स्वास्थ्य

शुक्रराज अस्पतालमा कोभिडका बिरामीले धरौटी नराखे उपचार नपाउने

इकागज |
कात्तिक १६, २०७७ आइतबार ९:४३ बजे

काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड-१९ का बिरामीले धरौटी नराखे उपचार गर्न नपाउने भएका छन् । अस्पतालले एक सूचना जारी गर्दै कात्तिक १४ गतेदेखि लागू हुने गरी विरामीको अवस्था हेरेर शुल्क निर्धारण गरेको हो ।

आईसीयूसहित भेन्टिलेटरमा राख्नुपर्ने बिरामीका लागि दैनिक १५ हजार उपचार खर्च तोकेको छ भने ५० हजार धरौटी रकम जम्मा गर्नुपर्ने अस्पतालको सूचनामा उल्लेख गरेको छ । आईसीयूबाहेक भेन्टिलेटरमा रहेका बिरामीको दैनिक खर्च सात हजार पाँच सय उपचार खर्च लाग्ने बताएको छ । त्यस्तै धरौटी रकम ३० हजार उल्लेख गरेको छ ।


क्याबिन आइसोलेसनमा बस्नेले दैनिक सात हजार पाँच सय खर्च र ३० हजार धरौटी जम्मा गर्नुपर्ने भएको छ । त्यस्तै गास्ट्रो आइसोलेसनमा बस्नेले दैनिक तीन हजार पाँच र २० हजार धरौटी जम्मा गर्नुपर्ने भएको छ । त्यसैगरी अस्पतालका प्रमुख वरिष्ठ कन्सल्टेण्ट र निर्देशकको लिखित निर्णयमा बिरामीको आर्थिक अवस्था, औचित्यता र आवश्यकताका आधारमा उपचार खर्चमा १० प्रतिशतदेखि शतप्रतिशतसम्म छुट दिन सकिने पनि अस्पतालले जनाएको छ । ७० वर्ष कटेका जेष्ठ नागरिक, अति अपाङ्गता भएका, अशक्तता र एकल महिलाको प्रमाणपत्र भएमा भने उपचार शुल्कमा  १० प्रतिशतदेखि शत प्रतिशत छुट हुने उल्लेख छ ।

केहि समयअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निश्चित वर्गबाहेक अरु कोभिड-१९ का बिरामीको निःशुल्क उपचार नगर्ने निर्णय गर्‍यो । यो निर्णयसँगै केही नीजि अस्पतालले कोभिडका बिरामीका लागि शुल्क निर्धारण गरे । त्यसलगत्तै चौतर्फी बिरोध भएको थियो ।


Author

थप समाचार
x