स्वास्थ्य

२०७८ मा  स्वास्थ्य : के-के भयो ? के-के भएन ?

अतिन आचार्य |
बैशाख १, २०७९ बिहीबार १८:५५ बजे

काठमाडौँ- २०७८ को सुरुवात कोभिड-१९ को दोस्रो लहरसँगै सुरु भयो । यसले नववर्ष सुखदभन्दा पनि दुःखद बनी आएको जस्तो भएको थियो । यसपटकको अवस्था गत वर्षको जस्तो छैन । तेस्रो लहर अन्तिम अवस्थामा पुगेको र अस्पतालका शैय्याहरू पनि खाली भएका छन् ।

गत वैशाखको पहिलो सातादेखि अस्पतालमा भर्ना हुने संक्रमितको संख्या बढ्यो । दोस्रो हप्‍तादेखि मुलुकभरका अधिकांश जिल्ला निषेधित बने । पहिलो लहरको कोभिड देखिएपछि पनि सरकारले उपचार केन्द्रको तयारी नगर्दा आवश्यकीय पूर्वाधार निर्माण गर्दा धेरै बिरामीहरू उपचार पाउनबाट वञ्चित भएका थिए ।


अस्पतालमा भर्ना हुनेको संख्या मात्र बढेनन् । संक्रमितहरू चाँडै गम्भीर पनि हुन थाले । मृतकको संख्या पनि दिनप्रतिदिन बढ्दै गयो । दैनिक करिब दुई सय संक्रमितको मृत्यु हुने गर्थ्यो ।

पशुपति क्षेत्रको विद्युतीय शवदाह गृहमा संक्रमितको चाप बढ्यो । शव अन्त्यष्‍टिको लागि घण्टौं कुर्नुपर्ने अवस्था बन्यो । शवको अन्त्यष्‍टि गर्ने स्थान अभावमा बागमतीको किनारामा संक्रमितको शव अन्त्यष्टि गरिएको थियो ।

अस्पतालमा गम्भीर प्रकृतिका संक्रमितलाई चाहिने अक्सिजन र शैय्याको समेत अभाव भयो । अस्पताल परिसरको बाहिरी भागमा बिरामीहरू उपचार गराउन बाध्य भए ।

महामारीले मुलुककै स्वास्थ्य क्षेत्र उदांगो बनायो । अस्पतालको पूर्वाधारले पुगेन । भौतिक पूर्वधार पर्याप्‍त थिएनन् । भएका शैय्याले नपुग्दा अस्पतालको पेटीमा उपचार गराउन बाध्य भए । ननकोभिडका बिरामीले उपचार पाउने ठाउँमा शैय्यासमेत प्रयोग गर्नु परेको थियो ।

बिरामीका लागि आइसीयू र भेन्टिलेटर अभाव भयो । सबै निजी तथा सरकारी अस्पतालका आइसीयू र भेन्टिलेटर प्याक भए । कतिपय संक्रमितले आइसीयू र भेन्टिलेटर देख्‍न नपाइ पनि ज्यान गुमाए । 

अक्सिजन प्लान्टले अक्सिजन उत्पादन गर्न सकेका थिएनन् । आवश्यकताभन्दा कमै मात्रा उत्पादन भए । अक्सिजनको अभाव भयो । तर, केही ठाउँमा नयाँ प्लान्टहरू निर्माण भए । बजारमासमेत अक्सिजनको हाहाकार भयो ।

उद्योगको गेटैमा संक्रमितका आफन्तहरूको भीडभाड बढ्यो । बिहानैदेखि उद्योगमा पुग्ने गर्थे । सिलिन्डर नपाएर रित्तो हात फर्कने र सिलिन्डरको हारगुहार गरिरहेका भेटिन्थे ।  बिस्तारै देशभर अक्सिजन र उपचारको अभावमा संक्रमितको मृत्युदर बढ्न थाल्यो ।

विदेशमा श्रम गर्ने नेपालीहरूले आफ्नो गाँस कटाएर पनि अक्सिजन सिलिन्डर पठाए । विदेशिएका नेपालीले रेमिट्यान्स मात्र पठाएनन् । मुलुकलाई आपत पर्दा कृत्रिम श्वास दिन पनि पछि परेनन् ।

विभिन्न दातृ निकाय राष्‍ट्रहरूले समेत सिलिण्डर र अक्सिजन तथा अन्य स्वास्थ्य सामग्री पठाए । एसिया, युरोप र अमेरिकाले समेत स्वास्थ्य सामग्री पठाएको थियो । मास्क, बुटदेखि अतिआवश्यकीय स्वास्थ्य सामग्रीमसेत पठाए । बिस्तारै स्वास्थ्य सामग्रीहरूको सहजता बन्दै गयो ।

सुरुवातीमा बजारमा १० रुपैयाँ बराबरको मास्कको कालोबजारी भयो । सहजै बजारबाट मास्क उपलब्ध हुन छोडेको थियो । सरकारले बजार अनुगमन बढाएपछि र उद्योगले उत्पानको मात्रा बढाए पछि सबैमा मास्कको पहुँच पुग्यो।

संक्रमणको दोस्रो लहर उत्कर्षमा पुग्दै गर्दा सरकार प्रतिरक्षाको लागि कोभिड खोप खरिद गर्ने तयारीमा लाग्दै थियो । भारतसँग पहिलो चरणमा खरिद गरेको खोप नेपालले पाएको थिएन् । भारतमा संक्रमण तीव्र रुपमा फैलिएकाले खोप बाहिरी मुलुकमा निर्यात नगर्ने निर्णय गरेको थियो । नेपालमा केही कम्पनीहरू कमिसनको चंगुलमा फस्दा समयमा खोप आयात गर्न सकेनन् ।

चीनले गत वर्ष चैतको दोस्रो साता आठ लाख भेरोसेल खोप पठायो । त्यसपश्‍चात् उच्चस्तरीय रुपमा नेपाल र चीनको वार्ता भएको थियो । चीनसँग खोप खरिद तथा अनुदानका लागि राष्‍ट्रपतिस्तरीय वार्तासमेत भयो । वार्ताको केही समयपश्‍चात् चीनबाट नेपालले धमाधम खोप ल्याएको थियो । नेपालमा सबैभन्दा बढी खोप दिने मुलुकमा चीन रहेको छ ।

नागरिकले बिस्तारै सहजै कोभिडविरुद्धको खोप पाउन थाले । खोपका लागि लाइन लाग्नेदेखि सोर्ससमेत लगाउन पछि परेनन् । पूर्ण मात्रा खोप लगाएर बुस्टर खोपसमेत पाए । खोपको कारणले तेस्रो लहरमा खासै त्यसको असर देखिएन । अस्पतालमा भर्ना हुनेभन्दा पनि होम आइसोलेसनमा बस्ने धेरै भए ।

वर्षको अन्त्यसँगै कोभिड तेस्रो लहर समाप्‍ति उन्मुख भएको छ । पुसको दोस्रो सातादेखि तेस्रो लहर पनि सामना गरेको वर्ष । पहिलो र दोस्रो लहरले जस्तो तेस्रो लहरमा मानवीय क्षति भएन र अस्पतालमा जाने संक्रमितले सहजै बेड पाउने अवस्था बनेको थियो ।

तेस्रो लहरको कोभिड देखा पर्दा मुलुकभरका अस्पतालले स्वास्थ्य सामग्रीको व्यवस्थापन गरेको थियो । अस्पतालले अक्सिजन प्लान्ट बनाए । आइसीयू र भेन्टिलेटर पनि थपेका थिए । अक्सिजनको सिलिण्डर व्यवस्थापन गरिसकेको थियो ।

दोस्रो लहरको अन्त्य तिर वैदेशिक रोजगारीमा जानेहरूले खोप कार्डका लागि हप्‍तौ कुरे । खोप कार्ड लिन अस्पतालमा रातभर लाइनमा समेत बसे । विमान छुट्ने त्रासले नागरिकहरू स्वास्थ्य मन्त्रालयको गेटसम्म धाए ।

सरकारले खोप कार्ड प्राप्‍त गर्न अनलाइनमा दर्ता गर्नुपर्ने व्यवस्था ल्यायो ।  अनलाइन प्रमाणीकरणको व्यवस्था ल्याए पनि उनीहरूले समयमा खोप प्रमाणीकरणको कार्ड पाएनन् । स्वास्थ्य सेवा विभागअन्तर्गत खोप महाशाखाले प्रमाणीकरण गर्न केही समय लगाउने गरे पनि बिस्तारै सहजै बन्दै गयो ।

बजारम सहजै उपलब्ध हुने पारासिटामोलको अभाव भयो । पाँच सय एमजीको सिटामोल बजारमा अभाव भयो । औषधि व्यवसायीहरूले वर्षौदेखि एकै मूल्यमा सिटामोलको विक्री वितरण गरेकाले मूल्य वृद्धि गर्न माग गरे । औषधि व्यवस्था विभागले निर्णय गरेर ६ सय ५० एमजीको सिटामोल उत्पादन गर्न अनुमतिसमेत दियो ।

औषधि व्यवासायीले अति आवश्यकीय औषधि मानिने जीवन जलमा समेत लागत नउठने देखेपछि बन्द गर्ने तयारीमा छन् । सरकारले तोकेको मूल्यमा उत्पादन गरेर विक्री वितरण गर्नै नसकिने भन्दै उद्योगीले उत्पादन गर्न छोडेका छन् भने केही उद्योगीले उत्पादन बन्द गर्ने तयारी थालेका छन् ।

महामारीमा विभिन्न मुलुकले अनुदान स्वरुप दिएका खोपहरू पनि उचित ढंगले सबैको पहुँचमा पनि पुगेन । यसै वर्ष विभिन्न जिल्लामा गरेर ३० हजार ९४७ खोप खेर गयो । त्यसैगरी स्थानीय तहले मात्रा २५ हजार ९६१ मात्रा नस्ट गरेको थियो ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोख्रेलले संसदीय समितिमा खोप हराएको जानकारी गराएका थिए । मन्त्रालयले खोप खोजी गर्न बनेको छानबिन समितिले ५६ हजार ९०८ डोज मात्रा खेर गएको निष्कर्ष निकालेको थियो । सबैभन्दा बढी १९ हजार ४९ डोज कोभिशिल्ड र अस्ट्राजेनिका, भेरोसल ७ हजार २३, जोनसन ५ हजार १९५, मोर्डना २५ हजार ५६२ र फाइजर ७९ डोज खेर गएको हो ।

खोप भण्डारण गर्ने स्थान नहुँदा खोप खेर गएको थियो । खोप कार्यक्रममा तीन तहको सरकार बीचको समन्वय अभाव हुँदा संघीय प्रणालीमा स्वास्थ्य क्षेत्रको संरचनालाई पुनरावलोकन गर्नुनपर्ने देखायो । मुलुक संघीय व्यवस्थामा गइसक्दा पनि स्वास्थ्य संरचना व्यवस्थित हुन नसकेको छानबिन समितिले उल्लेख गरेको थियो ।  

किशोरकिशोरीले पनि कोभिडविरुद्धको खोप पाए । बालबालिकाले पनि यसैवर्ष कोभिडविरुद्धको खोप पाउने सरकारले घोषणा गरे पनि अहिलेसम्म पाउन सकेका छैनन् ।

त्यसैगरी, केही दिनअघि मात्र देशभरका बालबालिकाका लागि टाइफाइटविरुद्धको खोप लगाउन सुरु गरिसकेको छ ।

यस वर्षमा मात्र कोभिड संक्रमण कारण ८ हजार ८९३ संक्रमितको मृत्यु भएको छ । विभिन्न मुलुकबाट गरेर मात्र यस वर्ष सबैभन्दा धेरै कोभिडविरुद्धको खोप ल्याएको छ । यो वर्ष मात्र ४ साढे करोड बढी खोप भित्रिएको छ ।

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x