स्वास्थ्य

खोप खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुनेछ : स्वास्थ्यमन्त्री त्रिपाठी

‘स्वास्थ्य सामाग्री पनि राजनीतिक हुन पुग्यो’

इकागज |
पुस २७, २०७७ सोमबार १६:४६ बजे

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोराना भाइरसविरूध्दको खोप ल्याउन सरकारले सम्पूर्ण तयारी गरिसकेको जानकारी दिएका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री त्रिपाठीले सम्बन्धित देशका सरकार र सम्बन्धित निकायसँग समन्वय गरेर खोप ल्याउन पहल गरिरहेको बताए । छिमेकी मुलुकहरू सँगसँगै नेपालमा खोप आइपुग्ने भन्दै उनले रूस, भारत र युएईका राजदूतहरूसँग कुरा गरेको बताए ।

‘खोप ल्याउने सम्बन्धमा नीतिगत काम भइसकेका छन्,’ उनले भने, ‘खोपको प्राप्ती अन्य व्यवसायिक बस्तुजस्तो रहेनछ । यो राजनीतिक बस्तुको रुपमा देखा पर्‍याे । स्वास्थ्य सामग्री पनि राजनीतिक सामग्री हुन पुग्यो । केही निश्चित देशमा यसको विकास भएको छ । हामीले जहाँ विकास भएको त्यो सरकारसँग निकटतम सम्बन्ध राखेर अघि बढाइरहेका छौ ।’


सरकार गम्भीर भएर लागिरहेको बताउँदै छिमेकी देशभन्दा नेपालमा खोप ल्याउन धेरै ढिलो नहुने उनले बताए । खोप खरिद प्रक्रिया पूर्ण पारदर्शी र वितरण न्यायपूर्ण हुने उनले प्रतिवद्धता जनाए । ‘खरिद प्रक्रिया पूर्णत पारदर्शी हुनेछ,’ उनले भने, ‘वितरण न्यायपूर्ण हुनेछ । विकृतिको आशंका झुटो सावित गर्छौ ।’

मन्त्री त्रिपाठीले पहिलो चरणमा तीन प्रतिशत स्वास्थ्यकर्मी, त्यसपछि ५५ वर्षभन्दा माथि उमेर समूहका वृद्धवृद्धा र अर्को २० प्रतिशत जनसंख्यालाई पहिचान गरी खोप वितरण गरिने जानकारी दिए । 

भ्याक्सिनका लागि १६ हजार खोपकेन्द्र परिचालन गरिने र ५ हजार कर्मचारीको व्यवस्था समेत उनले जानकारी दिए । भ्याक्सिन ल्याउन कानुनी रूपमा जटिलता निराकरण गरिएको र अर्थले मन्त्रालयले रकम सुनिश्चितता गरेको उनको भनाइ छ ।
 


Author

थप समाचार
x