स्वास्थ्य

कोभिडविरुद्धको खोप आजदेखि सुरु, कहाँ कहाँ लगाइन्छ ?

इकागज |
माघ १४, २०७७ बुधबार ७:५४ बजे

काठमाडौँ : सरकारले कोभिड-१९ विरुद्धको खोप अभियान आजदेखि सुरु गर्दैछ । भारतले अनुदानमा दिएको १० लाख डोज कोभिड-१९ विरुद्धको खोप सरकारले आजदेखि ‘फ्रण्टलाइनर’बाट सुरु गर्न लागेको हो ।

पहिलो चरणमा आज स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने स्वयंमसेवी, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, सरसफाइकर्मी र एम्बुलेन्स चालकलाई खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


खोप अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले १० बजे उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले उद्घाटन गरेपछि काठमाडौँ उपत्यकाका १७ र प्रदेशमा १२० केन्द्रबाट खोप लगाउन शुरु गरिने मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । 


काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा कोभिड-१९ विरुद्धको खोप लगाउने स्थान तोकिएको छ । काठमाडौँमा वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु,  आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल कीर्तिपुरमा खोप लगाइनेछ ।

यस्तै परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौं मेडिकल कलेज जोरपाटी, सशस्त्र प्रहरी अस्पताल बलम्बु, शहीद गंगालाल अस्पताल बाँसबारीमा पनि ‘फ्रण्टलाइनर’ले कोभिड-१९ विरुद्धको खोप लगाउनेछन् । 

यस्तै पाटन अस्पताल ललितपुर र भक्तपुर अस्पताल भक्तपुर र शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा पनि खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

खोप लगाउनका लागि सरकारले सबै प्रदेशमा खोप पुर्‍याइसकेको छ । स्वास्थ्यकर्मीमध्ये पहिलो खोप सरुवा अस्पताल टेकुका प्रमुख डाक्टर सागरराज भण्डारीले लगाउने घोषणा गरेका छन् ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालय, बेलायतकै खोप निर्माण कम्पनी एष्ट्रजेनिका र भारतको सेरम कम्पनीले बनाएको ‘कोभिशिल्ड’ खोप सरकारले गएको हप्ता भारतबाट काठमाडौँ ल्याएको हो । परीक्षणकै चरणमा रहेको यो खोप ७० देखि ९० प्रतिशतसम्म प्रभावकारी रहेको अध्ययनले देखाएको छ । 
 


Author

थप समाचार
x