‘पोस्टपार्टम डिप्रेसन’बारे खुलेर कुरा गर्ने कि !
हरेक मानिसको शारीरिक, मानसिक क्षमता फरक हुन्छ । एउटै अवस्थालाई सबैले एकै तरिकाले अनुभव नगर्न सक्छन् । यो मातृत्वको हकमा पनि लागू हुन्छ । मातृत्वले हरेक महिलाको जीवनमा अलग-अलग अनुभव ल्याउँछ । नेपाली समाजमा आमा बन्नुलाई ठूलो सफलताका रूपमा लिइन्छ । बिहेपछि लगत्तै धेरैलाई बच्चा जन्माउने प्रेसर हुन्छ । तर, बच्चा जन्मिएपछि देखिने मानसिक समस्यालाई भने खासै गम्भीर रूपमा लिएको पाइदैन ।
बच्चा जन्माइसकेपछि शारीरिक र मानसिक स्वास्थ्यका हिसाबले आमाहरू संवेदनशील अवस्थामा हुन्छन् । यस्तो अवस्थामा शारीरिक स्वास्थ्यमा मात्रै नभएर मानसिक स्वास्थ्यमा पनि विचार पुर्याउँनुपर्छ । गर्भावस्थादेखि नै महिलाको शरीरमा विभिन्न परिवर्तन आइरहेको हुन्छ । बच्चा जन्माइसकेपछि आमाले बच्चाको हेरविचार मात्रै होइन, शारीरिक तथा हर्मोन परिवर्तनको पनि सामना गर्नुपर्ने हुन्छ । जसका कारण त्यसको असर व्यवहारमा पर्न जान्छ ।
शरीरमा थकान, सुस्तीपन र मनमा उदासी छाउँछ । त्यसबाहेक आर्थिक वा पारिवारिक सम्बन्धको कारणले पनि तनाव बढाउन सक्छ । आफ्नो बच्चालाई लिएर अरुप्रति शंका-उपशंका उत्पन्न हुन सक्छ ।
कतिपयमा ‘बच्चाको स्याहार गर्न सकिनँ, असल आमा बन्न सकिनँ’ भन्ने खालका भावना पनि मनमा आउन सक्छ । सोही कारणले गर्दा महिलाहरूमा उदासीनताको समस्या देखा पर्छ । उदासीनता बढेर डिप्रेसनको रूप लिन सक्छ । बच्चाको जन्मपछि आमालाई हुने डिपे्रसनलाई ‘प्रसवोत्तर डिप्रेसन’ अर्थात् ‘पोस्टपार्टम डिप्रेसन’ भनिन्छ ।
यो क्रम बढ्दै गएमा बच्चालाई हानी गर्ने वा आफ्नो जीवन समेत समाप्त गर्ने सोच मनमा आउन सक्छ । यस्तो अवस्थामा परिवारका सदस्यले सहयोग गर्नुपर्छ । पोस्टपार्टम डिप्रेसनको समस्या सुत्केरी आमाहरूमा ६ हप्ताभित्रमा देखा पर्न सक्छ ।
पोस्टपार्टम डिप्रेसनका लक्षण :
- मन उदास हुनु
- बच्चाको हेरचाह गर्न मन नलाग्नु
- रिस उठ्नु, चिढचिढाहट हुनु
- सामान तोड्नु, फ्याँक्नु र चिच्याउनु
- बच्चादेखि झर्को लाग्नु
- बिनाकारण दुःखी हुनु, रुन मन लाग्नु
- नरमाइलो लाग्नु
- निन्द्रा नलाग्नु वा धेरै निदाउनु
- खान मन नलाग्नु
- चिन्ता लागिरहनु
- आफ्नो रेखदेख गर्न छाड्नु
- नकारात्मक सोचाइ आउनु
- एक्लोपनको महसुस हुनु
- आफ्नो जीवन आफैँलाई बोझ लाग्नु
बच्चा पाएपछि बच्चाको स्याहारसुसार गर्ने, दूध खुवाउनेलगायत जिम्मेवारी थपिन्छ । यसका साथै सामाजिक कारण पनि पोस्टपार्टम डिप्रेसनको कारण बन्न सक्छ । छोरी जन्मिएको अवस्थामा पारिवारिक र सामाजिक दबाब पर्दा पनि सुत्केरीमा मानसिक तनाव थपिन्छ । कतिपय महिलामा भने पढाइ र करियरलाई लिएर चिन्ता बढ्छ । त्यस्तै शरीरमा आउने परिवर्तन जस्तैः तौल बढ्नु, अनुहारमा चायाँपोतो आउनु आदि पनि पोस्टपार्टम डिप्रेसनको कारण बन्न सक्छ ।
तीबाहेक यी विभिन्न कारणले पोस्टपार्टम डिप्रेसन हुन सक्छः
- प्रसव पीडा
- तनाव
- आर्थिक कारण
- पारिवारमा सम्बन्धमा राम्रो नभएमा
- गर्भावस्थामा कुनै रोग लागेमा
- बच्चाको स्वास्थ्यमा कुनै समस्या देखिएमा
- जुम्ल्याहा, तिम्ल्याहा बच्चा जन्मेर स्याहार गर्न समस्या भएमा
पछिल्लो समयमा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना बढ्दै गएको छ । तर पोस्टपार्टम डिप्रेसनको समस्यालाई अहिलेसम्म पनि गम्भीर रूपमा लिइदैन । यसको उपचारतिर खासै ध्यान दिएको पाइदैन । अरु रोगजस्तो यो देखिदैन । त्यसैले पनि यसलाई सकेसम्म लुकाउने वा बेवास्ता गर्ने गरिन्छ । यस्तो समस्या बढ्दै गएमा तुरुन्तै मनोचिकित्सकको सल्लाह लिनुपर्छ । यस्तो अवस्थामा कसैलाई पनि ‘असल आमा’ बन्ने दबाब दिनु हुँदैन । बच्चाको हेरचाहमा सहयोग गर्नुपर्छ । शारीरिक मात्र नभई भावनात्मक सहयोग गर्नुपर्छ । उनीहरूको आत्मबल बलियो बनाउनुपर्छ । बच्चालाई मात्र होइन, आमालाई पनि उत्तिकै महत्व दिनुपर्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया