बीपी प्रतिष्ठानको सिनेट बैठक २० गते बोलाइयो
फाइल तस्बिर
काठमाडौं- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक (सभा बैठक) बोलाइएको छ । प्रतिष्ठानमा लामो समयदेखि माग गरिएको सिनेटको बैठक आगामी २० गतेका लागि बोलाइएको हो ।
सिनेट बैठकको मुख्य एजेन्डा प्रतिष्ठानका पदाधिकारीका विषयमा छानबिन गर्न गठित समितिको प्रतिवेदनका विषयमा छलफल रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहितका पदाधिकारीले काम नगरेको भन्दै कारबाहीका लागि समितिले सिफारिस गरिसकेको छ ।
कूल सिनेट सदस्य २४ जना रहेका छन् । हाल केही सदस्यहरू निष्क्रिय पनि भइसकेका छन् । लामो समयदेखि प्रतिष्ठानमा भएको विकृतिविरुद्ध विद्यार्थी तथा चिकित्सकहरूले सिनेट बैठकको माग गरिरहेका थिए ।
स्वास्थ्यमन्त्री खतिवडाको संयोजकत्वमा गठित समितिले प्रतिवेदनमा उपकुलपति, शिक्षाध्यक्ष, अस्पताल निर्देशकले पदअनुसार दायित्व पूरा नगरेकाले कारबाही गर्न सञ्चालक परिषद्समक्ष सिफारिस गर्न सुझाव दिएको थियो ।
यस्तै, उपकुलपति, शिक्षाध्यक्ष, अस्पताल निर्देशक र राजीनामा स्वीकृत भइसकेका रजिस्ट्रारले समेत अख्तियारको दुरुपयोग गरेको, आचरणविपरीत काम गरेको, आर्थिक अनियमिता गरेको विषयमा राज्यको स्थापित निकायले छानबिन गर्ने र दोषी ठहर भएमा कानूनबमोजिम कारबाही गर्न सुझाव दिइएको छ।
समितिले राजनैतिक भागबन्डा र अपारदर्शी चलखेलबाट नभई नियुक्ति मापदण्ड २०७३ अनुसार शैक्षिक योग्यता पुगेको,उच्च व्यवस्थापकीय र समाजमा प्रतिष्ठित व्यक्तिलाई वस्तुनिष्ठ छनोट जिम्मेवारी पदमा पदाधिकारी नियुक्त गर्न सिफारिस गर्ने समेत सुझाव दिइएको छ।
केही समयअघि सरकारले उपकुलपति सहितका पदाधिकारीको अधिकार खोसेर मन्त्रालयका १२औं तहका प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादवको नेतृत्वमा कामकाज गर्न टोली पठाएको थियो। तर उक्त निर्णयको विरोध गर्दै उपकुलपति गिरीसहितका पदाधिकारी अदालत पुगेका थिए । अदालतले डा. उपकुलपतिसहितका पदाधिकारीका पक्षमा आदेश दिएपछि उनीहरू पुन:काममा फर्किसकेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया