स्वास्थ्य

एक महिनाभित्र सूर्यविनायक नगर अस्पताल सञ्चालनमा आउने

इकागज |
माघ ११, २०७८ मंगलबार १०:१२ बजे

भक्तपुर - कोभिड संक्रमणको तेस्रो लहर आएसँगै सूर्यविनायक नगरपालिकाले आफ्ना नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न २५ शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याउने भएको छ । 

अक्सिजन प्लान्टसहित सञ्चालन गर्ने अस्पतालका लागि पाँचवटा भवनलगायतका आवश्यक पूर्वाधार निर्माण सम्पन्न भएकाले नगरपालिका अब अस्पताल सञ्चालनको तयारीमा लागेको सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिए । 


अरनिको राजमार्गसँगै जोडिएको सूर्यविनायक नगरपालिका–८ जगाती चोकस्थित भक्तपुर इँटा तथा टायल कारखानाले प्रयोग गर्दै आएको नेपाल सरकारको २५ रोपनी क्षेत्रफलमा अस्पताल सञ्चालनका लागि भवन निर्माणलगायतका पूर्वाधार निर्माण सम्पन्न गरेको उनले जानकारी दिए । 

नगरप्रमुख थापाले भने, `हामी निर्वाचित भएर आएपछि चुनावमा गरेका सबै घोषणा पूरा गरेका छौँ, दुर्गम मानिएको गाउँ–गाउँमा सडक, खानेपानी, सामुदायिक भवन, विद्यालय भवन, स्वास्थ्यचौकी पुर्‍याउने काम सम्पन्न गरेका छौँ, अब आफ्नै नगर अस्पताल सञ्चालन गर्ने धोको पूरा भएको छ, अबको एक महिनाभित्र अस्पताल सञ्चालनमा ल्याउँछौँ, हाम्रा जनताले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था नआओस् भनेर लागिरहेका छौँ ।`

नगरपालिकाले अस्पताल सञ्चालनसँगै बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्दै चुस्त व्यवस्थापनका लागि केही महिना अगाडि मात्रै टेकु अस्पतालबाट अवकाशप्राप्त विशेषज्ञ डा सागर राजभण्डारीलाई अस्पतालको निर्देशकका रूपमा नियुक्ति दिएर अस्पतालमा काम सुरु गरेको उनले जानकारी दिए । 

अस्पतालको प्रशासनिक भवन, आकस्मिक कक्ष, आइसीयू तथा भेन्टिलेटर कक्ष, एचडीयू, ओपिडी, जनरल वार्डलगायतका संरचना निर्माण सम्पन्न भएर अस्पतालको कम्पाउण्डभित्र कालोपत्र गर्ने तयारी भइरहेको अस्पताल निर्माण समितिका संयोजक एवं वडा नं ८ का वडाध्यक्ष किरण थापाले जानकारी दिए ।  रासस


Author

थप समाचार
x