स्वास्थ्य

भारतबाट १० लाख डोज कोभिड खोप आज आउँदै

इकागज |
माघ ८, २०७७ बिहीबार ६:५८ बजे

काठमाडौं : भारतले अनुदानमा दिने १० लाख डोज कोभिड १९ खोप आज काठमाडौं आउँदैछ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अनुदानमा खोप दिने घोषणा गरेको भारतले बिहीबार नै काठमाडौंमा खोप उतार्न लागेको हो ।

एयर इन्डियाको विमानबाट कोभिडविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट टेकुमा रहेको स्वास्थ्य सेवा विभागमा लगेर १० लाख डोज खोप भण्डारण गरिनेछ ।


विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाउने तयारी गरिएको मन्त्रालयले जनाएको छ । सेरम इन्स्टिच्युट अफ इन्डिया र अक्सफोर्ड/एस्ट्राजेनेकाले उत्पादन गरेका खोप भारतले तत्कालै नेपाललाई दिन लागेको हो । पहिलो चरणमा स्वास्थ्य र सुरक्षाकर्मीलाई प्राथमिकताका साथ खोप वितरण गर्ने तयारी सरकारको छ ।

भारतले नेपालसहित भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मारलाई पनि अनुदानमै खोप उपलब्ध गराउने घोषणा गरेको छ ।


Author

थप समाचार
x