स्वास्थ्य

कुन प्रदेशमा कति छ खोप ?

सबैभन्दा बढी कोभिशिल्ड खोप, चीनबाट ४० लाख ल्याइदैँ

अतिन आचार्य |
माघ १७, २०७८ सोमबार १९:४ बजे

काठमाडौँ- नेपालमा खोप अभियान सुरु भएको एक वर्ष पुगिसकेको छ । गत वर्षको माघ १४ गतेबाट खोप लगाउन सुरु गरिएको थियो । कोभिडविरुद्धको पहिलो र दोस्रो मात्रा लगाइसक्दा सरकार बुस्टर अभियानमा पनि लागिसकेको छ ।

नेपालले खरिद र अनुदानमा प्राप्‍त खोपले हालसम्म ३ करोड १२ लाख ४३ हजार ५ सय तीन मात्रा खाेप वितरण भैसकेकाे छ । सरकारले बुस्टर डोजको घोषणा गरेपछि केही दिन यता काठमाडौँ उपत्यका लगायत मुलुकभरका विभिन्‍न स्थानमा खोप लगाउने मानिसको लाइन देख्‍न सकिन्छ । यतिखेर बुस्टरको रुपमा कोभिशिल्ड र जोनसन एण्ड जोनसन पाइरहेका छन् ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार दिनभित्र खोप लगाएको तथ्यांक र मौज्दातको विवरण पठाउन निर्देशन दिएको छ । खोप अभिलेख सम्बन्धमा छानबिन समितिको आइतबार बसेको पहिलो बैठकले देशभरि मौज्दात खोपको विवरण पठाउन आग्रह गरेको छ । तथ्यांकमा केही खोप हराएको आशंका गरिएकाले छानबिन समिति बनाएर माघ २१ सम्म प्रतिवेदन बुझाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिइसकेकाे छ ।

त्यसैगरी यो समाचार तयार पार्दासम्म मुलुकभरको केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहको भण्डारणमा गरेर कोभिडविरुद्धको खोप कुल ७२ लाख ८९ हजार ९८५ मात्रा छन् । सबैभन्दा बढी मौज्दातमा कोभिशिल्ड खोप छ । कोभिशिल्ड धेरै भएकाले बुस्टर र पहिलो मात्राको लागि उक्त खोप लगाउनसमेत थालिएको छ ।  

स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाकाअनुसार भेरोसेल ६ लाख, जोनसन एण्ड जोनसन ५ लाख २७ हजार, अष्‍ट्राजेनिका १२ लाख २५ हजार ४ सय, कोभिशिल्ड ३० लाख ७१ हजार, मोर्डना १५ लाख ८ हजार ४३० र फाइजर ३ लाख ५३ हजार मात्रा रहेको छ ।

प्रदेश १ भण्डारमा २ लाख ९० हजार ८१५, मधेश प्रदेशमा ६ लाख ६८ हजार ४००, बागमती प्रदेशमा ११ लाख ४३ हजार ६४५, गण्डकी प्रदेशमा १ लाख २४ हजार ५, लुम्बिनी प्रदेशमा ८ लाख ३७ हजार ४३१, कर्णाली प्रदेशमा ९८ हजार ४३१ र सुदूर पश्‍चिमको भण्डारमा २ लाख ७६ हजार एक सय १० खोप मात्रा रहेको छ ।

मुलुकभरको खोप भण्डार केन्द्रमा भेरोसेलकोमा मात्रा कम रहेका महाशाखाक प्रमुख डा. सुरेश चौरसियाले बताए । उनले भने,' पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा उपलब्ध गराउन सिमित खोप छ । बुस्टरको रुपमा पहिलो मात्रा भन्दै खोप लगाउँदा मौज्दातमा कमी देखिएको हो ।'

चीनले नेपाललाई सिनोभ्याकको ४० लाख मात्रा उपलब्ध गराउन लागेको चौरसियाले जानकारी दिए । पहिलो चरणमा खोप माघको तेस्रो सातासम्ममा नेपाल ल्याइ पुर्‍याइने भनिए मिति तय हुन नसकेको उनले प्रस्ट पारे ।

कोभिशिल्डलाई बुस्टरको रुपमा मात्रा लगाउन थाल्दा खोप अभाव हुन सक्‍ने उनको भनाइ छ । अभाव नहोस भनेर खरिद प्रक्रिया पनि अगाडि बढाइसकेको उनले जानकारी दिए । 'अनुदानमा प्राप्‍त भएसम्म खोपको सहयोग लिनेछौ,' उनले भने ।

बालबालिकालाई लगाउने फाइजर र मोर्डना दुवै खोपको खरिद प्रक्रिया अगाडि बढिसकेको उनले बताए । चैतसम्ममा ५ देखि १२ वर्षसम्मका बालबालिकालाई खोप लगाउन ८४ लाख खोप खरिद गरिने उनको भनाइ छ । 'खरिद प्रक्रिया पनि अगाडि बढिसकेको छ,' डा. चौरसियाले भने ।

 

 

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x