स्वास्थ्य

'मानिसहरू निष्‍फिक्री हिँडिरहेका छन्, यसले गम्भीर संकट पैदा गर्न सक्छ'

इकागज |
माघ १०, २०७८ सोमबार ९:५३ बजे

काठमाडौँ - काठमाडौँ उपत्यकालगायत मुलुकभर कोभिड संक्रमितको संख्या बढ्दै गएको छ । ओमिक्रोन भेरियन्ट पनि तीब्ररूपमा फेलिरहेको छ । संक्रमण बढे पनि विगतको तुलनामा अस्पताल भर्ना हुने संक्रमितको संख्या कम छ । भर्ना भएकाहरूको अस्पताल बसाइ पनि छोटो छ । शसस्त्र प्रहरी अस्पतालका डा. प्रविण नेपाल अहिले पनि जोखिम कम नभएको बताउँछन् । 'मानिसहरू निष्‍फिक्री केही हुँदैन भनेर हिडिरहेका छन्,' उनी भन्छन्, 'त्यस्तो सोचाइले गम्भीर संकट पैदा गर्न सक्छ ।' यसै सन्दर्भमा डा. नेपालसँग इकागजले गरेको कुराकानी:

कोभिड-१९ संक्रमितको संख्या दैनिक बढिरहेको छ । अस्पतालमा उपचार गराउन आउने संक्रमित संख्या पनि बढेको हो ?


पछिल्लो केही सातादेखि उपचार गराउन आउने संक्रमितको संख्या बढेको छ। दैनिक १० देखि १२ जना भर्ना भइरहेका छन् । भर्ना भएका संक्रमितहरू गम्भीर अवस्थाका पनि छैनन् । अधिकांश भर्ना भएका खोप लगाएकाहरू छन् ।

अस्पताल भर्ना हुने कुन उमेर समूहका बढी छन् ?

सबै उमेर समूहका मानिसहरू छन् । १० वर्ष मूनिका बालबालिकाहरूसमेत भर्ना हुने क्रम बढ्दो छ । बालबालिकामा संक्रमणको जोखिम बढ्नाले घर-परिवारमा कोही पनि संक्रमणबाट अछुतो छैनन् भन्ने हो । अहिले भर्ना भइरहेकालाई हेर्ने हो भने यसले कुनै पनि उमेर समूहका मानिसलाई छोड्दैन भन्ने संकेत दिइरहेको छ । निरन्तर बढेको संक्रमितको संख्याले दीर्घ रोगीलाई असर गर्ने देखिन्छ । बाहिर जसरी मानिसहरू निष्‍फिक्री केही हुँदैन भनेर हिडिरहेका छन् त्यस्तो सोचाइले गम्भीर संकट पैदा गर्न सक्छ ।

कोभिडको पहिलो र दोस्रो लहरमा दीर्घ रोगी बढी जोखिममा थिए । विगतको तुलनामा अहिले अस्पतालमा कस्ता प्रकृतिका मानिस छन् ?

दीर्घ रोग नभएका मानिस पनि उपचाररत छन् । तर, तुलनात्मक हिसाबले दीर्घरोगी बढी छन् । अन्य रोगका उपचार गराउन आएका मानिसहरू संक्रमित भइ कोभिड उपचार केन्द्रमा छन् । जब दीर्घ रोगीमा संक्रमण फैलन्छ तब मात्र कोभिडको असर देखिन थाल्छ । महामारीको समयमा सबैभन्दा बढी संवेदनशील हुने भनेको दीर्घ रोगी र ज्येष्‍ठ नागरिकको लागि हो । अहिले रोग प्रतिरोधात्मक क्षमता भएका मानिसहरूले हेलचक्रयाइँ गर्ने समय होइन ।

खोप लगाएका संक्रमितहरूको भर्ना हुने दर कस्तो छ ?

अधिकांश संक्रमितले पूर्ण मात्रा खोप लगाएका छन् । खोप लगाउँदैमा कोभिडबाट सुरक्षित हुने होइन । गम्भीर अवस्था नहुने र संक्रमितको अस्पताल बसाइको समय घटाउँछ । खोपलाई राम वाण मान्न सकिँदैन । यसबाट सुरक्षित रहन मुख्यतया भौतिक दूरी कायम गर्ने र जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्छ । सामाजिक दूरी तथा मास्क मुख्य साधन रहेको छ ।

अहिले भर्ना भएका संक्रमितहरूको अवस्था कस्तो छ ?

पहिले जस्तो गम्भीर भएर संक्रमित छैनन् । आइसीयू र भेन्टीलेटरमा बस्नेको संख्या एकदम न्यून छ । अक्सिजन चाहिने संक्रमितको संख्या धेरै नरहे पनि केहीलाई दिएर राखिने गरेको छ । संक्रमित भएकाहरू पनि चाँडो निको हुने गरेका छन् । अहिले अलिकति जोखिम भनेको ज्येष्‍ठ नागरिक र बालबलालिकाहरू हुन् ।

पहिलो र दोस्रो लहरमा देखिने संक्रमितमा र तेस्रो लहरमा देखिएका संक्रमितमा  कस्तो फरक पाउनुभयो ?

अहिलेका धेरै संक्रमितहरू घाटी दुख्‍ने, ज्वरो आउने,  शरीर दुख्‍ने र टाउको दुख्‍ने समस्या भएकाहरू बढी छन् । अक्सिजनको जरुरी पर्ने कमै मात्रामा आइरहेका छन् । अक्सिजन चाहिने संक्रमित नआउने पनि होइनन् । तिनीहरू सबै कमजोर र दीर्घ रोगी छन् ।

खोपकै कारण तेस्रो लहरमा कोभिडको प्रभाव घटेको हो वा यसको असर देख्‍न बाँकी छ ?

पहिलो र दोस्रो लहरलाई स्मरण गर्नुपर्ने हुन्छ । पहिलोमा पनि दीर्घ रोगी र ज्येष्‍ठ नागरिकहरू यसबाट प्रभावित बनेका थिए । अहिलेको अवस्थामा पनि दीर्घरोगी र ज्येष्‍ठ नागरिकमा देखिन्छ । यसको प्रभाव भनेको अहिले बाहिर निस्केका मानिसबाट देख्‍न सकिन्छ । तिनीहरूको घर-परिवारमा रहेका अन्य मानिसमा जब संक्रमण फैलन थाल्छ तब यसको गम्भीर्यता देखिन थाल्छ । अहिलेलाई खोपले प्रभाव पारेको छ । भाइरसलाई आफ्नो स्वरूप देखाउन दिनुहुँदैन ।  सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको मानवीय व्यवहार हो । अहिलेसम्म देखिएका प्रमाणले यो रोग सर्ने भनेको मानवीय व्यवहारले हो । जबसम्म मानिसको मानवीय व्यवहारमा परिवर्तन नभए सम्म समूदायबाट यसलाई टाढा राख्‍न सकिँदैन ।

दैनिक बढिरहेको संक्रमण कसरी नियन्त्रण गर्ने ?

भीडभाड नियन्त्रण कसरी गर्न सकिन्छ त्यसमा ध्यान दिनुपर्छ । दुई महिनापछि गर्दा हुने पनि कामलाई सारेर गर्नुपर्छ । जरुरीको कामलाई प्राथमकितामा राखौ । जरुरी भएमा बाहिर निस्कौ र मानिससँग भेट्नुपरेमा सामाजिक दूरी कायम गरौ । अनलाइनबाट गर्न सकिने कामहरूलाई इन्टरनेटको सहारा लिनुपर्छ । मुख्य कुरा भौतिक दूरी कायम गरी काम गर्ने वातावरण बन्नपर्छ । जनस्वास्थ्यको मापदण्ड पालनालाई अनिवार्य शर्त गरौ । मास्क र स्यानीटाइजरको प्रयोगमा पहिलो प्राथमिकता हुनुपर्छ ।


Author

थप समाचार
x