स्वास्थ्य

दक्षिण कोरियामा दैनिक सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै धेरै

इकागज |
माघ १९, २०७८ बुधबार १६:७ बजे

फाइल तस्बिर

(रासस/सिन्ह्वा) - दक्षिण कोरियामा कोभिडबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीनुसार पछिल्लो एक दिनमा दक्षिण कोरियामा २० हजार २७० जना नयाँ सङ्क्रमित भएका हुन् ।

कोभिडको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण तीव्र रुपमा फैलिएकाले दैनिक सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै धेरै भएको जनाइएको छ । यसअघि एक दिनमा १८ हजार ३४२ जना कोभिडभाइरसबाट सङ्क्रमित भएको विवरण सार्वजनिक गरिएको थियो । दैनिक सङ्क्रमितको सङ्ख्या २० हजार नाघेको बुधबार पहिलो पटक हो ।


दक्षिण कोरियामा कोभिडबाट अहिलेसम्म सङ्क्रमितहरुको कुल सङ्ख्या आठ लाख ८४ हजार ३१० पुगेको छ । नयाँ सङ्क्रमित मध्ये चार हजार १८६ जना राजधानी सोलमै भेटिएका हुन् । भाइरसको फैलावट ग्रामिण क्षेत्रमा पनि धेरै भएको अधिकारीहरुले जनाएका छन् । अहिले सङ्क्रमित अवस्थामै रहेकाहरु मध्ये २७८ जनाको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार भइरहेको जनाइएको छ ।कोरियामा पछिल्लो एक दिनमा कोभिडका कारण १५ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कुल मृतकको सङ्ख्या छ हजार ७८७ पुगेको छ । 


Author

थप समाचार
x