स्वास्थ्य

सङ्क्रमणसँगै घट्यो प्रतिबन्ध

इकागज |
माघ २६, २०७८ बुधबार २०:५१ बजे

बागलुङ - कोभिड–१९ सङ्क्रमणको जोखिमले महिना दिनदेखि बन्द रहेका यहाँका शैक्षिक संस्था आउँदो फागुन १ गतेदेखि खुल्ने भएका छन् । जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनस्वास्थ्य मापदण्ड पालना गरी विद्यालय, क्याम्पस, ट्युसन केन्द्रलगायत सबैखाले शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेको हो ।

सोही निर्णय र सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले फागनु १ गतेदेखि शैक्षिक संस्था सञ्चालन गर्न पाइने गरी आज आदेश जारी गरेको छ । १२ वर्षमुनिका बालबालिकाले पढ्ने कक्षा सञ्चालन गर्दा भने आलापालो प्रणाली अपनाउन भनिएको छ । त्यो उमेर समूहका बालबालिकाले कोभिड–१९ विरुद्धको खोप पाएका छैनन् ।


विद्यार्थी सङ्ख्या हेरेर सम्बन्धित स्थानीय तहको समन्वयमा विद्यालयले आलोपालो गरी कक्षा सञ्चालन गर्नसक्ने जनाइएको छ । सबै तहका रोकिएका परीक्षा पनि जनस्वास्थ्य मापदण्ड अपनाई सोही मितिदेखि गर्न सकिने आदेशमा उल्लेख छ । केन्द्रले कोभिड–१९ को घट्दो जोखिमलाई दृष्टिगत गरी यसअघि लगाइएका प्रतिबन्धलाई पनि केही खुकुलो पारेको छ ।

अबदेखि चलचित्र घर, जिमखाना, फुटसल आदि पनि राति १० बजेसम्म खोल्न पाइने भएको छ । होटल, रेष्टुराँलगायतका व्यापार, व्यवसाय पनि जनस्वास्थ्य मापदण्ड पालना गरी निर्वाधरूपमा सञ्चालन हुने भएका छन् । यसअघि किनमेल केन्द्रमा एकपटकमा २५ जनाभन्दा बढी छिर्न नपाइनेमा अहिले त्यो सङ्ख्या बढाएर ५० पुर्‍याइएको छ । 

पार्टी प्यालेस पनि आधा क्षमतामा सञ्चालन गर्न पाइने गरी प्रावधान खुकुलो पारिएको छ । पहिले विवाह, व्रतबन्धलगायत धार्मिक तथा सांस्कृतिक अनुष्ठानमा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने नियम थियो । अब जनस्वास्थ्य मापदण्ड पालना गरी १०० जनासम्म भेला हुन पाउनेछन् ।

धार्मिकस्थलमा नित्य पूजाआजा मात्र गर्न पाइने पुरानो प्रावधान हटाएर एकपटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजापाठ, ध्यान आदि गर्न पाइने नयाँ प्रबन्ध गरिएको छ । यस्तै सार्वजनिक सेवा लिनका लागि साथमा खोप कार्ड लिएर हिँड्न केन्द्रले जनसाधारणमा आग्रह गरेको छ । 

आमसभा, जुलुस, मेला, महोत्सव जस्ता धेरै मानिसको भीडभाड हुने क्रियाकलापमा भने प्रतिबन्ध कायमै छ । पछिल्ला दिनमा कोरोना सङ्क्रमणको दर ओरालो लागेपछि यसअघि तोकिएका मापदण्ड खुकुलो पारिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयको आँकडाअनुसार हाल यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या जम्मा १८७ छ । जबकि केही साताअघि त्यो सङ्ख्या ५०० माथि पुगेको थियो । आज छ जना सङ्क्रमित थपिए भने ४५ जना कोरोनामुक्त भए । सङ्क्रमितको सङ्ख्या दैनिक घटिरहेको कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताए।


Author

थप समाचार
x