स्वास्थ्य

एपिएफ अस्पताल र मानवसेवा आश्रमबीच  उपचारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

इकागज |
माघ १८, २०७७ आइतबार २०:३६ बजे

काठमाडौँ  :  नेपाल एपिएफ अस्पताल र मानवसेवा आश्रमबीच स्वास्थ्य उपचारसम्बन्धी सहमति भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित समारोहमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र मानवसेवा आश्रमका संरक्षक डा गोविन्द टन्डनको उपस्थितिमा आश्रम र अस्पतालबीच सम्झौता भएको हो । माघ ९ गते २०औँ सशस्त्र प्रहरी दिवस २०७७ का अवसरमा आयोजित समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले कल्याणकारी योजनामार्फत आश्रममा संरक्षित व्यक्तिलाई नेपाल एपिएफ अस्पतालमा निःशुल्क उपचार गर्ने घोषणा गरेका थिए ।  


समारोहमा मानवसेवा आश्रमका संरक्षक डा टन्डनले पवित्र कार्यका लागि सशस्त्र प्रहरी बललाई धन्यवाद दिए । एपीएफ अस्पतालमा उपलब्ध आकस्मिक बहिरङ्ग, साधारण तथा विशेषज्ञ ओपिडी, अन्तरङ्ग सेवाअन्तर्गतका वार्ड सबै, आइसीयु, एचसियु एचडियु, माइनर तथा मेजर अप्रेशन सेवा, प्याथोलोजी सेवा निःशुल्क उपलब्ध हुनेछन् । 
    
रेडियोलोजीअन्तर्गत एक्स-रे, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राफी तथा फिजियोथेरापी सेवाका साथै आइसीयू र डाइलासिसका लागि प्रयोग हुने अस्पतालमा उपलब्ध औषधिहरू, मुटुरोग, मिर्गौला रोग मधुमेह आदि भई आजीवन औषधि सेवन गर्नुपर्ने बिरामीका लागि अस्पतालमा उपलब्ध औषधिसमेत निःशुल्क उपलब्ध गराइनेछ । 

अस्पतालमा अक्सिजन प्लान्ट रिफिल सिस्टम जडान भई चालू हालतमा रहेको अवस्थामा आश्रमका बिरामीलाई प्रयोग हुन सक्ने अक्सिजन सिलिन्डर उपलब्ध भएमा निःशुल्क रिफिलिङ र आश्रमको सिफारिसमा काठमाडौँ उपत्यकाभित्र निःशुल्क एम्बुलेन्स सेवा तथा शववाहन सेवा, अस्पतालबाट खरीद गरिएका औषधि निःशुल्क प्रदान गरिने सम्झौतामा उल्लेख छ । 
 


Author

थप समाचार
x