मानसिक स्वास्थ्यबारे चर्चा
काठमाडौँ : कोभिड-१९ को महामारी बढ्ला भनेर सरकारले गत चैतमा देशभर लकडाउन जारी गर्यो । मानिसहरु घरभित्रै थुनिन बाध्य भए । सामाजिक रुपमा हुने भेटघाट सभा सम्मेलनहरू हुन छाडे । घरभित्रै गुम्सिँदा थुप्रै मानिसहरूको मानसिक स्वास्थ्यमा असर गर्यो ।
यही समयमा मनोविद् जगन्नाथ लामिछानेकी श्रीमतीलाई पनि एन्जाइटीको समस्या देखियो । जगन्नाथ आफै मानसिक स्वास्थ्य समस्याप्रति जानकार थिए । उनले श्रीमतीको समस्या सुल्झाउने कोशिस गरे । लकडाउन झनै लम्बिन थालेपछि उनका छिमेकी, साथीहरूमा पनि एन्जाइटी, डिप्रेसनलगायत समस्या देखिन थाल्यो ।
यही समयमा मनोविद् जगन्नाथले फेसबुकमा ‘के छ हालखबर ?’ कार्यक्रम चलाए । ‘त्यसबेला मानिसहरु त्रसित भए । सामाजिक रूपमा टाढा रहन बाध्य भए । तर रुपमा समेत टाढा बस्न भए/थिए । मेरी श्रीमतीलाई पनि एन्जाइटी भयो । यो डरलाग्दो थियो,’ अमेरिकी राजदूतावासले शुक्रबार आयोजना गरेको ‘मेन्टल हेल्थ एक्टिभिजम इन नेपाल’ शीर्षकमा चलाएको भर्चुअल छलफल कार्यक्रममा बोल्दै उनले भने,‘त्यसपछि मैले नियमित रुपमा आफ्नो फेसबुक पेजमा कार्यक्रम चलाउन थालेँ । मानिसहरुलाई बोलाएर कुरा गर्न थालेँ, त्यसले मलाई, मेरो परिवार लगायत अन्यलाई पनि सघाउन थाल्यो ।’
उनका अनुसार मानसिक रोग भएका मानिसहरु १०० प्रतिशत मध्ये दुई प्रतिशत मात्रै पागल हुन्छन् । ९८ प्रतिशत मानिसहरु नर्मल देखिन्छन् । तर थुप्रै मानिस मानसिक रोग भन्ने वित्तिकै तीनै दुई प्रतिशत जस्तै हुन् भन्ने सोच्छन् । यो धारणा फेर्नु नै फेर्नु चुनौतीपूर्ण रहेको उनले सुनाए ।
त्यसमाथि कोभिडको महामारीका बेला झनै मानसिक रोगको जोखिम बढेको समेत उनले बताए । उनले भने, ‘हामीले मानसिक स्वास्थ्यको कुरा गरेनौँ भने यसले समाजमा झनै कालो चित्र बनाइदिन्छ । प्राकृतिक प्रकोप र महामारीले त झनै यसको जोखिम बढाइदिन्छ । त्यसैले हामीले यसबारे खुलेर कुरा गर्नुपर्छ ।’
मानसिक स्वास्थ्य समस्याले मानिसको जीवन र परिवारलाई नै असर गर्ने अमेरिकी राजदुत र्यान्डी बेरीले बताए । उनले भने, ‘तर विश्वका धेरै ठाउँमा मानसिक स्वास्थ्य समस्यालाई शारीरिक स्वास्थ्य समस्या जस्तै ठान्छन् । धेरै मात्रामा वेवास्ता र नजरअन्दाज गरिदिन्छन् । अहिले नेपालमा सोसल मिडिया र मानसिक स्वास्थ्य समस्या सम्बन्धि वकालत हुनु जरुरी छ ।’
मिडियाकर्मी एवं काउन्सिलर निश्मा ढुंगाना चौधरीका अनुसार लकडाउनको समयमा लकडाउन सुरु भएको केही दिनमै मानिसहरुले मानसिक स्वास्थ्य समस्या महशुस गर्न थाले । तर नेपालमा पर्याप्त पूर्वाधार नहुँदा थुप्रै मानिसले आफुलाई के भइरहेको छ भन्ने समेत जान्न पाएनन् । उनले भनिन्, ‘मेरो लागि काउन्सिलरलाई खोज्न सजिलो थियो किनकि मसँग कनेक्सनहरु थियो । तर जसलाई यसबारे आइडिया नै थिएन, उनीहरुलाई गाह्रो भयो । यो समयमा काउन्सिलरलाई रकम तिर्न पनि गाह्रो भयो ।’
कोशिसका संस्थापक एवं कार्यकारी निर्देशक मात्रिका देवकोटाका अनुसार लकडाउनको समयमा मानसिक समस्या बढ्यो भन्दै राम्रा कामको थालनी समेत भएको छ । उनले भने, ‘यही समयमा अनलाइन सर्भिसेस, टोलफ्रि सर्भिसेस, सुसाइड प्रिभेन्सन हटलाइन समेत सञ्चालनमा आयो । साइको सोसल क्ल्सचर, प्रोटेक्सन क्लसचर एक्टिभेट भयो । यसले सकारात्मक पक्षलाई उजागर गर्यो ।’
त्यस्तै यस्ता विषयमा संसदमा समेत कुरा उठ्यो र संसदले सरकारलाई निर्देशन दिने काम समेत गर्यो । कार्यक्रममा पत्रकार एवं र्याप गायक सुदीन पोखरेलले मानसिक स्वास्थ्य समस्याबारे बनाएको ‘मृत्यु’ शीर्षकको म्युजिक भिडियो पनि देखाइयो । ‘मैले राजनीतिक सटायरका गीत, मायाप्रेमका गीत, पार्टी गीतहरु बनाएको थिएँ, तर यो समाजको लागि के गरेँ त भन्ने भयो, ’ उनले भने, ‘त्यसपछि मैले मेन्टल हेल्थ सँग सम्बन्धित गीत बनाएँ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया