स्वास्थ्य

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३० स्वास्थ्यकर्मी कोभिड संक्रमित

इकागज |
माघ ९, २०७८ आइतबार १४:४३ बजे

जुम्ला - कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका ३० जना स्वास्थ्यकर्मीलाई कोभिड संक्रमण भएको छ । अस्पतालका निर्देशक डा. राजीव शाहसहित ३० जनामा संक्रमण पुष्टि भएको हो । 

प्रतिष्ठानका मेडिकल रेकर्डर मेघराज बुढाका अनुसार स्वास्थ्यकर्मी र कर्मचारी गरी अहिले ५२ जनालाई संक्रमण भइसकेको छ  । मेडिकल रेकर्डर बुढाका अनुसार लक्षण देखिएका स्वास्थ्यकर्मीलाई परीक्षण गराउने तर अन्यलाई नगराउने गरिएको छ । सबैलाई परीक्षण गराउने हो भने अस्पताल नै प्रभावित हुने हुँदा सतर्कता अपनाइएको हो । प्रतिष्ठानले गरेको पीसीआरबाट १५ जना र एन्टिजेनबाट ३७ जनामा कोभिड देखिएको हो । 


कोभिडको तेस्रो लहरयता एक सय सात जनामा कोभिड परीक्षण गरिएको थियो । जसमा एन्टिजेनबाट ९० जना र पीसीआरबाट १७ जनामा परीक्षण गरिएको बताइएको छ । त्यस्तै प्रतिष्ठानको आइसोलेशनमा चार जना व्यक्ति उपचाररत छन् ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले  स्वाथ्यकर्मीको अवस्था बुझी तत्काल  विपद् व्यवस्थापन समितिको बैठक बस्ने बताइन । उनले स्वास्थ्यकर्मी कोभिड संक्रमित भएको अबस्थामा स्वास्थ्य सेवा नै  प्रभाबित हुने हुँदा उनीहरूको अवस्था बुझ्ने बताइन । 

जुम्लामा पहिलो लहरमा ११ हजार ६ सय ६३ जनाको कोभिड परीक्षण भएको थियो । यसमध्ये चार सय ६३ जनामा संक्रमण देखिएको थियो । उस्तै दोस्रो लहरमा तीन हजार आठ सय २१ जनाको पीसीआर परीक्षण गर्दा एक हजार दुई सय २४ जनामा संक्रमण देखिएको थियो । जुम्लामा हालसम्म कोभिडका कारण २३ जनाको मृत्यु भएको जनस्वास्थ्यको तथ्यांक छ । जिल्लामा ५० हजार नौ सय ८५ जनाले कोभिडविरुद्धको पहिलो डोज खोप लगाएका छन् । पूर्ण डोज खोप लगाएका ३३ हजार ६ सय ४५ जना छन् । 


Author

थप समाचार
x