गर्भवती हुनुहुन्छ ? दुई पाङ्ग्रेको विकल्प छैन भने यसो गर्नुहोस्
प्रेग्नेन्सी रिपोर्ट पोजेटिभ आएपछि भक्तपुर गठ्ठाघरकी रोजिना लोहलाको मनमा सबैभन्दा पहिला उब्जिएको प्रश्न हो- अब स्कुटर वा बाइक चलाउन मिल्ला कि नमिल्ला ? यो उनी जस्ता थुप्रै गर्भवतीहरूको सवाल हो ।
डेलिभरी डेट नजिकिएपछि मात्रै रोजिनाले अफिसमा छुट्टी पाउँछिन् । अहिलेलाई अफिस आवतजावत गर्न दिनको दुईघण्टा यात्रा गर्नुपर्छ । यसअघि उनी स्कुटरमै घर-अफिस गरिरहेकी थिइन् । गर्भवती भएपछि भने उनलाई स्कुटरको यात्रा जोखिमपूर्ण लाग्न थालेको छ । तर, यसबारे उनले डाक्टरलाई सोधेकी भने छैनन् । ‘केही साथीहरूलाई यो विषयमा सोधेको थिएँ,’ उनले भनिन्, ‘गर्भवतीअनुसार डाक्टरले दिने सल्लाह फरक-फरक हुँदो रहेछ । कसैले चढ्दा हुन्छ भन्नुहुँदो रहेछ कसैले हुँदैन भन्नुहुँदो रहेछ ।’
केही चिकित्सकहरू कामकाजी गर्भवतीहरूले सडक राम्रो र सुरक्षित भएमा स्कुटर चलाउँदा केही फरक नपर्ने बताउँछन् । तर, नेपालका सडकमा भीडभाड हुनु र खाल्डाखुल्डी हुनु अनौठो नहुने भएको छ । यस्तो सडकमा ड्राइभ गर्दा गर्भमा असर पर्न सक्छ । दुई पाङ्ग्रे सवारी आफैँले चलाए पनि पछाडि बसे पनि जोखिम हुने चिकित्सकहरू बताउँछन् । तुलनात्मक रूपमा दुई पाङ्ग्रेभन्दा सुरक्षित र सजिलो चार पाङ्ग्रे सवारी हुन्छ । चिकित्सकहरू पनि यस्तो अवस्थामा चार पाङ्ग्रे नै चढ्ने सुझाव दिन्छन् ।
वरिष्ठ प्रजनन स्वास्थ्य विशेषज्ञ डा. तुम्ला शाह गर्भावस्थामा दुई पाङ्ग्रे सवारी चढ्न/चलाउन नहुने बताउँछिन् । उनका अनुसार गर्भवती भएको तीन महिनासम्म आराम गर्नुपर्छ । एकदमै धेरै विचार पुर्याउनुपर्छ । गर्भावस्थामा दुई पाङ्ग्रे सवारी चलाउँदा पेटको बच्चा खेर जाने सम्भावना हुने भएकाले होस पुर्याउनुपर्ने उनी बताउँछिन् ।
‘आफैँले ड्राइभ नगरे पनि गर्भवती हुँदा दुई पाङ्ग्रे सवारीमा लामो यात्रा गर्नुहुँदैन,’ उनी भन्छिन् । गर्भावस्थामा महिलाहरूले आफ्नो जीवनशैलीमा केही परिवर्तन गर्नुपर्ने उनी बताउँछिन् । यस्तो बेला गर्भवती महिलाले आफ्नो स्वास्थ्यसँगै सुरक्षाको पनि थप ख्याल राख्नुपर्छ ।
गर्भावस्था बढ्दै जाँदा स्कुटर वा बाइकमा आफ्नो वजन ह्यान्डल गर्न गाह्रो हुन सक्छ । नियन्त्रण, सन्तुलन, स्टेयरिङ घुमाउन धेरै गाह्रो हुन सक्छ । दुई पाङ्ग्रे सवारी चलाउँदा गर्भवती महिलाले सन्तुलन गुमाएर खस्ने सम्भावना बढी हुन्छ । त्यसैले, गर्भावस्थामा डाक्टरहरूले गर्भवती महिलाहरूलाई दुई पाङ्ग्रे सवारी चढ्ने सल्लाह दिँदैनन् । तर, कतिपयका लागि यो बाध्यता हुन्छ ।
गर्भवती हुनुहुन्छ र स्कुटर-बाइकमा यात्रा गर्नुहुन्छ भने निम्न सावधानी अपनाउनुहोस् :
- सधैँ हेलमेट लगाउनुहोस् (चाहे आफैँले चलाएको होस् वा अरुले चलाएको होस्) ।
- ट्राफिक जाम हुने भीडभाड ठाउँमा यात्रा नगर्नुहोस् ।
- आफूले यात्रा गर्ने सडकको नजिकै अस्पताल वा क्लिनिकहरू छन्/छैनन् सचेत रहनुहोस् ।
- चक्कर आइरहेको वा अस्वस्थ महसुस भएको बेला स्कुटर वा बाइक नचलाउनुहोस् ।
- वर्षायाममा दुई पाङ्ग्रेमा यात्रा नगर्नुहोस् । यस्तो बेला सडकहरू जलमग्न, हिलो र चिप्लो हुने भएकाले स्कुटर-बाइक चिप्लिन सक्छ । पानीले खाडलहरू छोप्ने भएकाले दुर्घटनाको सम्भावना हुन्छ ।
- कुहिरो लागेको मौसममा पनि स्कुटर वा बाइकमा बाहिर निस्किनु गर्भवतीका लागि असुरक्षित हुन सक्छ ।
- बेलुका वा राति अबेरसम्म यात्रा नगर्नुहोस् ।
- नयाँ वा लामो बाटो यात्रा नगर्नुहोस्, परिचित, छोटो दूरी रोज्नुहोस् ।
- सेल्फस्टार्ट नहुने किक स्टार्ट गर्नुपर्ने स्कुटर लिएर नहिँड्नुहोस् ।
- मोड र स्पिड ब्रेकरहरूमा विशेष ध्यान दिनुहोस् ।
- तीव्र गतिमा नचलाउनुहोस्, ओभरटेक नगर्नुहोस् ।
- डाक्टरसँग बारम्बार परामर्श लिनुहोस् ।
- स्कुटर वा बाइकमा यात्रा गर्दा एकतर्फ खुट्टा राखेर नबस्नुहोस् ।
सावधानी अपनाउँदा अपनाउँदै पनि दुर्घटना हुने भएकाले गर्भावस्थामा सकेसम्म चार पाङ्ग्रे सवारी नै सुरक्षित हुन्छ । धेरै डाक्टरहरू यस्तो अवस्थामा सार्वजनिक सवारी चढ्ने सल्लाह दिन्छन् । त्यस्तै, घर र अफिस नजिकैको दूरीमा हुँदा हिँडेरै अफिस आवतजावत गर्नुपर्छ । अफिसले अनुमति दिएको अवस्थामा घरबाटै पनि काम गर्न सकिन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया