स्वास्थ्य

अमेरिकाले एसियामा कोभिड भ्याक्सिन वितरण गर्ने

इकागज |
फागुन १९, २०७७ बुधबार १५:५६ बजे

काठमाडौँ  : एसियाली मुलुकहरूमा कोभिड-१९ भ्याक्सिन वितरणमा अमेरिकाले जापान, भारत र अस्ट्रेलियासँग सहकार्य गर्ने भएको छ । एसियामा चीनको बढ्दो प्रभावलाई नियन्त्रणमा लिन भ्याक्सिन डिप्लोमेसीको सहारा लिने र त्यसका लागी एसियाली शक्तिहरूको सहयोग माग्‍ने योजना अमेरिकाले बनाएको हो । 

बेलाती अखबार दि फानान्सियल टाइम्सका अनुसार अमेरिकाले क्वाडको समेत सदस्य रहेका तीन मुलुकसँग भ्याक्सिन वितरणका लागि आवश्यक रोडम्याप तयार गर्न कुराकानी अघि बढाइसकेको छ । एसियामा बढ्दो चिनियाँ प्रभाव रोक्न अनेक उपाय अबलम्बन गरिरहेको अमेरिकाले त्यस क्षेत्रमा भ्याक्सिन वितरण गर्न लागेको बताइएको छ ।


केही महिनाअघि मात्रै ह्वाइट हाउस प्रवेश गरेका राष्ट्रपति जो बाइडनले चिनियाँ आक्रमकता रोक्न एसियामा रहेका ‘पार्टनर’ तथा ‘अलाइ’ को सहयोग लिने बताउँदै आएका छन् । जसमा क्वाड समूहको अधिकतम उपयोग गरिने अपेक्षा गरिएको छ । क्वाड अमेरिकाको अलावा, जापान, अस्ट्रेलिया र भारत सम्मिलत समूह हो । 
क्वाड सदस्यहरूसँग मिलेर भ्याक्सिन वितरण गर्न अमेरिकाको ‘इन्डो प्यासिफिक’ रणनीति संयोजक कर्ट क्याम्पबेलले क्वाड सदस्य मुलुकहरूका राजदुतसँग कयौँ पटक कुराकानी गरिसकेको फाइनान्सियल टाइम्सको दाबी छ । 

हाल कोभिड भ्याक्सिन वितरणमा सहकार्य गर्ने योजना बने पनि दिर्घकालिन रुपमा अन्य प्रकारको महामारी, मौसम परिवर्तन, साइबर सुरक्षा लगायतका महत्वपूर्ण विषयमा पनि सँगै अघि बढ्ने योजना बनिरहेको बताइएको छ ।  चिनियाँले एसियाली नाटो भनेर आलोचना गरिरहेको क्वाडलाई डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बनेर आएपछि सक्रिय बनाइएको हो । जसलाई अहिलेका राष्ट्रपति बाइडनले आफ्नो एसिया नीतिको मुख्य हिस्सा बनाउने बताएका छन् । 


Author

थप समाचार
x