स्वास्थ्य

ग्रामीण भेगमा इसिजी र एक्सरे सेवा

इकागज |
फागुन ६, २०७७ बिहीबार १४:२४ बजे

फाइल तस्बिर

दमौली : बन्दीपुर गाउँपालिका- ६ स्थित धरमपानी स्वास्थ्यचौकीलाई रोटरी क्लबले इसिजी र एक्सरे मेसिन सहयोग गरेको छ । ग्रामीण भेगका जनतालाई गाउँमै सेवा प्रवाह गर्ने उद्देश्यसहित रोटरी क्लब अफ पाटन, रोटरी क्लब जापान र बन्दीपुर सामाजिक विकास समितिले स्वास्थ्यचौकीलाई इसिजी र एक्सरे मेसिन सहयोग गरेको हो । 

उक्त सामग्री क्लबले गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, उपाध्यक्ष करुणा गुरुङको उपस्थितिमा हस्तान्तरण गरेको छ । सामाजिक सेवाको भावनासहित क्लबले पाँच लाख ९० हजार रुपैयाँ बराबरको सामग्री स्वास्थ्यचौकीलाई सहयोग गरेको रोटरी क्लब अफ पाटनका अध्यक्ष रत्नकाजी श्रेष्ठले जानकारी दिए । अध्यक्ष थापाले क्लबले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै उक्त सामग्रीले गाउँका जनतालाई सहज हुने बताए । गाउँपालिकाका उपाध्यक्ष गुरुङले इसिजी र एक्सरे मेसिन प्राप्त भएपछि गाउँका मानिसलाई उक्त कार्यका लागि बजारसम्म आउनुपर्ने बाध्यताको अन्त्य भएको बताइन् ।  


धरमानी स्वास्थ्यचौकीमा गाउँपालिकाले गत वर्ष ल्याब सञ्‍चालन गरेको थियो । ल्याबका लागि गाउँपालिकाले दुई जना दक्षप्राविधिक समेत राखेको छ । ‘इसिजी र एक्सरेका लागि यहाँका सर्वसाधारण बजारसम्म जानुपर्दा आर्थिक भारसमेत पर्ने गरेको थियो, अब गाउँमै सर्वसुलभ रुपमा सेवा पाउने भएका छन्,’ गुरुङले भनिन् ।  गाउँपालिकाले छिट्टै नै धरमपानी स्वास्थ्यचौकी र बन्दीपुर अस्पताललाई एम्बुलेन्स हस्तान्तरणको तयारी गरेको उनले जानकारी दिइन् । रासस 


Author

थप समाचार
x