स्वास्थ्य

स्वास्थ्य टिप्स

तपाईंको यी बानी छ ? होला है स्वास्थ्यमा हानी

इकागज |
माघ २७, २०७७ मंगलबार ८:४१ बजे

हाम्रो बानीले कहिलेकाहीँ आफैँलाई हानी गरिरहेको हुन्‍छ । जसकारण हाम्रो स्वाथ्यमा विभिन्‍न असर गरिरहेको हुन्‍छ । आउनुस्, आज कस्ता बानीले हामीलाई हानी गर्छन् चर्चा गरौँ :

पिसाब रोक्नु
लामो समय पिसाब रोकेर राख्‍ने तपाईंको बानी छ भने यो बानी आजैबाट हटाउनुहोस् । किनभने, स्वास्थ्यका हिसाबले यो एकदमै खराब बानी हो । पिसाब रोक्ने बानीले मिर्गौलासम्बन्धी समस्या देखिन सक्छ । हामीले जति लामो समय पिसाब रोक्छौँ उति नै बढी पिसाब थैलीमा ब्याक्टेरियाको विकास हुन्‍छ र, स्वास्थ्यमा जोखिम बढ्न जान्‍छ । पिसाबलाई एकदेखि दुई घण्टासम्म रोक्नाले पिसाबसम्बन्धी समस्या देखिन्‍छ । लामो समय पिसाब रोक्नु पत्थरीको समेत कारण बन्‍न सक्छ । त्यसैले हामीले कहिल्यै पिसाब रोकेर बस्‍ने गल्ती गर्नुहुँदैन । पिसाब लाग्‍नेबित्तिकै शौचालय गइहाल्नुपर्छ । 


ढिला सुत्‍नु/ढिला उठ्नु
हामीमध्ये धेरैको बानी बेलुका ढिला सुत्ने र बिहान ढिला उठ्ने हुन्‍छ । यो एकदमै खराब बानी हो । स्वस्थ रहनका लागि निन्द्रा आवश्यक हुन्‍छ । राती ढिलो सुत्ने बानीले गलत खानपानको लत लाग्छ । राति जंकफुड, मदिरा, चिया कफी तथा फास्टफुड जस्ता गलत खानपानको लत बस्छ । जसले मोटोपन र मुटुसम्बन्धि रोगको निम्त्याउँन सक्छ । ढिला सुत्नाले मोबाइल र इन्टरनेटको लत पनि बढाउँछ ।  त्यस्तै, बिहान ढिलो उठ्ने बानी पनि खराब हो । यसले पनि शारीरिक कमजोरी र रोग निम्त्याउँछ । बिहान ढिलासम्म सुत्दा दिमाग तथा हर्मोनमा समेत असर पर्छ । केही अध्ययनले बिहान ढिलो उठ्ने व्यक्तिमा डिप्रेसनको समेत खतरा देखिएको छ ।

कम वा बढी पानी पिउनु
कम पानी पिउने बानी स्वास्थ्यका लागि हानिकारक हुन्‍छ । स्वस्थ रहन सकेसम्म प्रशस्त पानी खानुपर्छ । पानी पिउने बानीले छालाको सुख्खापन हट्छ । पानीले पेट सफा राख्नुको साथै शरीरलाई फुर्तिलो बनाइराख्छ । तर, पानी पिउँदा फाइदा हुन्‍छ भन्दै केहीले आवश्यकताभन्दा बढी पानी पिइरहेका हुन्‍छन् । त्यसले स्वास्थ्यलाई फाइदा पुर्‍याउनुको सट्टा हानी पुर्‍याएरहेको हुन्‍छ । धेरै पानी पिउँदा मिर्गौलामा दबाब पर्छ र मृगौलाको काम गर्ने क्षमता गुम्दै जान्‍छ ।

बढी गुलियो खानु
गुलियो कम खानेभन्दा गुलियोका सोखिनलाई स्वास्थ्यमा समस्या हुन्‍छ । गुलियो खाएको केही समय शरीरमा उर्जा भरिएको जस्तो अनुभव हुन्‍छ । तर, पछि यसले शरीरलाई सुस्त र अल्छि बनाउँछ । आवश्यकताभन्दा बढी खाँदा मोटोपन, मधुमेह आदिको जोखिम पनि बढ्छ । गुलियोले छालामा समेत समस्या निम्त्याउँछ । त्यस्तै, धेरै गुलियो खानेहरू चिन्तित र छिट्टै रिसाउने खालका हुन्‍छन् ।  

ग्याजेट चलाउँदै खाना खानु
कतिपयको बानी खाना खाने बेला मोबाइल, ट्याब, ल्यापटप चलाउने हुन्‍छ ।  यस्ता ग्याजेट चलाउँदै खाना खानु असाध्यै नराम्रो बानी हो । यसो गर्दा खाना खाने शैली र आसनमा परिवर्तन आउँछ । ग्याजेटमा रम्दा के र कति खाइयो हेक्का समेत हुँदैन । टेक्नोलोजीमा बढी ध्यान दिदा  खाना खाने क्षमतामा समेत प्रभाव पर्छ । यसले स्वास्थ्यमा समेत असर गर्छ । त्यस्तै, अहिले धेरै अभिभावकले बच्चाले खान मानेन भन्दै मोबाइल थमाइदिन्‍छन् । त्यसले बच्चालाई मोबाइलमा लत लगाइदिन्‍छ । र, उनीहरूको स्वास्थ्यमा पनि यसले असर गर्छ । 


Author

थप समाचार
x