स्वास्थ्य

कर्णालीमा सिटामोलको चरम अभाव

इकागज |
माघ ७, २०७८ शुक्रबार १२:१७ बजे

फाइल फाेटाे

कर्णाली- पछिल्लो समयमा कर्णाली प्रदेशमा कोभिड भाइरस ओमिक्रोन तेस्रो भेरियन्ट तीव्र रुपमा बढिरहेको छ । सङ्क्रमण बढ्दै जाँदा भने जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरिएको पाइँदैन । सरकारी तथा सार्वजनिक कार्यालयमा सेवाग्राहीका भिड लाग्न रोकिएको छैन । नागरिकले स्वास्थ्य संस्था, यातायात, मालपोत, निर्वाचन कार्यालयमा सुरक्षा सावधानीबिनै सेवा लिँदै आएका छन् । 

जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गरी यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन यही माघ १ गते १२ बुँदे आदेश जारी गरिसकेको छ । एकै ठाउँमा २५ भन्दा बढी सहभागी नहुने, अनिवार्य मास्क प्रयोग गर्ने, भौतिक दूरी कायम गरेर दैनिक क्रियाकलाप गर्नेलगायतका प्रशासनको १२ बुँदे जारी आदेश पालना भएको छैन ।


सङ्क्रमणको दर भने दैनिक उकालो लाग्दै गएको छ । वीरेन्द्रनगरमा बिहीबार मात्र १३७ कोरोना परीक्षण गर्दा १०५ मा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यद्यपि धेरैले कोभिड परीक्षण गरेका छैनन् । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका अनुसार बिहीबार कर्णालीमा ३२७ मा गरिएको कोरोना परीक्षणमा ११२ मा सङ्क्रमण पुष्टि भएको छ । 

 सङ्क्रमणदर बढ्दै जाँदा भने बजारमा प्राप्त हुने खाद्यवस्तु, औषधिलगायतका मानव जीवनका दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव बढ्न थालेको छ । यही अवस्थालाई मध्य नजर गर्दै जिप्रकाले बिहीबार सुर्खेतका मुख्य बजारमा औषधि सप्लायर्स पसलको आकस्मिक अनुगमन गरेको थियो । 

सुर्खेतका प्रशासकीय अधिकृत नन्दराम चौलागाईंको नेतृत्वको टोलीले वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेतस्थित मुख्य बजारमा रहेको राम मेडिसीन डिस्ट्रिब्युटर एण्ड सर्जिकल सप्लायर्स, केडी फार्मेसी र सिनर्जी फार्मेसीसहितका औषधि सप्लायर्सका पसल अनुगमन गर्‍यो ।

यसक्रममा बजारमा सिटामोलको अभाव भएको पाइएको छ । 'अनुगमन गर्दा राम मेडिसीन डिस्ट्रिब्युटर एण्ड सजिकल सप्लायर्स र केडी फार्मेसीमा सिटामोल ब्राण्डको औषधि नै भेटिएन', प्रशासकीय अधिकृत चौलागाईंले भने, 'दुवै सप्लायर्समा मात्र कोडोपार ब्राण्डको औषधि छ जुन सिटामोलको मूल्यभन्दा पाँच रुपैयाँ बढी पर्छ ।' सिनर्जी फार्मेसीमा भने २८३ स्टिम अर्थात् दुई हजार ८३० ट्याब्लेट सिटामोल पाइएको उनले जानकारी दिए । 

केडी फार्मेसीका प्रोपाइटर दानबहादुर रोकायले सिटामोल बजारमा प्रतिट्याब्लेटको मूल्य एक हुँदा कोडोपार छ-सातमा बजारमा बिक्री हुने गरेको बताए । मिश्रित आइटमले कोडोपार अलि बढी मूल्य तर सिटामोल कम मूल्यको भएकाले मूल्यकै कारण उत्पादक कम्पनीले नै बजारमा सिटामोलको अभाव देखाएको प्रोपाइटर रोकायले बताए ।

'कोडोपारमा प्यारासिटामोल र कोडिन फस्टेड मिश्रित हुन्छ', उनले भने, 'सामान्यतः ज्वरो आउँदा, टाउको दुःख यही औषधि प्रयोग गरिन्छ ।' प्रोपाइटर रोकायका अनुसार सिटामोल ब्राण्डको औषधि कोभिडको दोस्रो लहरबाट आउन छोडेको छ । सिनर्जी फार्मेसीका सुपरभाइजर सुमन केसीले आफूहरुसँग थौरै मात्रामा सिटामोल ब्राण्डको औषधि भएको र पछिल्लो समयमा कम्पनीबाट आउन छोडेको बताए । 

औषधि सप्लायर्ससँग सिटामोल नहुनुले कर्णालीमा यसको चरम अभाव देखिएको छ । सिटामोल अभावले भने उपभोक्ता एवं बिरामी ६ गुणा बढी रुपैयाँ तिरेर कोडोपार औषधि किन्न बाध्य छन् । बजारमा औषधिको मौज्दात, बिक्री अवस्था के छ र सिटामोल नआउनुको कारण के हो ? भन्ने जानकारी लिन अनुगमन गरिएको प्रशासकीय अधिकृत चौलागाईंले बताए ।

उनका अनुसार यही अवस्थालाई आधार बनाएर अब सरोकारवालाबीच समीक्षा र तेस्रो लहरको कोभिड महामारीको प्रतिकार्य, रोकथाम तथा नियन्त्रणको योजना निर्माण गरिन्छ । रासस


Author

थप समाचार
x