स्वास्थ्य

भ्याक्सिन लगाए पनि देखिन सक्छ कोभिड

इकागज |
फागुन २३, २०७७ आइतबार ७:१७ बजे

काठमाडौँ : कोभिड विरुद्धको दोस्रो चरणको खोप अभियान आजबाट सुरु हुँदैछ । पहिलो चरणमा पहिलो डोज खोप लगाएकाको पनि दोस्रो डोज खोप लगाउने दिन नजिकिदै छ । तर, यही बीचमा खोप लगाएका केहीमा कोभिड-१९ सक्रमण पुष्टि भएको छ ।

यसले कोभिड विरुद्धको खोप लगाए पनि हामी पूर्णतया सुरक्षित भने छैनौँ भन्‍ने संकेत गरेको छ । यसैबीच विज्ञहरूले पनि जनस्वास्थ्य मापदण्ड अपनाउन नछाड्न आग्रह गरेका छन् । तर, हामी भने हाम्रो पुरानै दैनिकीमा फर्किन थालिसकेका छौँ ।


सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले एक डोज मात्र नभएर दुबै डोज खोप लगाउनेलाई पनि कोभिड संक्रमण पुष्टि हुनसक्ने बताए । ‘सबै खोप लगाएका मानिसहरूमा रोग प्रतिरोधात्मक क्षमता बन्छ भन्‍ने हुँदैन,’ उनले भने, ‘बनेका व्यक्तिहरूमा पनि पूर्ण रुपले नबन्‍न सक्छ । यस्तो अवस्थामा ति व्यक्ति आफू पनि संक्रमित हुन्छन् र अरुलाई पनि संक्रमण सार्न सक्छन् ।’

डा. बास्तोलाका अनुसार खोप लगाउँदैमा पूर्णतया सुरक्षित भइदैन । तर, उनीहरूमा संक्रमण भएपनि खोप नलगाउनेको तुलनामा खोप लगाउनेहरूमा स्वास्थ्यमा कम जटिलता देखिन्छ । खोपले रोगसँग लड्ने क्षमता बढाउने भनेकाले सरकारले तोकेबमोजिम सबैले कोभिड विरुद्धको खोप लगाउन उनी आग्रह गर्छन् ।

जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले खोप लगाउने बित्तिकै शरीरमा एन्टीबडी नबन्‍ने भएकाले खोप लगाउँदैमा ढुक्क नहुन सल्लाह दिए । ‘भ्याक्सिन लगाउनुभन्दा अगाडि असुरक्षित गतिविधी गरेकालाई भ्याक्सिन लगाएपछि पनि संक्रमण देखिएको हुन सक्छ,’ उनले भने, ‘एन्टीबडी बनेपनि कतिपयमा भने संक्रमणको संभावना रहन्छ । तर, कोभिडले उनीहरूलाई गम्भिर बनाउने र मृत्युको मुखसम्म पु¥याउने संभावना न्यून रहन्छ ।’ 

विभिन्‍न देशमा नयाँ प्रजातिका भाइरस निस्किरहेका हुनाले तिनलाई कोभिसिल्डले काम नगर्न सक्ने उनले बताए । ‘दिन प्रतिदिन नयाँ प्रजातिका भाइरस आइरहेका छन्,’ उनले भने, ‘अहिले लगाएको भ्यक्सिनले तिनलाई काम नगर्न सक्छ । त्यसैले हामीले भ्याक्सिन लगाएर मात्रै पुग्दैन । मापदण्ड पनि अपनायौँ भने घरिघरि भ्याक्सिन लगाइहरनु पर्दैन ।’ 

सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले भ्याक्सिन लगाउँदैमा जथाभावी नगर्ने सल्लाह दिए । ‘खोप लगाएपछि मानिसहरूले जनस्वास्थ्यका मापदण्ड अपनाएका छैनन्, खुलम्खुल्ला हिँड्न थालेका छन्,’ उनले भने, ‘भ्याक्सिन लगाएपछि पनि त्यसले काम गर्न केही समय लाग्छ । त्यस्तै, पुरै डोज लगाएकामा पनि कोभिड संक्रमण देखिन सक्छ । किनभने, हामीले लगाएको भ्याक्सिनको प्रभावकारिता शत प्रतिशत छैन ।’ 

तत्काललाई जनस्वास्थ्यको मापदण्ड बिर्सिन नहुने उनले बताए । ‘शरीरमा बनेको एन्टीबडीले कोभिडका नयाँ प्रजातिसँग सफलतापूर्वक नस्ट नगर्न सक्छ,’ उनले भने, ‘भ्याक्सिन रामवाण होइन । धेरैलाई त्यसो भए किन लगाउनुपर्‍यो भ्याक्सिन भन्‍ने हुन सक्छ ।  तर, भ्याक्सिनले हामीलाई केही हदसम्म सुरक्षित राख्छ । विगतको जस्तो भयाभह अवस्था आउन दिदैन ।’


Author

थप समाचार
x