सुदूरपश्चिममा बढ्दै कुष्ठरोगका बिरामी
कैलाली - सरकारले २०६६ माघ ५ गते नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो। तर, उक्त घोषणालाई चुनौती दिदै सुदूरपश्चिम प्रदेशमा कुष्ठरोगीहरूको संख्या दिनानुदिन बढ्दो पाइएको छ ।
सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा नै वर्षेनि नयाँ कुष्ठरोगी पहिचान हुने क्रम जारी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाएको छ। प्रदेशमा वर्षेनि दुई सयदेखि तीन सय नयाँ कुष्ठरोगीहरूको पहिचान भइरहेको तथ्याङ्कमा देखाइएको छ।
सुदूरपश्चिम प्रदेशमा अघिल्लो आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा कुष्ठरोगीहरूको सङ्ख्यामा केही कमी आए पनि गत आर्थिक वर्ष २०७७/७८ देखि पुनः कुष्ठरोगीहरूको सङ्ख्यामा बृद्धि हुँदै गएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार गत आर्थिक वर्षमा प्रदेशमा २०८ जना नयाँ कुष्ठरोगीका बिरामी फेला परेका थिए।
गत आर्थिक वर्षमा कैलाली र कञ्चनपुरका दुई/दुई र अछामका एक जना गरी पाँच जनामा कुष्ठरोग पुनः बल्झिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। चालू आर्थिक वर्षको पुस मसान्तसम्म प्रदेशमा ८६ जना नयाँ कुष्ठरोगीहरू फेला परिसकेका छन।
स्वास्थ्य निर्देशनालय दिपायलले उपलब्ध गराएको तथ्यांक अनुसार कैलालीमा सबैभन्दा बढी ५२ जना नयाँ कुष्ठरोगीहरू फेला परेका छन्। त्यस्तै कैलाली पछि अछाममा १६, कञ्चनपुरमा १२, डोटीमा तीन, बझाङ, बाजुरा र डडेल्धुरामा एक/एक जना नयाँ बिरामी फेला परेका छन् ।
नयाँ विरामी फेला परेकामध्ये ४९ जना महिलाहरू रहेका छन् । त्यस्तै ४ जनामा पुनः रोग बल्झिएको तथ्याङ्कमा उल्लेख छ। स्वास्थ्य निर्देशनालयका अनुसार यस अवधिमा प्रदेशका विभिन्न अस्पतालमा २४९ जना कुष्ठरोगीहरूले उपचार गराइरहेका छन् । त्यस्तै, ११ जनामा विभिन्न किसिमका शाररिक अपाङ्गता समेत देखिएको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया