाल्न पर्छ,’ आर्यम(डायटिसियन ) भन्छन्, ‘चिनीलाई एक कप चियामा जति खान्छौँ, त्यति सीमित राखौँ, त्यो भन्दा बढि खान थालियो भने त्यसले असर गर्छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया