स्वास्थ्य

भारतमा कोभिड-१९ को दोस्रो लहर, नेपालमा गल्ती दोहोरिने खतरा

सृजना खड्का |
चैत ९, २०७७ सोमबार १८:१७ बजे

काठमाडौँ :  छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा ४७ हजार ९ जना नयाँ कोभिड-१९ संक्रमित थपिएका छन् । २ सय १३ जनाको मृत्यु भएको छ । भारतको यो तथ्यांक बाहिरिदैं गर्दा नेपालमा पनि कोभिडको जोखिमसँगै त्रास पनि फैलिन थालेको छ ।
 
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक प्रेस विज्ञप्ती जारी गर्दै सतर्क रहन आग्रह गरेको छ । विज्ञप्तीमा छिमेकी देशमा कोभिड-१९ को संक्रमण बढिरहेको हुनाले सतर्कता अपनाउन भनिएको छ । 
नेपालमा संक्रमण बढ्न सक्ने भन्दै सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक, भिडभाड हुने व्यवसाय र कार्यहरू नगर्न निर्देश गरिएको छ । 

सामाजिक/भौतिक दूरी कायम गर्न, मास्क लगाउन, साबुन पानीले हात धुन वा स्यानिटाइजरको प्रयोग गर्न मन्त्रालयले सुझाएको छ ।


संक्रमण रोग विशेषज्ञ डा.अनुप सुवेदी भारतमा कोभिड संक्रमण बढेसँगै नेपाल जोखिममा रहेको बताउँछन् । ‘भारतमा फैलिरहेको कोभिड बेलायतको नयाँ प्रजाति हो,’ उनी भन्छन्, ‘नयाँ प्रजातिको भएकाले गर्दा जोखिम झनै छ । भ्याक्सिन लगाएकाहरू पनि फुरुङ्ग नपरे हुन्छ ।’  धेरैले एक डोज मात्रै भ्याक्सिज लगाएको हुनाले सबैले सतर्कता अनपाउनुपर्ने उनी बताउँछन् ।  ‘भ्याक्सिन लगाइसकेकाहरूमा पनि कोभिड देखिएको छ,’ उनी भन्छन्, ‘धेरै जनसंख्याले भ्याक्सिन लगाइनसकेको हुनाले सतर्कता अपनाउन भुल्नु हुँदैन ।’

सरकारले भाका पुर्‍याउनको लागि मात्र प्रेस विज्ञप्ती जारी गरेको उनी बताउँछन् । सिमामा क्षेत्रमा भइरहेका क्रियाकलापमा भने सरकार गम्भीर नभएको उनको गुनासो छ । ‘टेस्टबिनै नाकाहरूमा खुरुखुरु आवतजावत भइरहेको छ,’ उनी भन्छन्, ‘यस्तै हो भने भोलिको दिनमा अस्पतालमा चाप बढ्ने, बेड नपाइने स्थिति आउन धेरै दिन लाग्दैन ।’
 
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोभिडको हकमा नेपालले विगतमा धेरै कुरा अनुभव गरिसकेको बताउँछन् । ‘भारतबाट कसरी कोभिड छिर्छ, कहाँ सतर्कता अपनाउनुपर्ने हामीलाई सबै थाहा छ,’ उनी भन्छन्, ‘विगतमा भएका कमजोरीले हामीलाई धेरै सिकाइसकेको छ । अब फेरि त्यहि सिकाइलाई फलो गर्ने बेला आएको छ ।’
 
भारत कोभिडको दोस्रो लहर सुरु भएसँगै नेपालमा पनि यसको प्रभाव ढिलोचाढो देखिने उनी बताउँछन् । ‘हाम्रोमा दिनमै हजारौँ मालवहाक गाडी बोर्डरबाट यताउता गरिरहेका छन्,’ उनी भन्छन्, ‘भारतमा धेरै नेपाली कामदार छन् । त्यहाँ एकपछि अर्को गरि सहर लकडाउन हुन थालेपछि उनीहरू धमाधम फर्किन्छन् । त्यहीबाट कोभिड फैलिन थाल्छ ।’
 
कोभिड नेपालीका लागि नौलो नभएकाले यसअघि जसरी सतर्कता अपनाएको हो त्यसरी नै सतर्कता अपनाउने सल्लाह उनी दिन्छन् । ‘कोभिडलाई नियन्त्रण गर्न पहिलो भूमिका नागरिक स्वयम्को हुन्छ,’ डा. पुन भन्छन्, ‘कोभिड केही होइन भनेर बेवास्ता नगरौँ । जनस्वास्थ्यका मापदण्ड पालना गरौँ ।’

भ्याक्सिन लगाएकाहरू पनि ढुक्क नहुन उनी आग्रह गर्छन् । ‘भ्याक्सिन लगाएको भन्दै सतर्कता नपअपनाउँदा भोलि उनीहरू नै संक्रमणको माध्यम बन्न सक्छन्,’ उनी भन्छन्, ‘किनभने, भ्याक्सिन लगाएका सबैमा एन्टीबडी बन्छ भन्‍ने छैन ।’
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारी नेपालमा नफैलियोस् भन्‍नका लागि मन्त्रालय सतर्क रहेको बताउँछन् । ‘हामीले निगरानी बढाइरहेका छौँ,’ उनी भन्छन्, ‘नाकाहरूमा हेल्थ डेस्क चुस्त दुरुस्त बनाइएको छ । टेस्टिङको दायरा पनि बढाउने काम भइरहेको छ ।’
 


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x