स्वास्थ्य

कोभिडविरुद्धको खोप लगाउनेलाई चिकित्सकको यस्तो सल्लाह

इकागज |
फागुन २, २०७७ आइतबार ६:४५ बजे

फाइल तस्बिर

काठमाडौँ : कोभिड- १९ विरुद्धको खोप नेपालमा स्वास्थ्यकर्मी र सञ्चारकर्मीलायत फ्रन्टलाइनमा खटिने धेरैले लगाइसके । खोप लगाउनेमध्ये धेरैमा विभिन्‍न किसिमका कौतुहलता देखिएको छ । के खाने ? के नखाने ? के गर्ने ? के नगर्ने ? भन्‍नेबारे भ्रमहरू फैलिरहेका छन् ।  

भ्रमः के खानुहुन्छ के हुँदैन ?


विज्ञहरूका अनुसार कोभिड- १९ विरुद्धको खोप लगाउनेले के खान हुन्छ वा हुँदैन भन्‍नेबारे वैज्ञानिक रुपमा केही पनि पुष्टि भएको छैन । किनभने, खान हुने नहुनेसँग यो भ्याक्सिनको कुनै सम्बन्ध छैन । हाम्रो समाजमा जुनसुकै रोग चाहे ग्यास्ट्रिक, सुगर, प्रेसर जेसुकै होस् के खाने के, के नखाने भन्ने बारे चर्चा भइन्छ । यस्ता कुराहरूमा आफैले अनुमान गर्नेभन्दा विज्ञको सर- सल्लाह लिनुपर्छ । कोभिड विरुद्धको खोपको हकमा पनि यसको प्रभावकारिता घट्छ भनेर विभिन्‍न अफवाहहरू फैलिरहेका छन् । खोप लगाएपछि हामीले दैनिक जीवनमा जे खाइरहेका छौँ, त्यही खाने हो ।

जहाँसम्म जाँडरक्सीको कुरा छ यो सकेसम्म कहिल्यै नखाएको बेस । झन् भ्याक्सिन लगाएको बेला त नखानु नै स्वास्थ्यका लागि बेस हुन्छ । किनभने, यो भ्याक्सिन लगाएपछि अलि बढी पानी खानुपर्ने हुन्छ ।  यस्तो बेलामा अल्कोहल खायो भने डिहाइड्रेसन हुन्छ । जीउमा पानीको मात्रा कम गर्छ । त्यसैले, पानी बढी खानेबेला शरीरमा पानी कम होला भनेर अल्कोहल नखानू भनिएको हो । 

कोभिसिल्डबारे जान्‍नै पर्ने कुरा :

यो खोप लगाएर रोग प्रतिरोधात्मक क्षमता विकास हुन कम्तिमा १ महिनाको फरकमा यसको दोस्रो मात्रा लगाउनुपर्छ । खोपले सबैलाई एउटै प्रतिक्रिया जनाउँदैन । कसैलाई धेरै गाह्रो हुन्छ, कसैलाई कम । खोप लगाएपछि विभिन्‍न लक्षणहरू देखिन्छन् । जुन केहि दिनमा आफैँ निको भएर जान्छ । खोप लगाएर केही स्वास्थ्य समस्या देखिएमा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा सम्पर्क गर्न विज्ञहरूले सल्लाह दिएका छन् । 

खोप लगाएपछि देखिने सामान्य लक्षण ?

-     ज्वरो आउने
-     टाउने दुख्ने
-     रिङ्गटा लाग्ने
-     थकाइ महसुस हुने
-     वाकवाकी लाग्ने
-     जिउ दुख्ने 

भ्याक्सिन लगाएपछि ध्यान दिनुपर्ने कुरा :

-     शंका उपशंकाको पछाडि नलाग्ने 
-     भ्याक्सिनसम्बन्धि भ्रमबाट टाढा रहने 
-     आफूलाई निकै गाह्रो महसुस भए स्वास्थ्यकर्मीको सल्लाह लिने
-     खोप लगाएको आधा घण्टासम्म खोप केन्द्रमा बस्ने
-     धेरै गाह्रो भयो भने सिटामोल खाने 
-     प्रसस्त पानी पिउने
-     आराम गर्ने 
-     खोपपछि देखिएका लक्षणहरु एक- दुई दिनमा निको नभए स्वास्थ्यकर्मीकहाँ जाने 

(सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग गरिएको कुराकानीमा आधारित ।)


Author

थप समाचार
x