स्वास्थ्य

स्वास्थ्य टिप्स

कस्तो अवस्थामा महिना नपुगी जन्मिन्‍छन् बच्चा ?

डा. प्रदिप गुप्ता |
फागुन १३, २०७७ बिहीबार ७:४३ बजे

सामान्यतया बच्चा ३७ हप्ता पुगेपछि जन्मिन्‍छन् । तर, यदि कोही बच्चा ३७ हप्ताभन्दा पहिला जन्मिएका छन् भने उनीहरूलाई हामी समय नपुगी जन्मिएको बच्चा भन्‍छौँ । २६ हप्तापछि जन्मिएका बच्चालाई हामीले सकेसम्म बचाउने कोसिस गर्छौँ । त्यस्ता बच्चालाई विशेष स्याहार चाहिन्‍छ । कतिपय अवस्थामा उनीहरूलाई आईसीयूमै राखेर उपचार गर्नुपर्ने पनि हुन सक्छ ।

गर्भवती महिलामा विभिन्‍न स्वास्थ्य समस्या भएमा बच्चा छिटो जन्मिन्‍छन् । आमामा ब्लड प्रेसर, खानपान र स्वास्थ्य उपचारको राम्रो व्यवस्था नहुँदा यो समस्या हुन्‍छ । त्यसैले, गर्भवती आमाले गर्भावस्थामा आफ्नो विशेष ख्याल राख्‍नुपर्छ । गर्भवती भएपछि स्वास्थ्य परीक्षण गरिरहनुपर्छ । फलो-अपमा गइरहनुपर्छ । शरीरलाई प्रेसर पर्ने काम गर्नुहुँदैन । आराम गर्नुपर्छ । 


उमेर नपुगी जन्मिएका बच्चामा कस्तो स्वास्थ्य समस्या देखिन्‍छ ?
- तौल कम हुन्‍छ 
- शारीरिक विकासमा समस्या हुन्‍छ 
- फोक्सोको समस्या भएर श्वास फेर्न गाह्रो हुन्‍छ 
- खानेकुरा पचाउन सक्दैनन् 
- चिसोले छिटो समात्छ 
- ब्रेनमा ब्लिडिङ हुन सक्छ  
- सुगर, क्याल्सियम कम हुन्‍छ 
- जन्डिस छिटो लाग्छ  
- रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्‍छ  
- मुटुको समस्या हुन्‍छ  
- दिसा पिसाब गर्न सक्दैनन्
- निमोनियाको समस्या देखिन्‍छ 

कसरी गर्ने उनीहरूको स्याहार  ? 
छिटो जन्मिएका बच्चाको स्याहार कसरी गर्ने भनेर उनीहरूको वजन कति छ ? र उनीहरू कति हप्तामा जन्मिएका हुन् ? त्यसको आधारमा भन्‍न सकिन्‍छ । समय पुगेर जन्मिएका बच्चाभन्दा नपुगी जन्मिएका बच्चाको स्वास्थ्य कमजोर हुन्‍छ । ३२ हप्ताभन्दा पहिला जन्मिएका बच्चालाई विशेष केयर र उपचार चाहिन्‍छ । ३२ हप्ताभन्दा माथिका बच्चा यदि उनीहरू स्वस्थ छन् भने आमासँगै राख्‍न सकिन्‍छ ।

त्यस्ता बच्चालाई छिटो चिसोले लाग्‍ने भएकाले तातो न्यानो गरेर राख्‍नुपर्छ । अस्पतालबाट डिस्चार्ज भए पनि उनीहरूको विकास राम्ररी नभएसम्म उपचारमा लगिरहनुपर्छ । बच्चाको विकास कसरी भइरहेको छ यसको बारेमा थाहा पाउन विशेषज्ञको सल्लाह लिनुपर्छ । जबसम्म अवस्था सामान्य हुँदैन तबसम्म फलो-अपमा गइरहनुपर्छ ।

राम्रोसँग स्याहार पुगेमा समय नपुगी जन्मिएका बच्चालाई पनि बचाउन सकिन्‍छ । उनीहरू पनि बिस्तारै अरु बच्चाजस्तै सामान्य हुँदै जान्‍छन् । स्याहार पुगेमा जटिलताहरू पनि कम हुँदै जान्‍छन् । तर, उनीहरूले उचित स्याहार पाएनन् भने पछि गएर शारीरिक र मानसिक विकासमा समस्या देखिन्‍छ । लामो समय आईसीयूमा बस्‍नु परेको बच्चामा यो समस्या धेरै हुन्‍छ । त्यसैले, उनीहरूलाई विशेष किसिमको स्याहार गर्नुपर्छ । (कुराकानीमा आधारित)
 


Author

डा. प्रदिप गुप्ता

डा. गुप्ता नवजात शिशु तथा बाल रोग विशेषज्ञ हुन् ।


थप समाचार
x