स्वास्थ्य

महिनावारीको दुखाइ कम गर्ने योगासनहरू

इकागज |
फागुन ९, २०७७ आइतबार ६:३८ बजे

महिनावारीको बेला थुप्रै महिलाको पेट/कम्मर दुख्‍ने गर्छ । कतिलाई त दुखाइकै कारण ओच्छ्यानबाट उठ्नसमेत मुस्किल पर्छ । तर, केही साधारण योग आसनहरू अभ्यास गर्नाले महिनावारीमा हुने पेट दुखाई कम गराउन सकिन्छ । यहाँ आठ योग आसनहरू छन्, जसको अभ्यास गर्न जो कोहीले पनि गर्न सक्छ ।

बालासन/शिशुआसन


बालासनमा एक शिशु जस्तै आसनमा बसिन्छ । खुट्टा पछाडि तर्फ राखेर शरीर झुकाइन्छ । साथै टाउको भूइँमा अड्याएर र हातहरू पनि खुल्ला रुपमा अघिल्तिर वा पछाडितिर राखिन्छ । यो आसन गर्न एकदमै सजिलो छ, साथै कम्मर दुखाइ कम गर्न लाभदायक पनि छ । यसले कम्मरको मांसपेशीलाई आराम दिनुका साथै कब्जियतलाई निको पार्न पनि सहयोग गर्छ  ।

सुप्त मत्स्येन्द्रासन

सुप्त मत्स्येन्द्रासन एक सरल आसन हो, जसलाई जो कोहिले गर्न सक्छन् । तर यसको सरलतामा यसको उपयोगिता लुकेको छ । यो आसन गर्दा उत्तानो परेर सुतिन्छ । त्यसपछि दाहिने घुँडालाई देबे्र हातको सहायताले देब्रेपट्टी नै अगाडि बढाइन्छ । साथै दाहिने हात र अनुहार भने दाहिने पट्टी फर्काइन्छ । यो आसन मेरुदण्डको हड्डीलाई मजबुत गराउन सहयोग गर्छ ।

उष्ट्रासन

‘उष्ट्र’ एक संस्कृत भाषाको शब्द हो । र यसको अर्थ ‘ऊँट’ हो । उष्ट्रासनलाई अंग्रेजीमा ‘क्यामेल पोज’ भनिन्छ । यो आसन गर्न सुरुमा घुँडा टेकेर बस्नुपर्छ । र टाउँको मास्तिर फर्काएर दुबै हातले खुट्टा समाउनपर्छ । यसले कम्मर र काँधलाई मजबुत बनाउनुका साथै कम्मरको दुखाइ कम गर्छ ।

मार्जरासन/बीतिलासन

 

मार्जरको अर्थ बिरालो हो । यस आसन गर्नका लागि सुरुमा दुबै हातलाई भुईंमा राख्नुपर्छ । त्यसपछि हातमा शरीरको भार राखि कम्मरलाई केहि माथि उठाउनु पर्छ । यो गर्दा पिठ्यु, गर्धन र टाउकोको भाग समान राख्ने र उठाएर गोल बनाउनुपर्छ । यसबेला शरीरको पुरा भार हात र घुँडाले थाम्नु पर्छ ।  मार्जरासनले काँध, कम्मर तथा पिठ्युको दुखाइ कम गरि शरीरमा रक्तसंचार समेत राम्रो संग प्रवाह गर्छ ।

 

कपोतासन

कपोतासन गर्नको लागि प्रशिक्षित योग प्रशिक्षकको सहयोग लिनुहोस् । एक गल्तीले पनि तपाईंलाई ठूलो हानी हुन सक्छ । यो आसन गर्दा दुखाई कम हुने हुन्छ । तर यो आसन योग गर्न सुरु गरेकाहरूको लागि होइन । यो योग गर्दा हतार नगर्नुहोस् । किनकि, शरीरको मांशपेशी लचिलो हुन समय लाग्छ । गर्भवती महिला, घुँडाको समस्या भएका मानिसहरूले यो आसन प्रयास नगर्नुहोस् । यो आसन गर्दा दाहिने खुटलाई पलेटी कसेजसरी राखिन्छ । ढाड सिधा राखेर देब्रे खुट्टालाई भने पछाडितिर सिधा पारेर राखिन्छ ।

शवासन

शवासन, योग विज्ञानको महत्वपूर्ण आसन हो । आम रूपमा शवासन सरल आसन हो । किनकी कुनै पनि व्यक्ति उत्तानो परेर हातखुट्टा फैलाएर एकाग्रह हुने आसन हो । तर शवासन योग विज्ञानको सबैभन्दा कठिन आसनहरूमध्ये एक हो । यसमा एकाग्रता आवश्यक हुन्छ । यो अन्य योग गरिसकेपछि गरिने योग आसन हो । यो आसन गर्नाले शरीरको भित्री भागसम्म आराम मिल्छ ।

अपनासना

यो आसन गर्नाले कम्मरको दुखाई कम गर्छ । साथै पेटका मांशपेशीहरू मजबुत गराउन मद्दत गर्छ । यसले पेटमा रगतको सञ्चार पनि बढाउँछ । साथै यसले दुखाइबाट पनि आराम दिन्छ । यो आसन गर्दा उत्तानो परेर सुतिन्छ । त्यसपछि दुबै घुँडालाई हातले तानेर छातिमा टाँसिन्छ ।

पश्चिमोत्तानासन

योग आसनहरूले शरीरमा उर्जा थप्न सहयोग गर्छ भन्ने मानिन्छ । यी योगाशनहरूमध्ये पश्चिमोत्तानासन पनि एक हो । महिनावारी भएका बेला ओच्छ्यानबाट उठ्न मन लाग्दैन । तर यो आसन गर्न तपाईं उठ्नै पर्छ । यो आसन गर्दा खुट्टा सिधा राखेर बसिन्छ । त्यसपछि घुँडालाई टाउकोले छुने कोसिस गरिन्छ । तपाईंले यो आसन गर्नुभयो भने यसले रक्त सञ्चार गर्न सक्छ । साथै यसले पीडा कम गर्न सहयोग गर्छ ।   


Author

थप समाचार
x