स्वास्थ्य

'कोभिड संक्रमितमा गम्भीर लक्षण नदेखिए पनि अस्पताल भर्ना हुनेको संख्या बढ्छ'

इकागज |
पुस २८, २०७८ बुधबार १०:२६ बजे

फाइल तस्बिर

काठमाडौँ - कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको गम्भीर लक्षण नदेखिए पनि संक्रमितको संख्या वृद्धि हुँदै जाँदा अस्पताल भर्ना गर्नुपर्ने बिरामीको संख्या बढ्ने जीवाणु वैज्ञानिक डा. सुदीप खड्काले बताएका छन् । पहिलो र दोस्रो लहरको तुलनामा भाइरस कडा नभए पनि केहीमा गम्भीर समस्या देखा पर्ने उनले बताए । संक्रमितको संख्या बढ्दा गम्भीर प्रकृतिका बिरामी बढने र अस्पतालमा उपचार गराउनेको चाप हुने उनको भनाइ छ ।  

'संक्रमितको ज्यान जोगाउन अक्सिजन लगायत आधारभूत आवश्यकताको व्यवस्था गर्नुपर्छ,' डा. खड्का भन्छन्,' खोप नलगाएका पनि धेरै मानिस छन् । जोखिम समूहका व्यक्तिलाई खोप लगाएको समय धेरै भएको छ भने गम्भीर लक्षण देखा पर्न सक्छ । '


ओमिक्रन भेरियन्ट संक्रमण समुदायमा पुगिसकेको उनले दाबी गरे । यो तीव्ररूपमा फैलन सक्छ र खोप लगाएकालाई पनि सर्न सक्ने उनको भनाइ छ ।  संक्रमितको सम्पर्कमा आएकाले आइसोलेट गर्न पनि उनले सुझाव दिए ।

कन्ट्रयाक्ट ट्रेसिङ र परीक्षणको दायरा बढाएर संक्रमितको पहिचान गर्नुपर्ने खड्काले बताए ।  हवाई वा स्थल नाका बाट छिर्ने सबैको पिसीआर परीक्षण गर्नलाई सुझाव दिए । मास्कको प्रयोग गर्न उनले सुझाव दिए ।

खोप अभियानलाई तीव्रता दिन पनि उनले सुझाव दिए । 'खोप लगाएको २-४ हप्ता पछि मात्र पूर्ण सुरक्षा दिन थाल्छ,' उनले भने । जोखिम समूहमा रहेका सबैलाई बुस्टर खोप दिनुपर्ने उनले बताए । उनकाअनुसार ज्येष्‍ठ नागरिक तथा दीर्घ रोगी र फ्रन्टलाइनरको रुपमा काम गर्नेलाई अतिरिक्त खोप प्रदान गर्नुपर्छ ।

 

 


Author

थप समाचार
x