स्वास्थ्य

अब पीसीआर शुल्क एक हजार मात्र

इकागज |
माघ २८, २०७७ बुधबार २०:२३ बजे

फाइल तस्बिर

काठमाडौँ :  सरकारले कोभिड- १९ को परीक्षणका लागि गरिने पीसीआर शुल्क समायोजन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा पीसीआर जाँचकाे शुल्क एक हजार निर्धारण गरिएकाे बताए । यसअघि पीसीआर परीक्षण गर्दा रु दुई हजार लिने गरिएको थियो । यस्तै अबदेखि कोभिड- १९ को उपचार सरकारी अस्पतालमा मात्र गर्ने भएको छ । यसअघि निजी अस्पताल र मेडिकल कलेजमा पनि कोभिड- १९ को उपचार गराइरहेको सरकारले अब सरकारी अस्पतालमा मात्र उपचार गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीसहित सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा बुधबार बसेको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’को बैठकले अब सरकारी अस्पतालमा मात्र उपचार गर्ने निर्णय गरेको हो । मन्त्रालयले यसअघि कोभिड- १९ को उपचारका लागि तोकिएका  मेडिकल कलेजमा आजसम्म भर्ना भई उपचार रहेका कोभिड- १९ का सङ्क्रमितको १० दिनको मात्र शोधभर्ना उपलब्ध गराउने भएको उनले बताए । हालसम्म नेपालमा दुई लाख ७२ हजार ३४९ सङ्क्रमित छन् । यस्तै दुई लाख ६८ हजार ५४९ निको र दुई हजार ४७ जना सङ्क्रमितबाट निधन भएको छ ।  



Author

थप समाचार
x