स्वास्थ्य

कर्णालीमा सुत्केरीको अवस्था : कलिलैमा ज्यान गुमाउँछन् आमाहरु

लक्ष्मी भण्डारी |
माघ २१, २०७७ बुधबार १३:३० बजे

गुर्भाकोटस्थित स्वास्थ्य चौकीबाट प्रसुति सेवा लिएपछि सुत्केरीलाई डोकोमा राखेर घर लगिँदै ।

सुर्खेत :  कालीकोटको रास्कोट नगरपालिका-२ की २८ वर्षीया सीरा सार्की सुत्केरी हुँदा अत्यधिक रक्तश्राव भयो । गएको भदौ ९ गते सिराले चौथो सन्तान (छोरा) जन्माएकी थिइन् । तर, उनले छोरालाई समाउन नपाउँदै मृत्युवरण गरिन् ।  यसअघि पनि उनका दुई छोरी र एक छोरा थिए । अत्याधिक रक्तश्राव र समयमा उपचार नपाएका कारण उनको ज्यान गएको हो । 

‘बिमार लागेपछि उनका श्रीमानाई खबर पुग्यो, श्रीमान् नपुग्दै उनको बच्चा जन्मिसकेछ,’ सिराका जेठाजु हरसिंह सार्कीले भने, ‘घरमै बच्चा जन्मियो समयमै अस्पताल पुर्‍याउन नसक्दा मृत्यु भयो ।’ सीरालाई भदाै ८ गते बेलुका ५ देखि नै सुत्केरी बेथाले च्यापेकाे थियाे । काममा गएका श्रीमानलाई ५०:३० बजेतिर खबर भयो । ६ बजेतिर श्रीमान् घर आए । श्रीमतीलाई व्यथाले च्यापेको थाहा पाएपछि छिमेकी बोलाउन गए ।


छिमेकी बाेलाउन गएका श्रीमान् फर्किनसक्दै सीराले घरमै बच्चा जन्माइन् । तर, रगत बग्‍न भने राेकिएन । धेरै रगत बगेपछि स्थानीयकाे सहयाेगमा उनका श्रीमानले स्टेचरमा बाेकेर नजिकैकाे स्वास्थ्य चाैकीमा पुर्‍याए । बल्लतल्ल स्वास्थ्य चाैकी पुर्‍याएपनि उनलाई त्यहाँ उपचार सम्भव नहुने भएपछि रिफर गरियाे । सीराका परिवार र स्थानीयले स्टेचरमै बाेकेर त्यहाँबाट एक घण्टा टाढाकाे सामुदायिक अस्पताल पुर्‍याए । त्यहाँ पनि प्राथमिक उपचार मात्र गरेर सीरालाई जिल्ला सदरमुकाम मान्ममा रहेकाे जिल्ला अस्पताल रिफर गरियाे । तर, सीराकाे उपचार जिल्ला अस्पतालमा हुनै पाएन । सदरमुकामकाे अस्पतालमा उपचारकाे लागि लैजाँदै गर्दा बाटाेमै उनकाे मृत्यु भयाे । 

 0000

दैलेखको ठाटीकाँध गाउँपालिका-१ की २२ वर्षिया पार्वती शाहीले पनि सुत्केरीपछि रगत बग्‍ने समस्याका कारण अकालमै ज्यान गुमाइन् । पार्वतीलाई गएको भदौ ११ गते सुत्केरी व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्रमा लगियो । दिउँसो बच्चा जन्मिएको केही समयमै उनलाई रक्तश्राव भयो । रक्तश्राव नरोकिएपछि स्वास्थ्यकेन्द्रमा उपचार सम्भव भएन । स्वास्थ्य संस्थाले जिल्ला अस्पताल दैलेखमा रेफर गर्‍यो । जिल्ला अस्पतालमा पनि उपचार सम्भव नहुुने देखिएपछि उनलाई सुर्खेतस्थित प्रदेश अस्पतालमा रिफर गरियो । अस्पतालसम्म ल्याउन एम्बुलेन्स पाइएन । अन्य सवारी साधनको तयारी गरेर सुुर्खेत ल्याउँदा-ल्याउँदै  बाटोमै  उनकाे ज्यान गयो । 

अत्याधिक रक्तश्रावका कारण सुत्केरी आमाको ज्यान गएका कर्णालीका यी घटना प्रतिनिधि हुन् । अत्यधिक रक्तश्राव, इम्बोलिजम्, पाठेघर फुट्ने समस्या, गर्भवती अवस्थामा हुने कम्पन (मुर्छा पर्ने समस्या) लगायतका कारण सुत्केरीहरूले ज्यान गुमाउने गरेको स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ नर्सिङ अधिकृत मानकुमारी गुरुङले बताइन् । 

पछिल्लो चारवर्षको अवधिमा कर्णालीमा ७५ जना सुत्केरी महिलाको ज्यान गएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा २२ जना, ०७४/७५ मा १९ जना ,०७५/०७६ मा प्रदेशभर १३ जना आमाले ज्यान गुमाएका छन् । त्यस्तै आर्थिक वर्ष २०७६/०७७ मा मृत्यु हुनेको संख्या बढ्यो । उक्त वर्ष प्रदेशभर २१ जना आमाले ज्यान गुमाए । निर्देशनालयका स्वास्थ्य शिक्षा प्राविधिक बसन्तमान श्रेष्ठका अनुसार साउन यता ६ महिनाको अवधिमा मात्रै १० जना सुत्केरी आमाले ज्यान गुमाएका छन् । 

दुर्गम क्षेत्रमा स्वास्थ्य उपचारकाे पहुँचबाट टाढा रहेका रहेका गर्भवती तथा सुत्केरी महिलालाई ठूला अस्पतालहरूमा पुर्‍याउन संघीय सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत ‘एअर लिफ्टिङ’ सेवा दिँदै आएको छ । तर, उपचार अभावमा मृत्यु भएकी सीरा र पार्वतीकाे गाउँमा याे कार्यक्रमकाे बारेमा कुनै जानकारी नै छैन ।जटिल समस्या भएका गर्भवती महिलाको उपचारका लागि हेलिकप्टरबाट उद्धारसमेत हुँदै आएको भए पनि सबैको सहज पहुँचमा छैन । कर्णालीका २७ प्रतिशत गर्भवती महिलाले अझै सुरक्षित सुत्केरी सेवाको पहुँचमा नरहेको सरकारी तथ्यांक छ । 


Author

थप समाचार
x