स्वास्थ्य

स्वास्थ्य टिप्स

यस्तो अवस्थामा नलगाउनुहोस् ‘स्यानिटाइजर’

इकागज |
फागुन ५, २०७७ बुधबार ७:५७ बजे

काठमाडौँ : कोभिड-१९ संक्रमण सुरु भएसँगै हाम्रो जन-जीवनमा जोडिन आयो, ‘ह्यान्ड स्यानिटाइजर' । संक्रमणबाट जोगिन विज्ञहरूले स्यानिटाइजर प्रयोग गर्ने सल्लाह दिए । विज्ञकै सल्लाहअनुसार हामीले पनि स्यानिटाइजर दल्ने बानी बसाल्यौँ ।

हामीमध्ये धेरैले आजभोलि स्यानिटाइजर बोकेरै हिँड्न थालेका छौँ । कोभिड संक्रमणबाट बच्नको लागि ह्यान्ड स्यानिटाइजर प्रयोग गर्नु राम्रो हो । तर, स्यानिटाइजर प्रयोग कस्तो बेला गर्ने, कस्तो बेला नगर्ने भन्‍नेबारे भने निकै ध्यान पुर्‍याउनुपर्छ । हामीमध्ये धेरैले हात धुन सम्भव भएको ठाउँमा पनि स्यानिटाइजरको प्रयोग गर्छौँ । जुन बिलकुलै राम्रो बानी होइन ।


विभिन्‍न रसायनलाई निश्चित मापदण्ड मिलाएर स्यानिटाइजर तयार गरिन्‍छ । स्यानिटाइजर बनाउन अल्कोहलको पनि प्रयोग गरिन्‍छ । स्यानिटाइजरले हाम्रो स्वास्थ्यलाई राम्रो मात्रै गर्दैन । कतिपय अवस्थामा हानी पनि गर्छ । यसलाई हामीले सकेसम्म साबुन पानीको विकल्पको रुपमा मात्रै प्रयोग गर्नुपर्छ ।

धेरैले स्यानिटाइजर भन्‍ने बित्तिकै फोहोर हातलाई सफा गर्ने भनेर बुझ्छन । तर, स्यानिटाइजरको काम फोहोर हातलाई सफा गर्नु होइन । हातमा भएको स-साना किटाणु मार्ने काम स्यानिटाइजरले गर्छ । त्यसैले हात फोहोर भएको बेला स्यानिटाइजर होइन साबुन पानीको प्रयोग गर्नुपर्छ । कतिपयले बगैँचामा काम गरेपछि, बाहिर गएर आएपछि र ट्वाइलेट गएपछि स्यानिटाइजरको प्रयोग गर्छन् । यस्तो अवस्थामा पनि स्यानिटाइजरभन्दा साबुन पानीले हात धुनु उपयुक्त हुन्‍छ । 

स्यानिटाइजरले किटाणु र ब्याक्टेरिया मार्छ । तर, त्यसलाई राम्रोसँग लगाएको खण्डमा मात्र । स्यानिटाइजर लगाएको करिब २० सेकेन्डसम्म राम्ररी दल्नुपर्छ । दुबै हात सुख्खा नभएसम्म मिच्‍नुपर्छ । स्यानिटाइजरले छालालाई सुख्खा गराउँछ । त्यसैले छालालाई सुक्खा हुनबाट बचाउनका यसमा ग्लिसिरिन मिसाउन सकिन्‍छ ।

स्यानिटाइजरले गराउँछ यस्ता समस्या ?
- स्यानिटाइजरमा अल्कोहल हुने भएकाले आगो लाग्‍न सक्ने सम्भावना हुन्‍छ त्यसमा विचार पुर्‍याउनुपर्छ
- यसको अत्याधिक प्रयोगले छालासम्बन्धी समस्या देखिन्‍छ 
- छालालाई सुख्खा र एलर्जी गराउँछ 
- यसमा अल्कोहलको मात्रा हुने भएाकले बच्चाको स्वास्थ्यमा असर गर्छ । बच्चाले स्यानिटाइजर प्रयोग गर्नुहुँदैन 
- हाम्रो शरीरमा हानी गर्ने र फाइदा गर्ने दुबै किसिमका ब्याक्टेरिया हुन्‍छ । तर, धेरै स्यानिटाइजर दल्नाले शरीरलाई फाइदा गर्ने ब्याक्टेरिया पनि मर्न सक्छ ।

कस्तो बेला प्रयोग नगर्ने स्यानिटाइजर ?
- यदि हातमा देखिने फोहोर वा चिल्लो छ भने स्यानिटाइजर प्रयोग गर्नु हुँदैन
- साबुन पानी उपलब्ध नभएको ठाउँमा सकेसम्म स्यानिटाइजर प्रयोग नगरेको बेस 
- ट्वाइलेट गएपछि स्यानिटाइजरभन्दा साबुन पानी नै प्रयोग गर्नुपर्छ

कस्तो बेलामा प्रयोग गर्ने स्यानिटाइजर ?
- अस्पताल जाँदा 
- बिरामीलाई छुदा वा भेट्दा 
- पानी नभएको ठाउँमा पुग्दा


Author

थप समाचार
x