स्वास्थ्य

राप्ती स्वास्थ्य प्रतिष्ठानको उपकुलपतिमा लामिछाने नियुक्त

इकागज |
फागुन १०, २०७८ मंगलबार १८:५५ बजे

काठमाडौं – दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. विकास लामिछाने नियुक्त भएका छन् । प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले डा. लामिछानेलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

उनले प्रधानमन्त्रीसमेत रहेका कुलपति देउवाबाट उपकुलपतिमा नियुक्त भएको पत्र मंगलबार बुझेका छन् । उनले बुधबारदेखि जिम्मेवारी सम्हाल्ने बताएका छन् ।


स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं राप्ती प्रतिष्ठानका सहकुलपति विरोध खतिवडा नेतृत्वको सिफारिस समितिले उपकुलपति नियुक्तिका लागि तीनजनाको सिफारिस गरेको थियो ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला र स्वास्थ्य सचिव डा. रोशन पोखरेल सदस्य रहेको सिफारिस समितिले ऋषिकेश नारायण श्रेष्ठ, विकास लामिछाने र नारायणविक्रम थापाको नाम सिफारिस गरेको थियो । प्रतिष्ठानको उपकुलपतिका लागि १६ जनाले आवेदन दिएका थिए ।


Author

थप समाचार
x