वीपी प्रतिष्ठानका पदाधिकारीले दैनिक काम गर्न पाउने
फाइल तस्बिर
काठमाडौँ- धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी,अस्पताल निर्देशक प्राडा गौरिशंकर साह र शिक्षाध्यक्ष प्रा.डा. गुरु खनालले काम गर्न पाउने भएका छन् । सर्वोच्च अदालतले उनीहरूको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले काममा फर्कन आदेश दिएको हो ।
अदालतले दुवैपक्ष राखेर छलफल गर्न विपक्षीलाई पनि बोलाउन आदेश गरेको छ । यस्तै अब स्वास्थ्य मन्त्रालयबाट प्रतिष्ठानमा पठाइएका डा. श्यामसुन्दर यादवको सट्टामा हाललाई प्रतिष्ठानका पदाधिकारीलाई नै काम गर्न दिनु भन्ने आदेश उल्लेख छ । अदालतको आदेशसँगै दैनिक काम, कर्तव्य र अधिकार प्रयोग गर्न वीपी प्रतिष्ठानका पदाधिकारीहरुले पाउने भएका छन् ।
सरकारले बहालवाला पदाधिकारीहरू, उपकुलपति, शिक्षाध्यक्ष र अस्पताल निर्देशकलाई काम गर्न रोक लगाई प्रतिष्ठानको स्वायत्त अधिकारमा हस्तक्षेप गरी आफूहरूको अधिकार खोसेको भन्दै अदालत पुगेका थिए । सरकारले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति लगायतका पदाधिकारीलाई कामकाजमा रोक लगाएको थियो ।
पदाधिकारीका स्थानमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. श्याम सुन्दर यादवको टोलीलाई पठाएको थियो । डा. यादवसँगै प्रतिष्ठानको आर्थिक तथा खाता सञ्चालन गर्न सुनसरीस्थित कोष तथा लेखा निन्त्रणक कार्यालय प्रमुख चिरञ्जीवी अधिकारी पनि प्रतिष्ठानमा गएका थिए ।
उनीहरुले प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशकले गर्ने काम गर्ने छन् । मन्त्रिपरिषदको पुस ३० गतेको बैठकले प्रतिष्ठान सञ्चालन तथा प्रतिष्ठानको दैनिक प्रशासनिक कार्य सञ्चालन गर्न डा यादवको टोली पठाउने निर्णय गरेको थियो ।
पटक-पटक छानबिन समिति गठन गरेर प्रतिवेदन दिए पनि पछिल्लो पटक भने प्रतिष्ठानका सहकुलपति समेत रहने स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडाको संयोजकत्वमा छानबिन समिति बनेको थियो ।
समितिले प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरुप्रसाद खनाल, अस्पताल निर्देशक डा. गौरीशंकर शाह र तत्कालिन रजिस्ट्रार डा. मोहनचन्द्र रेग्मीले आर्थिक अनियमितता गरेको निष्कर्ष निकालेको थियो । छानबिन हुनु अगाडि रजिस्ट्रार रेग्मीले भने राजीनामा दिएका थिए।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया